close

एउटा अधुरै सपना बोकेर फर्किएका सुप्पा सिंह

एउटा अधुरै सपना बोकेर फर्किएका सुप्पा सिंह

Trulli
ADVERTISEMENT

बारीको डिलमा चप्पल ओछ्याएर बसेका बृद्ध सुप्पा सिंह वाईबा गालामा हात लगाएर मन्त्रमुग्ध भएर सुनिरहेका थिए । अक्षर चिन्ने अवसर समेत नपाएका सुप्पासिंहले ब्यानर पढ्न सक्ने कुरै भएन । भाषण गर्दा व्यानरतर्फ हेर्दै बोलिरहेका अतिथीको भनाईबाट उनले ठम्याईसकेका थिए, ‘शिलान्यास कार्यक्रम’बारे । 

 

एक गाग्री पानी पाउँदा युद्ध जितेझैं लाग्ने बर्दिबास नगरपालिकाको वडा नं १० र ११ का सुप्पा सिंह जस्तै सयौं परिवारका लागि यो महत्वपूर्ण दिन थियो । नगरपालिका खानेपानीको आशा मात्रै बोकेर आएको थिएन, आउँदो २ महिनाभित्रै खानेपानीको अपेक्षा पुरा गर्ने गरी शिलान्यास हुँदै थियो । 

 

आफ्नो जवानी र बुढेसकाल पानीकै चिन्ताले बिताएका सुप्पा सिंह शिलान्यासपछि प्रसन्न मुद्रामा भन्छन्, ‘अब घर अगाडि नै धारो देखेर मर्न पाईने भो ।’ 

 

रोटरी कल्वसँगको सहकार्यमा बर्दिबास नगरपालिकाले ८६ लाखको लागतमा निर्माण गर्न लागेको ट्यांकि निर्माण तथा खानेपानी वितरण योजना २ महिनामै सकिंदैछ । मेयर विदुर कार्कीले शनिबार शिलान्यास गरेको योजना बैशाखामै सकिनेछ । 

 

शिलान्यासपछि भावुक मुद्रामा मेयर कार्कीले भने, ‘निर्वाचित भएलगत्तै यहाँ आएको थिएँ, समस्या धेरै थिए, सम्बोधन गर्दै गयौं आजबाट त अब खानेपानीको समस्या पनि पार लाग्ने निश्चित भएको छ, यत्रो बर्ष धैर्यता गर्नुभएकोमा धन्यवाद ।’ 

 

‘बर्खामा अलि बढि पानी पर्याे भने पहिरो गएर बगाउला कि भन्ने चिन्ता भन्दा पनि खानेपानी पाईने भो भन्ने कुराको खुशीले मन प्रफुल्ल हुन्छ’ खानेपानीको अभावले दिएको पीडा सम्झँदै चन्द्रबहादुर पार्खिन् भन्छन्, ‘बालुवा खोस्रेर बल्त तल्ल भर्ने एक गाग्रो पानीले पुर्याउनुपर्ने अवस्था छ ।’

 

सामान्य दैनिकी त जसोतसो चलाएका भालुझोडाका जनताका लागि कुनै चाडपर्व वा विवाह जस्ता कार्यक्रम आयोजना गर्नुपर्दा चिन्ता खानेपानीकै हुन्छ । बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले निर्वाचन ताका खानेपानीको व्यवस्था गर्ने भन्ने बाचा पुरा हुँदैन कि भन्ने शंका मानेका भालुझोडाबासी अहिले दंग छन् । 

 

मेयरले बिजुली र खानेपानीको अभाव पुर्ती गरिदिएकोमा खुशी भएका भालुझोडाबासीको अब एउटै अपेक्षा छ । बर्खामा पानी परेपछि सडक पूर्णतः बन्द हुने भएकाले यसप्रति मेयरको ध्यान जाओस् भन्ने आग्रह छ । 

 

‘खरको घर हुनेलाई ५० हजारको टिन दिनुभयो, खानेपानी ल्याईदिनुभयो, अब बाटो बनाईदिए हुने...’ वडा नं. १० कै मणिलाल स्याङ्तान भन्छन्, ‘घरबाट बर्दिबास बजार आएपछि पानी पर्याे भने घर पुग्न सकिंदैन, घरका मानिस विरामी भए भने बर्दिबास लैजान सकिंदैन, न त बालबालिका बर्खामा विद्यालय नै जान सक्छन्, यत्ति सडकको व्यवस्था भए... ।’

 

शिलान्यास कार्यक्रम सकेर घर फर्किएका मणिलाल, चन्द्रबहादुर र सुप्पासिंहले घरमा पुगेर परिवारसँग खानेपानीको अभाव टर्ने भयो भनेर सुनाउँदा खुशी हुने परिवारले ‘अनि सडक नि !’ भनेर सोधेको प्रश्नको जवाफ कहिले दिने हुन् कुन्नी !