close

हिमपातको चपेटामा याङ्मा बस्ती

याङ्माका गाउँबस्ती सञ्चारविहीन हुँदा घरघर बोकेरै पुर्‍याइन्छ चिठ्ठीपत्र

हिमपातको चपेटामा याङ्मा बस्ती

याङ्माका गाउँबस्ती सञ्चारविहीन हुँदा घरघर बोकेरै पुर्‍याइन्छ चिठ्ठीपत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–चाँदीजस्तै टल्किने हिमाल । चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ सुरु हुन्छ । बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिएजस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङबासी आफूलाई गर्वको महसुस गर्छन् । त्यही हिमालको पीडाले यहाँ मानिसलाई त्यत्तिकै सताएको छ । 

 

१३ र १४ पुसमा हिमाली जिल्लामा बाक्लो हिमपात भयो । ताप्लेजुङका लेकदेखि बेँसीसम्म हिउँ आइपुग्यो । धेरैको जनजीवन प्रभावित हुन पुग्यो । मिक्खोला गाउँपालिका वडा नम्बर ५ पापुङका बाबुछोरा चौँरी गोठ सर्ने क्रममा हिमपहिरोमा परे ।

 

तिनको उद्धारका लागि अल्टिच्युड एयर कम्पनीको हेलिकप्टरमार्फत दुई दिन पहल गर्दा पनि बसेको ठाउँ पत्ता लाग्न सकेन । ओढारमा बसेको ६ दिनमा मात्र उनीहरू आफैं हिँडेर गाउँ आइपुगे । समुद्री सतहदेखि ४ हजार २०० मिटरको उचाइमा रहेको याङ्मा बस्ती भने हिमपातसँगै अहिले सम्पर्कविच्छेद बनेको छ । 


चीनको सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ७ याङ्मामा हिमपात भएसँगै अहिलेसम्म गाउँका समुदायसँग सम्पर्क हुन नसकेको ताम्लिङ शेर्पाले बताए । सदरमुकाम फुङ्लिङदेखि १ दिन सवारीसाधन र बाँकी २ दिन पैदल यात्रामार्फत ३ दिनमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङचुङगोलाको याङ्मा पुगिन्छ । जिल्लाकै उच्च तथा दुर्गम बस्ती याङ्मामा हिमपात भएसँगै त्यहाँका समुदायसँग सम्पर्कविच्छेद भएको हो । 

 

११ घरका करिब ४० जनाको स्थायी बसोबास रहेको यहाँको मुख्य पेसा पशुपालन हो । उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । सो बस्ती पशुपालनमा पनि याक गोठमा निर्भर छ ।

 

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का आर्थिक तथा प्राविधिक सहयोगमा याङ्मा क्षेत्रमा ४ सय, ओलाङचुङगोला क्षेत्रमा ४३५ र घुन्सा क्षेत्रमा ३६ याकको बिमासमेत गरिएको परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए ।

 

चीनका विभिन्न क्षेत्रमा नेपाली याक, तिनका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले याङ्मा समुदायले याक गोठ छाड्न सकेका छैनन् । 


चीनका बजारमा प्रतियाक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीयी बताउँछन् । छुर्पी र घिउ प्रतिकिलो १ हजार २०० सय रुपैयाँमा बिक्री हुने गरेको याङ्माका फिम्जो शेर्पाले जानकारी दिए ।

 

याङ्मा समुदायको प्रमुख आम्दानीको स्रोत याकपालन हो । करिब ३ वर्षदेखि भने चीनतर्फको नाका बन्द छ । यसबाट आर्थिक संकटसमेत खेप्दै आएको समुदायलाई अहिले हिमपातले सताएको छ । 

 

विकास पूर्वाधारबाट धेरै टाढा रहेको बस्तीमा स्वास्थ्य, शिक्षा, सञ्चार र यातायातजस्ता भौतिक पूर्वधार पुग्न सकेका छैनन् । विगतमा विद्यालय भए पनि विद्यार्थी नभएपछि बन्द भयो । यहाँ अहिलेसम्म स्वास्थ्य चौकी स्थापना भएको छैन । यहाँका मानिस बिरामी भए जंगलमा भएको जडीबुटी नै औषधोपचारको स्रोत रहिआएको छ । यहाँ अहिले बिजुली बत्तीसमेत छैन ।  परिषद्ले दिएको सौर्य ऊर्जाले हिमपात तथा घाम नलाग्दा काम गर्दैन । त्यस समय अन्धकारमै बस्नुपर्ने हुन्छ । 

 

याङ्मा गाउँमा सञ्चारको पहुँच सहज छैन । सञ्चार आदानप्रदान गर्नुपर्‍यो  भने खोला तरेर २ घन्टा हिँडेपछि बल्ल स्काईको नेटवर्क भेट्न सकिए पनि गत साता बाक्लो हिमपात भएसँगै याङ्मा समुदाय सम्पर्कमा आउन नसकेको ताम्लिङ शेर्पाले बताए । हिमपात हुनुअघि शेर्पा भने सदरमुकाम फुङ्लिङ झरेका थिए । 

 

ताम्लिङले भने, ‘मेरा छोराबुहारी याङ्मामै छन् । एउटा याक गोठ छ । ७० वटा याक छन् । अहिलेसम्म फोन सम्पर्क भएको छैन ।’ उनीहरूसँग सम्पर्क हुन सक्दा आफू चिन्ताले निदाउनै नसकेको ताम्लिङले बताए । 

 

लामो समयसम्म फोन सम्पर्कमा नआउँदा याङ्मा बस्तीबारे आफूलाई पनि चिन्ता हुने फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ घुन्साका सेराप शेर्पाले सुनाए । उनले भने, ‘मेरो पनि ससुराली याङ्मा हो तर हिमपात भएयता कोही पनि सम्पर्कमा आउनुभएको छैन ।’ याङ्मा गाउँको समुदायले हिमपात हुनु अगाडि नै आवश्यक पर्ने खाद्य पदार्थ तथा न्यानो कपडा र याकका लागि घाँसको जोहो गरेर राखेकाले हिमपातमा सुरक्षित हुन सक्ने फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष छेतेन लामाले बताए । उनले भने, ‘याङ्मा गाउँ जाउँ भने हिउँले बाटो बन्द भएको छ तर हिउँ पर्ने समय याक गोठहरू पनि हिमपहिराबाट जोगिन सक्ने ठाउँमा सारिएको छ ।’

 

वरिपरि हिमालले घेरेको र याङ्मा खोलाको किनार खोचमा रहेको याङ्मामा कहिलेदेखि बस्ती बस्न थालेको हो भन्ने थाहा नभएको स्थानीय ६५ वर्षीय ताम्लिङ शेर्पाले बताए । सञ्चार सुविधा नहुँदा सूचना आदान–प्रदानमा समस्या रहँदै आएको छ । देशमा विकास र परिवर्तनले धेरै गति लिए पनि याङ्मा बस्ती अहिलेसम्म ओझेलमै रहेको ताम्लिङको गुनासो छ । 

 

याङ्माकै छाम्जे शेर्पाले पनि सञ्चार सुविधा नहुँदा धेरै समस्या रहेको बताए । भारतको दार्जिलिङलगायत सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी र अन्य आफन्तसँग सम्पर्क नहुँदा सधैँ मनमा पीडा हुने गरेको ताम्लिङ सुनाउँछन् ।

 

छोराछोरी र आफन्तसँग एकार्काको खबर तथा सूचना आदान–प्रदान गर्न नपाउँदा मनमा चिन्ताले घर गरिरहने पीडामा रहेको उनको भनाइ छ । 

 

उनीहरूजस्तै सञ्चार सुविधा नहुँदाको पीडा याङ्माबासी सबैलाई छ । सञ्चार पहुँच नभएकै कारण मरिमराउ र कुनै संवेदनशील अवस्थाको खबर समयमा नपाउँदा समस्यामाथि समस्या हुने गरेको छ । जरुरी सञ्चार सम्पर्क गर्नुपरे १ दिनको पैदल हिँडेर ओलाङचुङगोला पुग्नुपर्छ । ओलाङचुङगोलामा भने करिब १ वर्षअघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेपछि सञ्चार सम्पर्कका लागि सहज भएको छ । 

 

मोबाइल टावर राख्नुअघि ओलाङचुङगोलामा पनि सञ्चारको समस्या उस्तै थियो । बर्खामा याङ्मा–ओलाङचुङगोला आउजाउ पनि बन्द हुन्छ । पुस, माघ, फागुन र चैतमा हिमपात हुने भएकाले याङ्मा जान सकिँदैन ।याङ्मा खोलामा हिउँदमा काठेपुल लगाएर आउजाउ गर्ने गरिन्छ भने बर्खामा पुल बगाउने हुँदा याङ्मासँग सम्पर्क टुट्ने गर्छ । 

 

याङ्मा गाउँदेखि एक÷डेढ घन्टा टाढा डाँडाडाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला स्काई मोबाइलमा सम्पर्क हुने गरेको छ । स्काईमा सम्पर्क भइहाले पनि कुराकानी भने सहज रूपले गर्न पाइँदैन । 

 

थोरै परिवार र कम जनसंख्याको बस्ती भएकाले याङ्मामा सञ्चारको पहुँच पु¥याउने तत्काल कुनै योजना नभएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । ओलाङचुङगोलाबासीसमेत रहेका फक्ताङलुङका प्रवक्ता छेतेनले याङ्मासम्म सञ्चार पहुँच विस्तार गर्ने कुनै योजना नरहेको बताए ।

 

केही वर्षअघिसम्म विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा सञ्चालित स्याटेलाइटमार्फत एसटिएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्मा सञ्चार पहुँचबाहिर छ । छेतेनका अनुसार याङ्मासम्म कुनै सूचना आदान–प्रदान गर्नुपरे मानिस नै जानुपर्ने र चिठ्ठीपत्र पठाउनुपर्ने अवस्था छ ।

 

याङ्मा गाउँसम्म केही सूचना पुर्‍याउनुपरे मान्छे नै गएर सूचना दिने वा चिठ्ठी पठाउनुपर्ने हुन्छ । कुनै पनि सञ्चार माध्यमको नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयं मानिसको उपस्थिति र चिठ्ठीपत्रबाहेक अरू विकल्प नरहेको छेतेनले बताए ।  

 

प्रायः याक गोठमा समय बिताउने याङ्माबासीले गोठमा रहँदा पनि सूचना आदान–प्रदान गर्न डाँँडामा निस्केर ठूलो आवाजमा कराउनुपर्छ वा सुसेली हाल्नुपर्छ । 

 

ठूलो आवाज र सुसेली सुनेपछि बल्ल एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदान–प्रदान हुने गरेको स्थानीय याक गोठाला कान्देग्याबु शेर्पाले बताए । 

 

स्थानीय शैलीको खबर आदान–प्रदानले हालसम्म सञ्चार चले पनि अहिलेको सूचना र प्रविधिका समय पूरै गाउँबस्ती सञ्चारविहीन हुनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एसोसिएसन महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष विष्णुकुमार लिम्बू बताउँछन् । हाल ३ वटै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पु¥याउन आवश्यक पहल गर्नुपर्ने लिम्बूको सुझाव छ । 


हाल ताप्लेजुङमा २० मोबाइल टावर सञ्चालन भइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । ९ टावरमा फोरजी सेवा सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय प्रमुख शिवकुमार सिंहले बताए ।

 

११ टावरमार्फत टुजी सेवा सञ्चालन हुँदै आएको छ । अहिले सञ्चारको पहुँच नपुगेको याङ्मा क्षेत्रमा मोबाइल सेवा पु¥याउन सरोकार पक्षसँग समन्वय गरिने प्रमुख सिंहको भनाइ छ ।

 

गत असोज दोस्रो साता जिल्लाबाट प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले जिल्लाका १० स्थानमा सञ्चार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न टेलिकमको ध्यानाकर्षण गराएका थिए ।


पूर्वमन्त्री भट्टराईले टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई भेटी सोसम्बन्धी मागपत्र बुझाउँदै टेलिफोनको गुणस्तर सुधार तत्काल गर्न आग्रह गरेका थिए । 


ताप्लेजुङ पर्यटन, कृषि, ऊर्जा, व्यापारलगायत क्षेत्रमा सम्भावनायुक्त जिल्ला भए पनि आधुनिक सूचना र सञ्चारको सहज पहुँच नहुँदा यहाँको व्यापार, व्यवसाय र पर्यटनको क्षेत्र मात्र नभएर सर्वसाधारणको दैनिक जीवनै  समस्यामा छ । अप्टिकल फाइबार तत्काल जिल्ला पुर्‍याउनका साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गरिएकोे छ । 


मैवाखोला गाउँपालिका वडा नम्बर २ ढुंगेसाँघु, मेरिङ्देन गाउँपालिका वडा नम्बर ६ नाल्बु, फक्ताङलुङ वडा नम्बर ६ लुवाडाँडा, आठराई गाउँपालिका फूलबारी, फुङलिङ नगरपालिका दोखु, देउलिंगे, मिक्खोला वडा नम्बर ५ किलिङ, सिरिजंगा गाउँपालिका वडा नम्बर ५ खेवाड, सिदिङ्वा गाउँपालिका वडा नम्बर १ कालीखोला, फक्ताङ्लुङ वडा नम्बर ७ याङ्मालगायत क्षेत्रमा टेलिफोन टावर राख्न माग गरिएको छ ।  जिल्लाका विभिन्न क्षेत्रमा माग गरिएको मोबाइल टावर राख्ने हो भने सबै क्षेत्रमा सञ्चारको पहुँच पुग्नेछ ।