close

मल नपाउँदा तुयुमाया न हाँस्न सक्छिन् नत रुनै

राजधानी उपत्यकामै मलको हाहाकार

मल नपाउँदा तुयुमाया न हाँस्न सक्छिन् नत रुनै

राजधानी उपत्यकामै मलको हाहाकार

Trulli
ADVERTISEMENT

काठमाडौँ । छेवैमा मनोहरा अरू बेलाभन्दा केही बेगले बगिरहेको छ । मनसुन सक्रिय भएरै होला, पानीको सतह पनि बढेको छ । त्यसमाथि, असार महिना । किसानलाई खेतीको निकै चटारो पर्ने महिना । भर्खरै सकिएको असार १५ अर्थात् धान दिवसका दिन । सबैले रोपाइँ गर्न पनि सकेनन् । बरु त्यो दिन, नेतादेखि सेलेब्रेटी सबैले रोपाइँ गरेको तस्बिर साझा गरे, सामाजिक सञ्जालमा ।

भक्तपुरको मनोहरा नदी छेउको पुर्ख्यौली खेतमा सधैँ देखिने तुयुमाया अवालेको हरेक दिन खेतमा काम गरेर नै बित्ने गर्छ । जग्गा कारोबारीले हिसाब गर्दा करोडौँ रुपैयाँ पर्ने साढे तीन रोपनी जग्गामा उनी धान, साग र प्याज उब्जाउँछिन् । उनलाई आफ्नो खेतको बजार मूल्यको वास्ता छैन । बरु राजधानी उपत्यकामा खेती गर्न मल पनि नपाइँदा भने उनी चिन्तित बन्छिन् । 

पुग नपुग ६० वर्षकी अवाले जीवनमा कहिल्यै घर र खेतबारी सम्हाल्ने बाहेक अर्को काम गरेकी छैनन् । 

‘किसानको छोरी र पत्नी परियो अरू काम कहाँबाट जान्नु ? बिहान खाना खाएर खेतमा आउँछु । काम सकाउने धुनमा खाजा त खान बिर्सिन्छु,’ मुसुक्क हाँस्दै भन्छिन्, उनी । घरदेखि १५ मिनेट टाढाको खेतमा यसरी बित्छ, उनको हरेक दिन ।

यसपालि रोपेको प्याजको बिउ नराम्रो भएकाले रोपेको दिनमै पहेँलो भयो । उनलाई बरु त्यसको चिन्ता छ । 

‘मरेका बिरुवा उखेलेर त फालेँ तर पहेँला भएकालाई उखेल्न माया लाग्यो तर अब यसको आशा छैन । अब त उखेल्नै पर्ला,’ उनी मुर्झाउन थालेका प्याजका पातहरू देखाउँदै निराश भावमा भन्छिन् ।  

जेठी छोरीले विवाह पछि पनि तरकारी खेती गरिरहेकी छ । छोराले पनि यही काम गर्छ । धेरै काम हुँदा छोराको सहयोग लिन्छिन् ।

‘कान्छी छोरी पढेर जागिर खाँदै छे । तर, अहिले विदेश जाने तयारीमा छे । नेपालमा जागिर खान पनि आफ्ना मान्छे चाहिने । पढेर देशमा राम्रो काम नपाएपछि विदेश त जानु पर्ने नै रहेछ’ प्याजका पहेँला पात सुमसुम्याउँदै अवाले भन्छिन् । शायद उनले टाढा जान लागेकी छोरी र ती प्याजका पातमा केही समानता देखेकी होलिन्, राम्रोसँग हाँस्न पनि सकिनन् ।

मनोहराले कहिले खेत मै पसेर उनलाई दुख दिन्छ । अनि सरकारले सहज रुपमा मल उपलब्ध नगराएर । भन्छिन्, ‘खेती गर्न पनि साह्रै दुख छ ।’ 

तरकारी लिन बिचौलिया खेतमा नै आउँछन् । किसानबाट किनेको भन्दा तिन गुणा रकम बढाएर उपभोक्तालाई बेच्छन् । माघ फागुनमा तरकारीको उत्पादन अलि बढी हुने भएकाले अरुबेला जस्तो भाउ पनि आउँदैन रे । उनलाई तरकारी बढी उत्पादन हुँदा पनि चिन्ता नै छ ।

‘असारमा धान रोप्न ट्याक्टर भाडामा लिनु पर्छ । मेसिनले खोलाको पानी तानेर रोपाइँ नगर्ने हो भने आकाशे पानीको भर पर्नु पर्छ,’ एकपछि अर्को गर्दै उनी किसानको मर्का सुनाउँछिन्, ‘खेताला पनि भनेको बेलामा पाइँदैनन् । पाउँदा पनि दिनका १५ सय ज्याला दिनु पर्छ । ६ घण्टा झार मात्र उखेलेको नै ५०० लिन्छन् ।’ 

‘दुःख गरेर धान रोप्यो तर चाहिने बेलामा मल पाइँदैन । एक पटकमा ५० केजी युरिया मल चाहिन्छ । एक बाली धान रोप्दा दुई तीन पटक मल हाल्नै पर्छ,’ उनी सुनाउँछिन्, ‘तर, के गर्नु ! २।३ महिना मुर्दा मुस्किलले १० केजी पाइन्छ ।’ 

सरकारको नीति अनुदानमा मल दिने छ । काठमाडौँ उपत्यका कै किसानहरूले आवश्यकता अनुसार मल पाउँदैनन् । उनै शब्दमा भन्नु पर्दा, त्यसको लागि पनि बिहानैदेखि वडामा लाइन बस्नु पर्छ । 

‘१५० केजी मल चाहिने धान बालीलाई १० केजीले के नै पुग्छ र? वडाले मल वितरण गर्छ भनेर छोरी वडा कार्यालय गएकी थिई । तर प्रक्रिया पुगेन भनेर फर्काइदिएछन् । दुई तिन महिना हुन लाग्यो मल आएको छैन भन्छन् वडामा पनि ।’ 

आफूलाई कहाँ कसरी मल लिन जाने भन्ने जानकारी नभएको बताउँछिन् उनी । धान सप्रिन मल आवश्यक नै परिसकेकाले हुँदा अब कहाँ धाउने भन्ने उनलाई थाहा छैन । त्यसैले उनी झन् निराश बनेकी छन् । 

अहिलेसम्म त राम्रै देखिएपछि मलको अभाव भयो भने बाली बिग्रने चिन्ता उनको छ । 

रोपेको बाली खान सारुङ र काग आइपुग्छन् । त्यसैले दिनभरि बाली कुर्न भए पनि खेत मै बस्नु पर्ने उनको बाध्यता छ । उनी पनि अरू झैँ चराबाट बालीनाली बचाउन विषादीको प्रयोग गर्छिन् । 

कहिले काहीँ नदीको सतह बढेर खेतमा पानी आउँछ । बाढी पसेर बाली बगाएर लान्छ । कहिले बाढी त किराले खाएर आफ्नो मेहनत खेर जाँदा पनि उनलाई चिन्ता लाग्छ । मनोहरामा बाँध बनाएपछि भने खेतमा बाढी नछिरेकाले अलि ढुक्क भएको उनी बताउँछिन् ।

कृषिबाट आम्दानी नै नहुने पनि होइन । राम्रो बाली सप्रियो भने २ महिनामा डेढ लाख सम्मको आम्दानी गरेको तुयु मायाको अनुभव छ । 

‘राम्रो बाली भएको बेलामा खर्च पुर्‍याउन सजिलो हुन्छ । तर सरकारले किसानको लागि अनुदानको व्यवस्था गरे सजिलो हुने थियो,’ उनलाई थाहा रहेनछ, उनी जस्ता किसानका नामा पहुँचवालाले अनुदान पचाउँछन् भन्ने । 

३० वर्ष पहिले सरकारले किसानहरूलाई बिउ बिजन, पानी राख्ने ट्याङ्की, मल दिएको उनलाई सम्झना छ । त्यसपछि आजसम्म उनले अनुदानको नाममा ‘अ’ पनि पाएकी छैनन् ।