close

स्थानीय सरकारको कृषि अनुदानले रोकिँदै मुग्लान पस्नेहरू

पालिकाले कृषि तथा पशुपालनमा अनुदान दिएपछि कोतरिँदै बाँझा जमिन

स्थानीय सरकारको कृषि अनुदानले रोकिँदै मुग्लान पस्नेहरू

पालिकाले कृषि तथा पशुपालनमा अनुदान दिएपछि कोतरिँदै बाँझा जमिन

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ३ का अनिल पौडेलले अहिले आफ्नै गाउँघरमा कृषि तथा पशु फार्म सञ्चालन गरेर मनग्य आम्दानी लिइरहेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्ष कतार बिताएका २७ वर्षीय पौडेल स्वदेश फर्किएर दुई वर्षदेखि गाउँमै कृषिमा रमाइरहेका छन् । 
५ वटा भैंसीबाट व्यवसाय सुरु गरेका पौडेलले यसबाहेक २५ रोपनी जमिनमा टनेल निर्माण गरेर तरकारी खेती गरिरहेका छन् । अहिले पौडेलका महालक्ष्मी कृषि तथा पशु फार्ममा सानाठूला गरेर १३ भैंसी छन् । उनले दैनिक ४० लिटर दूध पोखरा लगेर १ सयदेखि १२० लिटरमा बिक्री गर्दै आएका छन् ।

 

टनेलमा गोलभेंडा, काउली, बन्दागोभी, भिन्डी, सागलगायत तरकारी लगाउँदै आएका पौडेलले भने, ‘गाउँघरको आफ्नै जमिन सदुपयोग गरेर वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्न पाएकामा खुसी लागेको छ ।’ 


देशमा रोजगारका अवसर नभएको भनेर दिनहुँ हजार बढी युवा विदेश गइरहेका बेला यहाँका केही युवा भने यसरी आफ्नै गाउँ–ठाउँमा स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् । आफ्नै लगानीमा केही गर्नेभन्दा पनि अर्कैको काम गरेर आयआर्जन गर्ने भावना विपरीत यहाँका तन्नेरी आफ्नै पसिनामा आफ्नो भविष्य खोज्दै स्वरोजगार बन्ने अभियानमा छन् ।  स्थानीय तहले किसानलाई लक्षित गरेर नीति तथा कार्यक्रम ल्याएपछि त्यस्ता युवाको आकर्षण कृषि पेसामा बढेको छ ।


गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किएर आएका युवालाई स्वरोजगार बनाउने योजनानुसार कृषि तथा पशुपालनका लागि अनुदान दिने नीति बनाएको छ ।गाउँपालिकाले उत्पादनमा आधारित १५ प्रतिशत अनुदान दिने र २६ तरकारीमा न्यूनतम समर्थन मूल्य निधारण गरेर किसानलाई अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । उनले भने, ‘पालिकाले अधिकतम युवा तथा किसानलाई कृषिमा व्यावसायिक रूपमा लाग्न हौसला प्रदान गर्ने योजनाअनुसार उत्पादनका आधारमा अनुदान दिने नीति लिएको छ ।’


पालिकाले गाउँठाउँमा रहेको बाँझो जमिनमा खेती गर्ने किसानलाई पनि अनुदान दिँदै आएको छ । सुवेदीका अनुसार बाँझो भएको आफ्नै जमिनमा खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार र जमिन भाडामा लिएर खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार ५ सय रुपैयाँका दरले अनुदान दिँदै आएको छ ।

 

गाउँपालिकाले अनुदान दिन थालेसँगै २ हजार सय रोपनी बाँझो जमिनमा खेती हुन थालेको र १० करोड रुपैयाँ बराबरको थप खाद्यान्न उत्पादन भएको सुवेदीले बताए । उनले भने, ‘बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिन सुरु गरिएसँंगै खाद्यान्न उत्पादनमा वृद्धि भएको छ । रोजगारी सिर्जनाका साथै खाद्यान्न उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ ।’

 

गाउँपालिका कृषि शाखा प्रमुख शिशिर पण्डितले ५२६ किसानले बाँझो जमिनमा खेती गर्न सुरु गरेको र ४० देखि ५० हजार रुपैयाँसम्म अनुदान पाएको जानकारी दिए । उनले भने, ‘एक मुरी धानसमेत उत्पादन नगर्ने किसानले अहिले बाँझो जमिनमा खेती गरेर २५/३० मुरीसम्म धान फलाएका छन् । यस अभियानले पालिकाभित्र जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहन गर्दै खेतीपातीमा लाग्न किसानलाई उत्साहित बनाएको छ ।’


संयुक्त अरब इमिरेट्समा ८ वर्ष बिताएर नेपाल फर्किएका फेदीखोला वडा नम्बर २ का ४६ वर्षीय गंगाधर पौडेल फेरि विदेश जाने योजना भएकामा गाउँपालिकाको अनुदान नीति थाहा पाएपछि योजना बदल्दै आफ्नै ५ रोपनी जमिनमा तरकारी खेती गरेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

 

उनले आफ्नो खेतबारीमा हरियो तरकारी साग, काउली, बन्दाका साथै गोलभेंडा र आलु खेती गर्दै आएका छन् । गाउँपालिकाको सहयोग पाएपछि आफू वैदेशिक रोजगारीलाई छाडेर गाउँघरमै तरकारी खेतीमा लागेको पौडेलले बताए । उनले भने, ‘अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा परिवारसँगै बसेर वार्षिक ३÷४ लाख रुपैयाँ कमाउन सकिने भएपछि किन जाने विदेश ? मलाई यहीँ खेतीपाती गर्नुमा खुसी लागेको छ ।’ खेती गर्न चाहनेलाई गाउँपालिकाले अनुदान दिने अनि उत्पादन गरेको वस्तुसमेत घरघरमै पुगेर खरिद गर्ने गरेपछि किसानलाई काम गर्न उत्साहित बनाएको पौडेलको भनाइ छ ।

 

गाउँपालिकाले प्लास्टिक टनेल, हाते ट्रयाक्टर र थोपा सिँचाइ परियोजनाका लागि पनि सहयोग गरेको छ । गाउँपालिकाले वैदेशिक रोजगारीमा गएर कोभिड–१९ का कारण रोजगारी गुमाएका युवालाई प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँका दरले सहयोग गरेको छ । यसरी सहयोग पाउने ११ युवा छन् । 

 

गाउँपालिकाले पालिकाभित्रका किसानले उत्पादन गरेका वस्तु ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका तरकारीलगायत वस्तु पालिकाले तिनको घरमै पुगेर हातहातमै पैसा बुझाएर बजार मूल्यअनुसार खरिद गरेर सहकारीमार्फत बिक्री गर्ने गरेको छ । 

 

पालिकाका ५ वटै वडामा संकलन केन्द्रको व्यवस्था छ । किसानले उत्पादन गरेको तरकारी न्यून मूल्यमा बेच्नुपर्ने अवस्था आए न्यूनतम मूल्यमा अपुग रकम गाउँपालिकाले नै थपेर किसानलाई उपलब्ध गराउँछ ।

 

सेतो सहर गल्याङ


गल्याङ नगरपालिका वडा नम्बर २ इलुंगाकी टीकाकुमारी राना दूध बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । हर्सिका गाई फार्म सञ्चालन गर्दै आएकी ३० वर्षीया राना दैनिक ८० देखि १२९ लिटरसम्म दूध बिक्री गरेर महिनामा १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । आफ्नै घरमा गाई फार्म सञ्चालन गर्दै आएकी रानाको गाई फार्ममा अहिले ५ जर्सी गाई छन् । उनले नगरपालिकाले दिने प्रतिलिटर १५ का दरले वार्षिक ३ लाख रुपैयाँ बढी थप अनुदान पाएकी छन् ।

 

यसबाहेक रानाले गाई खरिदका लागि नगरपालिकाबाट ४० हजार रुपैयाँ अनुदान पाइन् । श्रीमान् नारायण रोजगारीका लागि साउदी गएपछि घरमा यत्तिकै बस्नुभन्दा केही गराैँ भनेर गाई फार्म सञ्चालन गरेकी राना बिहान उठेदेखि साँझसम्म गोठमा रहेका गाईको स्याहारमा व्यस्त हुन्छिन् । दुई छोराछोरी र आमाका साथमा बस्दै आएकी टीकाले आफ्नै फार्ममा एक महिलालाई रोजगारीसमेत दिएकी छन् । 

 

नगरपालिकालाई सेतो सहरका रूपमा विकास गर्ने योजनानुसार प्रतिलिटर दूधमा १५ रुपैयाँका दरले अनुदान दिँदै आएको गल्याङ नगरपालिकाले जनाएको छ । पहाडी जिल्लाको नगरपालिकाका बासिन्दाको कृषि र पशुपालनका माध्यमबाट आयआर्जनको स्रोत बढाउने उद्देश्यले दूधमा अनुदान दिने नीति लिइएको नगर प्रमुख भूपराज अधिकारी बताउँछन् ।


अधिकारीले भने, ‘यहाँका किसानलाई कृषि तथा पशुपालनका क्षेत्रमा प्रोत्साहन गर्ने योजनाअनुसार नगपालिकाले निर्णय गरेर प्रतिलिटर दूधमा १५ रुपैयाँ अनुदान दिँदै आएको छ । यसले किसानलाई दूध उत्पादनमा लाग्न प्रोत्साहन मिलेको छ ।’ 

 

नगरपालिकाले गाईभैंसी खरिदमा समेत अनुदान दिने गरेको छ । यहाँको पशु सेवा शाखाबाट कृषकले भनेको समय प्राविधिक सहयोगसमेत पाउने भएकाले नगरपालिकामा पशुपालन गर्ने कृषक बढ्दै गएका छन् । 


पहिला–पहिला घरमा भएको दूधसमेत बेच्न आनाकानी गर्ने किसान अहिले उत्साहित भएर बिक्री गर्ने गरेको पशुसेवा शाखा प्रमुख सुशील अर्याल बताउँछन् । जति धेरै बिक्री गर्न सक्यो, उति धेरै अनुदान पाउने भएपछि किसानले उत्साहित भएर व्यावसायिक रूपमा गाईभैंसी पालेर दूध बिक्री गर्न थालेको अर्यालको भनाइ छ ।
यसरी अनुदान मात्र आर्थिक वर्ष ०७७/७८ मा ७८ लाख ९९ हजार ९२० रुपैयाँ वितरण गरिएको अर्यालले जानकारी दिए । चालू आवमा किसानले ५ लाख २६ हजार ६६१ लिटर दूध बिक्री गरेका छन् ।

 

दूध बिक्री गर्ने किसान बढ्दै जान थालेपछि नगरपालिकाले सञ्चालन गरेको दूधमा अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएकोे छ । दूध बेचेर मात्रै महिनामा ९० हजार रुपैयाँसम्म अनुदान प्राप्त गर्ने किसानसमेत छन् ।


गल्याङ वडा नम्बर ११ का अगुवा किसान रुमलाल कँडेलले लामो समयदेखि कृषिलाई नै आफ्नो मुख्य पेसा बनाउँदै आएका छन् । ०६६ देखि कृषि पेसामा लागेका उनले यही पेसाबाट वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।


उनले आफ्नै घर जिम्मुवामा ६५ रोपनी जग्गामा व्यवसाय सञ्चालन गरिरहेका छन् । भगवती भैंसीपालन तथा कृषि बिउ उत्पादन फार्ममार्फत दैनिक ६० लिटर दूध बिक्री गर्दै कँडेलले राम्रो आम्दानी गरेका हुन् । उनको फार्ममा अहिले १४ गाईभैंसी छन् । आफ्नै फार्मबाट नश्ल सुधार गरेर गाईका बाच्छाबाच्छीसमेत उत्पादन गर्दै आएका छन् ।  उनले भने, ‘काम गर्न चाहने किसानलाई नगरपालिकाले सहयोग गरेको छ । सहयोगले हामीलाई काम गर्न थप हौसला मिलेको छ ।’ नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटरमा दिने अनुदानले गाईभैंसी पालेर दूध बिक्री गर्नेलाई प्रोत्साहन मिलेको देखिन्छ । यसले कृषि पेसामा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको कँडेल बताउँछन् ।

 

उनले करिब ४५ रोपनी जमिनमा आलु, धान र मकैको बिउ उत्पादन गर्दै आएका छन् । यसबाहेक उनले १५ रोपनी जमिनमा गाईवस्तुका लागि आवश्यक घाँस खेतीसमेत गरेका छन् ।  कँडेलले जनक देव, एमएस ४२ जातको आलुको बिउ अनि अरुण–२ मकै तथा राम धान र सावित्री धानको बिउसमेत उत्पादन गरिरहेका छन् । 

 

आफ्नै उत्पादन गण्डकीका स्याङ्जा, कास्की, तनहुँु, लमजुङ र गोरखाका साथै लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत जिल्लामा बिक्री गर्दै आएका उनले यो वर्ष २५ टन आलु बिक्री गरे । अब एक टन मकै र सात टन धानको बिउ बिक्री गर्ने तयारीमा रहेको उनले बताए ।

 

नगरपालिकाले ऋण लिएर कृषि पेसा गर्नेहरूका लागि कृषि ऋणमा ४ प्रतिशत अनुदान दिँदै आएको छ । आव ०७७/७८ मा नगरपालिकाले कृषि ऋणमा ब्याज अनुदानअन्तर्गत १५ लाख रुपैयाँ वितरण गरेको छ ।  यसबाट २८१ कृषक लाभान्वित भएको नगरपालिकाले जनाएको छ ।