close

माओवादीको महाधिवेशन स्थल : बेपत्ता छोरा खोजिरहेकाहरूको चीत्कार

माओवादीको महाधिवेशन स्थल : बेपत्ता छोरा खोजिरहेकाहरूको चीत्कार

Trulli
ADVERTISEMENT

काठमाडौं–तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र द्वन्द्वमा घरपरिवारका सदस्य गुमाएकाहरूको आँखा अझै ओभाउन सकेका छैनन् । तत्कालीन माओवादी र राज्य पक्षबाट हजारौँको संख्यामा बेपत्ता पारिएकाहरू अहिलेसम्म बेखर छन् । माओवादी शान्ति प्रक्रियामा आएको पनि ठ्याक्कै १५ वर्ष पुगिसक्यो । तर, द्वन्द्वले थोपरिएको पिरलो अहिलेसम्म किनारा नलाग्दा घरपरिवारका सदस्यहरू न्यायका लागि भौतारिइरहेका छन् । 

 

झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हन्डर ठक्कर बेहोरे । जीवन व्यवहार सिके तर कहिल्यै निराश भने हुनुपरेन । पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुसी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरूपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र ! आफूलाई भन्दा बढी माया गरेका छोराहरू सामन्ती द्वन्द्वले बेपत्ता पारिदिँदा कुन बाबु चैनले निदाउन सक्ला र ? भीमबहादुरलाई पनि यस्तै भएको थियो ।

 

माइला पुष्पराज र कान्छा धीरेन्द्र बस्नेत ०६० मंसिरदेखि बेपत्ता छन् । न लाश देखियो, न त तिनको सासै भेटियो । सत्ताविरुद्ध आवाज उठाएकै कारण, राज्यविरुद्ध विद्रोहको झन्डा बोकेकै कारण बेपत्ता पारिएका छोराहरूले रोजेको बाटो अँगाल्न एउटा बाबु अभिशप्त भयो ।


तत्कालीन शाही सेनाको भैरवनाथ गणबाट बेपत्ता भएका छोराको पदचाप पछ्याउँदै जाँदा भीमबहादुरलाई दह्रो हृदय भएको बाबु बनाइदियो । छोराको खोजीमा काठमाडौंका सडक नाघ्दा आइपरेको हैरानी अझै भुलेका छैनन् उनले । तत्कालीन शाही सेनाको ब्यारेकदेखि मानव अधिकार आयोगसम्मको म्याराथन दौड धेरै पुरानो भएको छैन ।


विस्तृत शान्ति सम्झौता भएको पनि लामो समय भयो । तर, भैरवनाथ गणबाट हराएका छोरा फर्केर आएका छैनन् अझै । सम्झौतामा ६० दिनभित्र पुष्पराज र धीरेन्द्रजस्तै बेपत्ता छोराछोरीको अवस्था पत्ता लगाउने उल्लेख भए पनि त्यो दिन कहिल्यै आएन । राजनीतिक व्यवस्था बदलियो, तर अवस्था भने बदलिएन ।

 

न पुष्पराजले बा भन्दै बोलाउँदै आए, न त कान्छा धीरेन्द्र मुस्कुराउँदै आए । २७ महिना बेपत्ता भएको वीरेन्द्र फर्केर आए । यातना, पीडा र ज्यादती भोगेर नाफाको जिन्दगी लिएर वीरेन्द्र फर्केजस्तै दुई भाइ पनि आउलान् कि भन्ने झिनो आश छ अझै पनि उनलाई ।

 

एउटा बाबु अझै पनि छोरो फर्केर आउँछ कि भन्ने कल्पनामा बसिरहेको छ । छोरो त फर्केर आएन आएन तर छोराले बोकेको विचार कसरी छाड्न सक्थ्यो र एउटा बाबुले । उनी लगातार लागिपरिहेकै छन् ।  सन्तानको मायाभन्दा ठूलो संसारका अरू कुनै माया छैन । त्यस्तै माया छ, भीमबहादुरलाई माओवादीको ।

 

राजधानीमा नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा त्यही बाबु भीमबहादुर पनि सल्लाहकार समितिको सदस्यका रूपमा प्रतिनिधिका रूपमा उपस्थित छन् । महाधिवेशनमा साइँला छोरा सुरेन्द्र र काइँला वीरेन्द्र पनि सँगै प्रतिनिधि छन् ।

 

उपत्यका विशेष प्रदेशको सचिवका रूपमा सुरेन्द्र महाधिवेशनमा प्रतिनिधि हुन् । अखिल क्रान्तिकारीको पूर्वउपाध्यक्षको जिम्मेवारीमा थिए, सुरेन्द्र । यस्तै, क्रान्तिकारीको महासचिवको भूमिका निर्वाह गरेका वीरेन्द्र प्रदेश १ को प्रदेश सदस्यसँगै प्रतिनिधि हुन् ।

 

तर, भीमबहादुरलाई महाधिवेशनको हलमा पुष्पराज र धीरेन्द्र पनि भेटिन्छ कि जस्तो लाग्छ । पार्टी नेतृत्वलाई एउटा महाधिवेशन प्रतिनिधिका रूपमा यही प्रश्न सोध्न मन छ, उनलाई । जेठा छोरा तीर्थराज पनि माओवादीकै राजनीतिमा सक्रिय छन् । तीर्थराज दमक नगरसमितिको सचिवका रूपमा कार्यरत छन् ।

 

देशमा राजनीतिक परिवर्तन भयो । शाही सेना चलाउने राजतन्त्र इतिहास भयो । माओवादी शान्ति प्रक्रियामा आयो । गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व पनि लागू भयो । ०२८ को झापा विद्रोह फैलिएको जिल्लाका बासिन्दा बस्नेतका छिमेकी केपी ओली माओवादी अध्यक्ष प्रचण्डको समर्थन र सहयोगमा दुई–दुई पटक प्रधानमन्त्री पनि बने । छिमेकी नै प्रधानमन्त्री भएपछि त बेपत्ता भएका छोरा फर्केलान् कि भन्ने आस थियो, उनलाई । 

 

माओवादी झन्डामा विद्रोहको गीत गाउन लगाउने पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री बन्दा पनि त्यस्तै आशा थियो । तर, राजनीति चक्रव्युहमा फसेपछि न बेपत्ताहरू फर्किएर आए, न त शान्ति सम्झौतामा भनिएको ६० दिनै आयो । जे भए पनि पार्टीको गति र मति सुधार्ने लक्ष्यका साथ ७१ वर्षको उमेरमा पनि भीमबहादुर लागिपरेका छन् । सल्लाहकारको हैसियतमा पार्टीलाई राम्रो बनाउने सपना छ, भीमबहादुरको ।

 

जनताको सपना, जनयुद्धको आदर्श नेतृत्वलाई सम्झाउने चाहना छ । महाधिवेशन कर्मकाण्डमा परिणत नहोस् भन्ने सदीक्षा पनि छ । माओवादीको आदर्श कहाँ कसरी चुकेको हो भन्ने सवालको जवाफ खोज्ने मन छ, उनलाई ।

 

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र बेपत्ताको खोजी गर्ने विषय कहिले पूरा हुन्छ भन्ने सोध्ने चाहना छ, उनलाई । सोमबार दिनभर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सुनेपछि भने उनलाई पार्टी सप्रिन्छ कि भन्ने लागेको छ ।

 

सुरेन्द्रका अनुसार बुबाको सदीक्षा भनेको पार्टीले सहिद, बेपत्ता र घाइते योद्धाको सपना नभुलोस् र ती वर्गको पक्षमा उभियोस् भन्ने छ । ‘हामी छोराहरूमा भन्दा उनको बुझ्ने शैली अझै परिपक्व छ । वर्ग र धरातल पार्टीले नभुलोस् भन्ने बुबाको चाहना छ’, सुरेन्द्रले भने ।

 

बेपत्ता परिवार समाज सह–संयोजकको भूमिकामा समेत रहेर काम गरेका भीमबहादुर शान्ति प्रक्रियाका कामले पूर्णता पाओस्, हराएकाहरूको अवस्था पत्ता लागोस् र त्यसमा पार्टी नेतृत्वले विशेष ध्यान देओस् भन्ने चाहन्छन् । अनुहारमा बुढ्यौलीको रेखाले छोपे पनि माओवादीलाई बुढ्यौली नलागोस्, सधैँ युवा नै भइरहोस्, देश जनता र परिवर्तनको सपना पूरा गर्नेमा केन्द्रित होस् भन्ने उनको चाहना छ ।

 

सोमबार अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा मंगलबारदेखि समूहगत छलफल हुँदै छ । सो छलफलमा समेत भीमबहादुरले आफ्ना यस्तै धारणा राख्ने सोच बनाएका छन् ।

 

त्यसो त अध्यक्ष प्रचण्डको प्रतिवेदनमा सहिद, बेपत्ता योद्धालाई सम्मान गर्न सबै स्तरका पार्टी समिति, जबस मोर्चा विभागले नियमित कार्यक्रम गर्नुका साथै आ–आफ्नो ठाउँबाट राज्यको तर्फबाट समेत समुचित सम्मानको व्यवस्थाका निम्ति दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

 

प्रतिवेदनमा शान्ति प्रक्रियाका बाँकी काम मुख्यतः सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी काम टुंगो लगाउन भइरहेको ढिलाइविरुद्ध सबैतिरबाट आवाज उठाउनुका साथै यसमा सहमत हुने सबै राजनीतिक र सामाजिक संघ–संस्था एवं अन्तर्राष्ट्रिय सहयोगीसँग समेत सहकार्य गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार यसलाई टुंगोमा पुर्‍याउने विषय समेटिएको छ ।

 

प्रदेश १ कमिटी सदस्यसमेत रहेका वीरेन्द्रका अनुसार माओवादीको काँधमा अहिलेको राजनीतिक कोर्षलाई फरक ढंगबाट लैजाने गरी महाधिवेशनले कार्यदिशा तय गर्नुपर्ने जिम्मेवारी आएको छ । समाजको संकटलाई हल गर्न अब माओवादीले अहिलेसम्मको निरन्तरतामा ब्रेक गरेर नयाँ निरन्तरतामा जानुपर्ने उनको भनाइ छ ।  उनका अनुसार पार्टीले ल्याउने नीति–कार्यक्रममा समृद्धि र स्थायित्वको एजेन्डा हुनुपर्नेछ ।

 

दाइ र भाइले रोजेको मुक्तिको बाटोमै हिँडिरहेका सुरेन्द्र र वीरेन्द्रसँगै पिता भीमबहादुरको एउटै आश छ, माओवादी माओवादी नै रहिरहोस् । जनताको अग्रदस्ता बनिरहोस् । परिवर्तनको एजेन्डा बनिरहोस् । जनताको जीवनस्तरमा पनि परिवर्तन ल्याओस् । आठौँ महाधिवेशनले त्यही दिशानिर्देश गरोस् ।

 

के भीमबहादुरहरूजस्तै छोराछोरी बेपत्ता पारिएका मातापिताले कहिलेसम्म आँसु पिएर बाँच्नुपर्ने हो ! माओवादी नेतृत्वले कहिले देला चित्तबुझ्दो जवाफ ? सवाल जति महत्त्वपूर्ण छ, जवाफ पनि उत्तिकै गहन छ ।