close

थारु समुदायमा माघी पर्वको रौनक 

थारु समुदायमा माघी पर्वको रौनक 

Trulli
ADVERTISEMENT

दाङ– दाङको घोराही उपमहानगर वडा नम्बर ९ का खुुसीराम चौधरी यतिखेर निकै व्यस्त हुनुहुन्छ । नजिकिँदो माघी पर्वका लागि आवश्यक दाउरा संकलन र दुनाटपरी बनाउने पात टिप्न उनी दैनिक जंगल धाउन थालेका छन् । ‘३ दिन भयो जंगलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेको छु । दुनाटपरी लगाउनुछ’, उनले भने, ‘माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ । अब फुर्सद हुन्न ।’

 

घोराहीका भुवन चौधरी पनि माघीमा आवश्यक बंगुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्न व्यस्त छन् । ‘माघी हाम्रो प्रमुख पर्व हो । हाम्रा लागि यो नयाँ वर्षको सुरुआत हो । यो समय हामी खानपान, रमाइलो मात्र होइन, वर्षभरि गर्ने कामको योजना बनाउने गर्छौं’, उनले भने, ‘यससँगै हामी माघीमा खानपान र रमाइलो गर्छौं । यो समय थारु संस्कृति झल्कने नाचगान गर्ने गरिन्छ ।’

 

माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी सुरु गरिएको छ । माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको घोराही माघी महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका चौधरीले बताए ।दाङका थारु बस्तीमा अहिले माघी पर्वको रौनक छाएको छ । माघे संक्रान्ति नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल बढेको छ ।

 

यो पर्व अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । माघी नजिएकाले थारु बस्तीमा अहिले दाउरा संकलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानीलगायतका कार्य धमाधम भइरहेका छन् । 

 

यतिखेर गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा संकलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त छन् । माछा मार्ने, ढिकी, रोटी पकाउने, अनदीको विशेष झोल, (जाँड) अनदीको रोटी, भातलगायत विशेष परिकारको जोहो माघमा गर्ने चलन छ । 

 

‘यतिखेर थारु बस्तीका सबै व्यस्त छन् । सबैको घरमा माघीको तयारी सुरु भएको छ’, संयोजक चौधरीले भने, ‘माघी पर्वले थारु बस्तीमा रौनक ल्याउँछ । नयाँ जोश र उमंगका साथ मनाइने यो पर्वमा व्यस्तता हुनु सामान्य हो ।’ माघिको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरि मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भाले बासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । 

 

नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नून राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली) का रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए ।

 

माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बंगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबर बाँड्ने चलन छ । माछासँगै गंगटा र घोंगीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघी अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृृंगार र करुण रसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वर पनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् अशोक थारुले जानकारी दिए । 

 

थारु समुदायमा ‘माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने एवं १ माघदेखि नयाँ हिसाबकिताब सुरु गर्ने र नयाँ मतहवा चुन्ने चलन छ । दाङमा थारु कल्याणकारिणीसभाले माघी महोत्सव मनाउने भएको छ । मूल आयोजक समिति गठन गरेर महत्सव तयारी गरेको थारु कल्याणकारिणीसभा दाङले जानकारी दिएको छ । 

 

२७ र २८ पुसमा घोराहीमा माघ महोत्सव सञ्चालन गर्न लागेको मेला आयोजक समिति संयोजक भुवन चौधरीले जानकारी दिए । सांस्कृतिक, आर्थिक, अतिथि सत्कार, प्रचार–प्रसार, मञ्च व्यवस्थापन, यातायात, स्वास्थ्य, स्वंयसेवक परिचालन, ¥याली व्यवस्थापन र सम्पर्क समन्वय उपसमिति गठन गरिएको मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए ।