close

नागरिक कापेको र कोभिडले चापेको म्याङलुङको कथा

नागरिक कापेको र कोभिडले चापेको म्याङलुङको कथा

Trulli
ADVERTISEMENT

तेह्रथुम– यतिबेला म्याङलुङ पनि कोरोना महामारीको चपेटामा परेको छ । पहिलो र दोस्रो लहरको नियन्त्रण र उपचारमा सहजीकरण गरेका स्थानीय सरकार तेस्रो लहरलाई रोक्न सक्रिय भइरहेका छन् ।

 

नागरिकलाई अनिवार्य मास्क लगाउन, दूरी कायम गर्न, कोभिड परीक्षण गर्न र जटिल अवस्थाका संक्रमितलाई उपचार व्यवस्था मिलाउने प्रयत्न सुरु गरिसकेका छन् । खोप नलगाएकालाई खोपको व्यवस्थापनमा पनि स्थानीय सरकार जुटिसकेका छन् ।

 

विगतका दुई वटा लहरसँग जुधेका जनप्रतिनिधिको अनुभवका कारण संघ र प्रदेश सरकारको खासै सक्रियता नदेखिए पनि स्थानीय सरकार आफ्नो क्षमताअनुसार महामारी नियन्त्रणका गतिविधिलाई बढावा दिइरहेका छन् । 


कोभिडको तेस्रो लहरले छोपिरहँदा म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे भने वडावडामा पुगेर नागरिकलाई न्याना सिरक वितरण गरिरहेका छन् । जाडो बढिरहेका बेला तुम्बाहाम्फेले कापिरहेका नागरिक सम्झिए । पुसभरिमा सबै वडामा पुगेर सिरक वितरणको काम सकिसकेका छन्, मेयर तुम्बाहाम्फेले । 


‘कोभिड नियन्त्रण र उपचारका लागि हामीले संयन्त्र बनाइसकेका छौँ । कुन अवस्थामा के गर्ने भन्ने तयारी भइसकेको छ । तर, नागरिकको जीवन बचाउन कोभिडै भए पनि अन्य काम रोक्दैनौँ । जनता कापेको र कोभिड चापेको हेरेर बसिँदैन,’ मेयर तुम्बाहाम्फेले भने । 

 

सिरक वितरण गर्नुको कारण यस्तो रहेछ

 

गत वर्षको जाडो भर्खरै भित्रिँदै थियो । मेयर तुम्बाहाम्फे म्याङलुङ बजारमा हिँडिरहेका थिए । स्थानीय विपन्न कृष्ण नेपालले मेयरसँग पैसा मागे । जाडोमा ज्याकेट किन्ने पैसा मागिरहेका नगरबासीलाई आफैंले लगाएको ज्याकेट खोलेर त्यही लगाइदिए । आफू कठ्यांग्रिँदै घरतिर लम्किरहँदा उनको मनमा अनेक तर्कना आए । राती सुत्ने बेला दिउँसोको घटनाले निकै सतायो । 

 

मेयर तुम्बाहाम्फेले सोचे– ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला, गरिब, विपन्नको रात कसरी बित्यो होला ! तत्कालै फाइबरको सिरक किनेर मेयर आफैं गाउँगाउँमा बाँड्न पुगे । यो वर्षको जाडो भित्रिँदै गर्दा पुसभित्रै सबै वडाका २७ सय बढी परिवारलाई सिरक वितरण गरिसकेका छन् । 

 

सिरकसहित न्याना जुत्ता पनि 

 

कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्रीसमेत भइसकेका तेजमान तुम्बाहाम्फेले त भाषणै गरिदिए । एमालेबाट निर्वाचित मेयरले जनमुखी काम गरिरहेकाले भोट उनै मेयर तुम्बाहाम्फेलाई दिन आग्रह गरेको विषय भाइरलै भयो । एमाले नेताप्रति कांग्रेसका पुराना नेताले यस्तो अभिव्यक्ति सार्वजनिक गर्दा हलचल नआउने कुरै भएन । तर, मेयर तुम्बाहाम्फे भन्छन्, ‘मैले भोटका लागि यी काम गरेको होइन । मेरो काम जनसेवा गर्ने हो, भोट दिने या नदिने जनताको कुरा हो ।’ म्याङलुङ नगरपालिकाका ८० प्रतिशत बढी नगरबासीले केही न केही पाएका छन् । बलियो स्थानीय सरकारको महसुस गरेका छन् । 

 

जहाँ दुःख र अभाव, त्यहाँ म्याङलुङ नगर 


वसन्तपुरदेखि म्याङलुङ जाने बाटोमा चिप्लिएर लडेका एक नेताको तस्बिरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको फोटो जोडेर सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल बन्यो । ओली रिसाएनन्, बरु जनताको दुर्दान्त अवस्था बुझेर २ अर्ब रुपैयाँ बढी बजेटको व्यवस्था गरिदिएपछि कालिका कन्स्ट्रक्सनले पाएको १० किलोमिटरको ठेक्का सम्पन्न भएर सडक कालोपत्रे भइसकेको छ भने अरू बाँकी कालोपत्रे हुने तयारीमा छ । यसले राजनीतिक भविष्य थप बलियो बनाएको मेयर तुम्बाहाम्फेको बुझाइ छ ।


 
विगतको अवस्था सम्झिँदै मेयर तुम्बाहाम्फे भन्छन्, ‘एउटा गरिब परिवारमा कोही बिरामी भयो भने ४०÷५० हजारमा गाडी रिजर्भ गरेर धरान लैजानुपर्ने अवस्था थियो । म निर्वाचित भएर आएपछि एम्बुलेन्स निःशुल्क गरिदिएँ । सयौँ बिरामीलाई सेवा दिन सकेँ । फर्किएर हेर्दा खुसी लाग्छ ।’ उनले एम्बुलेन्स मात्र होइन, औषधोपचारमा मात्रै वार्षिक ४० लाख रुपैयाँ बढी बजेट खर्च गर्छन् । 

 

वितरणमुखी बजेट भएन ?


बजेट वितरणमुखी भयो भन्ने गुनासो मेयर तुम्बाहाम्फेले नसुनेका होइनन् । उनी भन्छन्, ‘हामीले बाटो बनाएका छैनौँ ? बिजुली पु¥याएका छैनौँ ? अन्य पूर्वाधार बनाएका छैनौँ ? ४० लाख रुपैयाँ औषधोपचारमा गरिएको खर्चले दिएको जनताको खुसी मापन गर्नुस् ? ४० करोडभन्दा ठूलो सन्तुष्टि छ, अनि यस्ता कार्यक्रममा गरिने खर्च वितरणमुखी हुन्छ ?’

 

कोरोनाको पहिलो लहरताका म्याङलुङ नगरपालिकाकै एक जना सम्पन्न परिवारको अभिभावक नै बिरामी परे । उनलाई कोरोना देखिएको रिपोर्ट आएपछि थप उपचारका लागि धरान लैजान कोही अग्रसर भएनन् । संक्रमितकी श्रीमतीको आग्रहपछि मोटरसाइकलमा चढेरै भए पनि तत्कालै पुगेका मेयरले आफ्नै गाडी मात्र बोलाएनन्, आफैंले बोकेर गाडी चढाइदिए । तर, उनी कांग्रेसका सक्रिय कार्यकर्ता थिए । 
मेयर तुम्बाहाम्फे भन्छन्, ‘मैले मेरा कार्यकर्तालाई बजेट बाँडेको पनि छैन र भोटका लागि कहिल्यै काम गरिनँ ।’


म्याङलुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाहाम्फे फेरि मेयरमा उठ्ने सोचमा छन् । कामको मूल्यांकन जनताले त्यतिबेला गर्ने उनको बुझाइ छ । मेयर तुम्बाहाम्फे भन्छन्, ‘स्थानीय सरकारको नेतृत्व गर्नेले विवेक नगुमाई व्यक्तिगत स्वार्थ त्याग्न सके जनताका लागि धेरै गर्न सकिँदो रहेछ ।’