close

पाँचथरमा चम्केको गुँदाला भोजोला ताल

पाँचथरमा चम्केको गुँदाला भोजोला ताल

Trulli
ADVERTISEMENT

पाँचथर– मेची राजमार्गको राँके बजारबाट पश्चिम लागेपछि समथर डाँडाहरु माथिको यात्रा सुरु हुन्छ । पाँचथर र इलामका फराकिला र सुन्दर फाँट हेर्दै जति–जति हिँड्यो उत्ति–उत्ति आनन्द आउँछ । राँके कटेपछि आउने सबै डाँडा र थुम्काहरुको आ–आफ्नै मौलिकता र सुन्दरता छ । देउराली, पुरानो पञ्चमी, घुर्विसेपञ्चमी, सप्तमी, रबि, चिसापानीपञ्चमी, कन्याटार जस्ता बजारहरु डाँडाको तलमाथि हुँदै फैलिएका छन् । यी सबै ठाउँ जोड्ने सडक चाहिँ बहुचर्चित राँके–रबि–भेडेटार सडक हो ।

 

यी सबै ठाउँका आ–आफ्नै परिचय छन्, जसको व्याख्या यहाँ पुगेर आनन्द लिएपछि मात्रै गर्न सकिन्छ । तर राँकेबाट रबि हुँदै पहाडको काखमा बसेको कन्याटार पुगेपछि नजिकैको लेखगाँउ पुग्न सबैले सुझाउँछन् । पाँचथरसहित तेह्रथुम र धनकुटाका केही भूभाग देखिने यहाँबाट मनोरम दृश्य हेर्दै झट्ट डाँडो छिचोल्दा आनन्द दोब्बर हुन्छ, यात्रा सार्थक बनेको अनुभूति जो कोहीले गर्दछन् । बुट्यानहरुले ढाकेको हरियो जङ्गल, बाटोसम्म लत्रिएका लहलह अर्गेली, बुकी फूल र काँसले ढाकेको पाखाको बीचमा फैलिएको गुँदाला भोजोला ताल तपाइँको आँखामा पर्छ । मन फुरुङ्ग हुन्छ, थकान हराउँछ र रमाइलो गर्ने जोस चल्छ । नजिकै समथर ठाउँमा काठ र टिनले बनेका रङ्गीविरङ्गी स–साना घरहरु, बोलचाल र शिष्टताको मौलिकताले आत्मीयता प्रदर्शन गर्छ । 

 

मेची राजमार्ग छोडेपछि पूरै कच्ची सडकको यात्रा, धुलो र हिलोको अवरोध, अप्ठ्यारो र असजिलोले दिएको पीडा भुलाउन गुँदाला भोजोला ताल हरदम तम्तयार छ । बिहानीको शिरशिरे हावा होस् अथवा गोधुलीको मन्द बतास नै, हावाको वेगसँगै नाचिरहेको तालको पानी एक टकले हेरिरहन, डिलमा बसेर सुसेली हाल्न वा प्यारा मान्छेहरु सम्झन तपाइँ लालायित बन्नुहुन्छ नै । नभए छेउ–छेउमा रहेका चौतारीमा बसेर फूलहरुको बास्नासँगै प्रकृतिले दिएको आनन्दको छटामा एक क्षण त अवश्य हराउनु हुन्छ । 

 

यत्तिले पनि नपुगे डुङ्गामा चढेर पोखरीका छेउकुना गर्दै चिसो–चिसो हावासँगै आनन्द लिने अवसर पनि तपाइँसँगै छ । हो, दुर्गममा पनि पर्यटकको तृष्णा मेट्न तम्तयार बनेको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँमा स्थित गुँदाला भोजोला ताल । राँके–रबि–भेडेटार सडकसँगै डाँडामा टिलपिल–टिलपिल पानी लिएर प्रकृतिको सुगन्ध बाँड्न गुँदाला भोजोला ताल हरदम तयार छ । विगतमा सानो पोखरी रहेको यस स्थानमा स्थानीयवासीको अग्रसरतामा केही वर्षअघि ताल निर्माण भएको हो । हरियो जङ्गल, नीलो आकाश र हिमालको छाँया पर्ने तालमा लिइएका तस्बिरहरु निकै आकर्षक हुने हुनाले गर्मी सिजनमा यहाँ पर्यटकहरुको भीड लाग्न थालेको छ । 

 

केही समययता उक्त तालमा रमाइलो गर्नका लागि डुङ्गासमेत प्रयोगमा ल्याइएको छ । विगतमा सानो ताल रहे पनि स्थानीयवासीले निकासतर्फ पक्की संरचना बनाई तालको विस्तार गरेका छन् । डुङ्गा सञ्चालन तथा तालको संरक्षणमा सक्रिय स्थानीयवासी सरोज राईका अनुसार यहाँ पाँचथरसहित इलाम, झापा, सुनसरी, धनकुटालगायत स्थानबाट पर्यटकहरु आउने गर्दछन् । गर्मी मौसममा दैनिक ५० जनाभन्दा बढी पर्यटक यहाँ आइपुग्ने गरेको राईले बताए ।

 

गुँद र बोजो नामका वनस्पति रहेको ठाउँमा ताल निर्माण गरिएकाले यसको नाम गुँदाला भोजोला ताल राखिएको राईको भनाइ छ । विगतमा सानो पोखरी रहे पनि निकासतर्फ संरचना निर्माण गरी ताल निर्माण गरिएको हो । ताल आकर्षक बन्नाका साथै पर्यटकसमेत भित्रिन थालेपछि गत वर्षबाट डुङ्गा प्रयोगमा ल्याइएको हो । पर्यटकको उपस्थिति बाक्लिएपछि डुङ्गाबाट समेत राम्रै आम्दानी हुने गरेको छ । सिजनमा तालसँगै रहेको लेखगाउँमा पसल तथा स–साना होटलहरु राम्रोसँग चल्ने गरेका छन् । 

 

स्थानीयवासीवासीले ताल निर्माण र संरक्षणमा अग्रसरता लिएपछि सङ्घीय सरकार, प्रदेश सरकार र मिक्लाजुङ गाउँपालिकाले समेत यहाँ लगानी गरेका छन् । ताल निर्माण भएसँगै सामाजिक सञ्जालमार्फत व्यापक प्रचार भएको स्थानीयवासी रबिन राईको भनाइ छ । ‘नयाँ वर्षको समय र अन्य सिजनको समयमा यहाँ प्रशस्तै पर्यटक आउँछन्,’ राईले भने, ‘स्टल राखेर व्यापार चलाउने गरेका छौँ ।’ विगतमा गुमनाम रहेको आफ्नो गाउँमा पर्यटकहरुको आकर्षण बढेपछि खुसी लागेको उनको भनाइ छ ।