close

गल्याङमा गरिबी निवारण गर्दै ‘भूपराज सर’

गल्याङमा गरिबी निवारण गर्दै ‘भूपराज सर’

Trulli
ADVERTISEMENT

स्याङ्जा-  २७ वर्षसम्म स्याङ्जाको गल्याङका भूपराज अधिकारीले शिक्षण पेसा अँगाले । तर, उनले जीवनका ऊर्जाशील समय बिताएको शिक्षण पेसाबाट पेन्सन भने लिएनन् । किनकि, उनी पेन्सनअगावै स्थायी शिक्षकबाट राजीनामा दिएर राजनीतितिर होमिए । 


०७४ मा स्थानीय तहको निर्वाचन हुने निश्चित भएपछि अधिकारीले आफू विद्याथी हुँदा २०३८ देखि नै सुरु गरेको राजनीतिलाई मुख्य पेसा बनाउने निधो गरे । नगरपालिका बनेपछि पहिलो पटक निर्वाचन हुन लागेको गल्याङ नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने निर्णय लिँदै त्यसको १५ दिनअघि स्थायी शिक्षकबाट राजीनामा दिए । 


भइरहेको स्थायी पेसालाई लत्याएर हार्ने जित्ने निश्चित नभएको नगर प्रमुखको उम्मेदवार बनेका अधिकारीले निर्णय लिने बेलाको अवस्था सम्झँदै भन्छन्, ‘हारजित त जे पनि हुन सक्थ्यो तर मलाई जितिन्छ भन्ने पूर्ण विश्वास थियो ।’ त्यो आत्मविश्वास कसरी आयो त ? अधिकारी भन्छन्, ‘म शिक्षकसँगै समाज सेवामा क्रियाशील थिएँ । समाजमा घुलमिल भएको एवं स्पष्ट योजना र लक्ष्य भएकाले चुनाव जित्छु नै भन्ने आत्मविश्वास थियो ।’ 


गल्याङ नगरपालिको प्रमुखका लागि भएको निर्वाचनको अधिकारीको सोचअनुरूपमै नतिजा आयो । उनले विपक्षीलाई २ हजार ३ सय ६ मतले पछि पार्दै निर्वाचन जिते ।  २७ फागुन ०७३ मा मालुंगा, जगत्रदेवी, तुल्सीभन्ज्याङ, निबुवाखर्क, पिंडीखोला पकवादीको (वडा नम्बर १–७, ९), तीनदोबाटेको (वडा नम्बर १,६–९), पेलाकोटको (वडा नम्बर १–४,७–९) गाउँ विकास समितिलाई मिलाएर बनाइएको गल्याङ नगरपालिकामा भौतिक पूर्वाधारलगायत सबै क्षेत्रमा बनाउनुपर्ने मात्रै थियो । बनिसकेको केही थिएन । 


नयाँ भएकाले नगरपालिकामा हुनुपर्ने कुनै संरचना थिएन । अधिकारीमाथि नगरपालिकाको सबै संरचना निर्माण गर्ने र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने जिम्मेवारी थियो । उनले पहिलो निर्णय गरे, भाडाको महँगो भवनबाट नगरपालिका कार्यालय विद्यालयको साँघुरो भवनमा सार्ने । अहिले पनि भानुभक्त आचार्य माध्यमिक विद्यालय भवनका कोठामा नगरपालिकाको कार्यालय छ । नयाँ प्रशासनिक भवन बनिसक्यो । 


त्यसपछि उनले सुरु गरे नगरपालिकामा काम गर्न । करिब साढे ४ वर्षको समयसम्म केही सुधारेको र सुधार्न धेरै नै बाँकी रहेको अधिकारी बताउँछन् । ग्रामीण क्षेत्रमा भौगोलिक जटिलताबीच जनआकांक्षा पूरा गर्न सडकसहितको पूर्वाधार निर्माण गर्न अधिकारीले डोजर खरिद गर्ने निर्णय गरे । निर्णयबारे अधिकारी भन्छन्, ‘डोजर भाडामा लिएर ग्रामीण सडक निर्माण गर्न धेरै पैसा डोजर भाडामा खर्च हुने देखियो । अर्कोतर्फ बिचौलियाले रकम हिनामिना गर्न सक्ने खतरा पनि थियो । त्यसैले नगरपालिकाबाटै डोजर खरिद गर्ने निर्णय गरेँ ।’

 

अहिले नगरभित्र बनेका सडकका संरचनाले आफ्नो सपना र योजना सफल भएको अधिकारी बताउँछन् । अधिकारीले किसानलाई राहत दिन पहिलो पटक किसानले ७ सय लिटर दूध पु¥याए अनुदानस्वरूप नगरपालिकाबाट २० हजार रुपैयाँ दिने निर्णय गरे । लिटरमा १५ रुपैयाँ अनुदानको नयाँ व्यवस्था गरे । अनुदानको व्यवस्था फेरिएको बारे अधिकारी भन्छन्, ‘७ सय लिटर पुर्‍याएपछि मात्रै अनुदान पाउने व्यवस्थाले व्यावसायिक केही किसानलाई फाइदा भयो तर तल्लो तहका जनतासामु अनुदान पुगेन । जसले घरमा बेचेको एक–दुई लिटर दूध भए पनि बेचेर गुजारा चलाउँछ, उसका लागि सबैभन्दा राम्रो प्रोत्साहन गर्ने अनुदान भनेकै लिटरमा १५ रुपैयाँ अनुदान हो ।’ उनको यो निर्णयबाट किसान अहिले खुसी छन् । 


किसानलाई उत्साहित बनाउँदै दैनिक १० हजार लिटर दूध उत्पादन गर्ने नगर प्रमुख अधिकारीको लक्ष्य छ । दैनिक १० हजार लिटरको अनुदान रकम दैनिक डेढ लाख, मासिक ४५ लाख र वार्षिक ५ करोड ४० लाख रुपैयाँ हुन्छ । यो रकम ठूलो नभएकाले किसानलाई सम्मुनत बनाउन अन्य बजेट कटाएर पनि किसानका लागि खर्च गर्ने अधिकारीले बताए । 


अधिकारी एक दिन वडा नम्बर १० को कार्यक्रममा जाँदा पकवादीभन्ज्याङको मगर बस्ती पुगे । त्यहाँ पुग्दा वर्षाको समय पहिरोले गारो भत्किएर त्रिपालले ढाकिएको घर देखे । त्यो घटना सम्झँदै अधिकारी भन्छन्, ‘त्यो हेरेर आएपछि रातभरि निद्रा परेन । झल्यास्स–झल्यास्स त्यही घर सम्झिरहेँ । मेरो नगरपालिकामा मैले यस्ता घर परिवारको उद्दार गर्न सकिनँ र एउटा राम्रो बास समेत दिलाउन सकिनँ भने म नगरप्रमुख भएको अर्थ छैन भनेर त्यहाँ घर बनाउने अठोट लिएँ ।’ 
उनले स्थानीय युवा क्लबहरूसँग सम्पर्क गरी विपन्न मनमाया मस्रांगीसहितका त्यही अवस्थामा रहेका घर बनाउन सहयोग गर्न अपिल गरे । उनको आग्रहलाई स्वीकार्दै सात वटा युवा क्लबले निःशुल्क घर बनाइदिने प्रतिबद्धता जनाए । नगरपालिकाले २ लाख रुपैयाँ बराबरको निर्माण सामग्री दिने र युवाले विपन्न परिवारको घर बनाउने योजना बन्यो । त्यही योजनाअनुरूप अहिले नगरपालिकामा करिब करिब घर निर्माण सम्पन्न हुँदै छन् । खरको छानो विस्थापित कार्यक्रम नगरपालिकाले सुरु गरेपछि संघीय सरकारले त्यसलाई पछि नीति नै बनाएर लागू गरिसकेको छ ।


नगरपालिकामा एउटा परिवार पनि गरिब नराख्ने योजना ल्याएर अधिकारीले अहिले रोजगारी र स्वरोजगारी सिर्जना गर्न सहकारीको नयाँ ‘मोडेल’ ल्याएका छन् । प्रत्येक नगरबासीलाई सहकारीमा आबद्व बनाई सामाजिक र आर्थिक रुपान्तरण गर्न नगरपालिकाका १८ वर्ष देखि ६० वर्ष उमेर समूहका सबै नागरिक सहकारीको सदस्य हुने, सहकारीले उद्योग सञ्चालन, बाख्रापालन, बंगुरपालन, विकासका पूर्वाधार निर्माण वा अन्य व्यवसाय सञ्चालन गर्न योजना बनाउने र त्यसलाई नगरपालिकाबाट अनुदान दिने वा साझेदारीमा कार्यक्रम गर्ने अधिकारीको योजना छ । अधिकारीले भने, ‘प्रत्येक वडामा सहकारी बनाउने र त्यस अनुसार टोल टोलमा सहकारीका समूह बनाउने काम हुन्छ ।’ 


अधिकारीले शिक्षा र स्वास्थ्य सुधार्न केही नमुना योजना ल्याए । गल्याङको वडा नम्बर एकको मालुंगास्थित सार्वजनिक माध्यमिक विद्यालय र वडा नम्बर ६ को पिडिखोलास्थित नरोदय माध्यमिक विद्यालयमा कृषि तथा बालीविज्ञान पढाइ हुने व्यवस्था गरे । कृषिमा आफ्नै नगरमा जनशक्ति उत्पादन गर्ने लक्ष अधिकारीको छ । वडा नम्बर ८ स्थित महेन्द्रदर्शन माध्यमिक विद्यालयमा तीन वर्षे सिभिल इन्जिनियरिङको पढाइ हुने व्यवस्था गरी प्राविधिक शिक्षामा पनि जोड दिए ।

 

स्वास्थ्यमा वडा नम्बर ३ स्थित गल्याङबजार बल्पुकस्थित गल्याङ नगर अस्पतालको स्वामित्व नगरपालिकाले लिएर काम सुरु गरेको छ । अस्पतालमा बिमा सेवा सुरु गरेपछि पहिलेभन्दा पाँच गुणा बढीले सेवा लिएका छन् । 


अहिलेसम्म गरेका र अब गर्ने योजनाबारे अधिकारी भन्छन्, ‘पहिलो वर्ष निर्वाचनमा नै धेरै रुमलिनुपर्‍यो  । दोस्रो वर्ष नीति, नियम सिक्ने, योजना, ऐन, कानुन निर्माण गर्दा समय खेर गयो । तेस्रो वर्ष द्रुत गतिमा काम थाल्दै गर्दा कोरोनाले हामीलाई चल्न दिएन ।’ चौथो वर्ष पनि कोरानाले सताइरहेकै छ ।


गरिबी हटाउने आफ्नो सबैभन्दा ठूलो सपना रहेको अधिकारी बताउँछन् । यो काममा नगरपालिकाको सम्पूर्ण टिम, जनप्रतिनिधि, कर्मचारीको सहयोग छ, अधिकारीलाई । भन्छन्, ‘संघीय संरचनाअनुसार संविधानले तोकेको अधिकारको विश्लेषण गर्दै हामी आफ्नो अधिकार कार्यान्वयन गर्दै गरिबी हटाउने अभियानमा छौँ । धेरैको साथ छ ।’ अबको पाँच वर्षमा गल्याङमा कोही पनि गरिब नरहने उनी बताउँछन् । गल्याङमा कार्यपालिका र वडामा अहिलेसम्म निर्णय सर्वसम्मत भएको अधिकारीले बताए ।