close

४० वर्ष जेलमा बित्दा अनागरिक बने कर्णसिंह

४० वर्ष जेलमा बित्दा अनागरिक बने कर्णसिंह

Trulli
ADVERTISEMENT

बाजुरा । 'कर्णसिंङ रावल मेरै टोलको मान्छे हुन् । उहाँका ४ जना भाइहरूसमेत म चिन्छु । पाँच भाइमध्ये दुईजना बितिसके । कर्णसहित ३ जना जीवितै हुनुहुन्छ । चेली छैनन् ।' हिमाली गाउँपालिका-६ का वडाध्यक्ष प्रेमलाल भण्डारीले पालिका खबरसँग भने । 

भण्डारी गत वैशाख ३० गतेको निर्वाचनपछि वडाध्यक्ष भएका हुन् । उनी थप्छन् 'तत्कालीन वडाध्यक्ष सुरेन्द्रबहादुर मल्लले पनि चिन्नुका साथै नागरिकता पाउन योग्य ठानेरै नागरिकताको सिफारिस गरिदिएका हुनुपर्ने हो तर कर्णसिंहले नागरिकता पाएका छैनन् ।'

६५ वर्षीय कर्णसिंह रावलले गत पुस पहिलो हप्ता गाउँमै नागरिकताको शिविर आउँदा सबै प्रक्रिया पूरा गरे । नाता प्रमाणीकरण गरे । वडा कार्याले प्रहरी सर्जमिन मुचुल्कासहित वडा कार्यालयले सिफारिस गर्‍यो । गाउँपालिकाको आयोजनामा र जिल्ला प्रशासन कार्यालय मार्तडीमाको सहयोगमा हिमाली गाउँपालिकामा कार्यालय धुलाचौरमा नागरिकताको अनुसूची संकलन घुम्ती शिविर सन्चालन गरिएको थियो । 

केही दिनपछि नागरिक आउन्छ भन्ने आशामा १७ दिनसम्म धुलाचौर बजारमा बसेका थिए कर्णसिंह । जिल्ला प्रशासन कार्यालय नागरिकता पठाउँदा सबैको नागरिकता आएको थियो भने उनको नागरिकता जिल्ला प्रशासन कार्यालयले नपाएको दु:खेसो पोखे । 

उनले भने, 'नागरिकता लागि सबै प्रक्रिया पूरा भएर पनि मैले नागरिकता पाइनँ । वैशाख ३० गतेको निर्वाचनमा आफ्नो मताधिकार पनि मतदान हाल्न पाइनँ ।  नेपाली भएर पनि ६५ वर्षसम्म नागरिकताविहीन छु । नागरिकाता बनाएपछि बैंकमा खाता खोल्ने सोच पनि पूरा भएन ।'

यसबारे जिल्ला प्रशासन कार्यालय बाजुरामा बुझ्दा तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको सरुवा भइसकेकोले कार्यरत अधिकारीले आफूलाई जानकारी नभएको बताए । सबै प्रक्रियाबारे जानकारी गराएपछि प्रशासन शाखाका एक कर्मचारीसँग यसबारे चासो राखे । ती कर्मचारीले भने, 'भाइ र कर्णसिंहको उमेर धेरै तलमाथि देखिएकोले सबै मुचुल्का भए पनि सिडिओ सापले शंका गर्नु भएको होला । सिडियो सापले नागरिकता चाहियो भने प्रशासन कार्यालयमै आउनु भन्नु भएको हो ।'

पुसमा सबै कागजात बुझाइसकेको कर्णसिंहले बताए पनि नागरिकता लिन प्रतिवेदनबाहेकका सबै कागजात नयाँ हुनुपर्ने जिल्ला प्रशासन कार्यालय बाजुरका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्ट बताउँछन् । विष्टले भने,'बाजुरामा वृद्धभत्ताका लागि उमेर बढाएर दोहोरो नागरिकता बनाउने प्रवृत्ति भएकाले तत्कालिन सिडिओ सापले पनि शंकाको नजरले हेर्नु भएको हुनसक्छ । नागरिकता दिन योग्य छन् होला तर सबै कागजात पुरानो भएकाले सबै प्रक्रिया फेरि गर्नुपर्ने हुन्छ ।' 

कर्णसिंह रावल भारतमा ३२ वर्ष जेल जीवन र ८ वर्ष ज्यामी काम गरेर घर फर्किएका हुन् । घरमा आमा बुवासँग सामान्य विवाद भएपछि २५ वर्षको उमेरमा घरबाट भागेर भारत गएका थिए । भारतको उत्तराखण्डको चम्फावती,  अलमुडा भन्ने ठाउमा करिब ८ वर्ष सम्म ज्याला मजदुरी गरिरहेको बेला साथीहरूले हत्या केसमा फसाएर जेल जानु परेको उनी बताउँछन् । उनले भारतको पिर्थगाड र बनारास बरेली र हरिताल स्थानमा ३२ वर्ष जेल जीवन बिताएका थिए । 

४० वर्ष भारतमा बसाइपछि घर जानुपर्छ भन्ने सोचले आफ्नो घर खोज्दै जन्मभूमि फर्केको उनी बताउँछन् ।