काठमाडौँ । सालिक कसको बनाउने ? जवाफ खोज्न धेरै कान कन्याउनु पर्दैन । जसको स्मरण चिरस्थायी बनाउनु छ, शायदै उसकै सालिक ठडाइन्छ । कहिले काहीँ स्थान विशेषको परिचय झल्काउन पनि सालिक निर्माण गरिन्छ ।
नेपालमा राणा शासन र त्यसमा पनि अंग्रेजको प्रभावका कारण सालिक निर्माणको गतिले तीव्र रुप लिए पनि त्यसअघि पनि सालिक निर्माण नभएका होइनन् । हुनत किराँत र मल्ल शासनमा पनि राजाहरूका सालिक नबनेका होइनन् । अरुले भन्दा पनि आफैँले आफैँलाई जुग जुगसम्म चिनाउन कै लागि सालिक निर्माण गर्न थालिएको हो ।
सालिक निर्माणको यात्रा नेपाल अहिले फरक रुपमा अगाडि बढ्दै छ । हिजोका दिनमा राजा रजौटा र प्रभावशाली नेताहरूको मात्र सालिक बन्ने नेपालमा हिजोआज तरकारीदेखि जनावरसम्मका सालिक निर्माण गर्ने होडबाजी चलेको छ ।
अहिले स्थानीय तहमा विभिन्न जनावरदेखि मानव अंगका प्रतीकसम्म ठड्याइएका छन् । नेपालमा बाघ, सुँगुर, भाले, बिरालो, काग र हाब्रेसम्मको सालिक निर्माण भइसकेका छन् ।
बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा बाघको सालिक बनाइएको छ । ७ लाख लागतमा सालिक तयार भएको नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पालिका खबरलाई जानकारी दिए । बाघको सालिक बनेको सो ठाउँ अहिले बाघचोकका नामले चिनिन्छ । सो स्थानमा पहिला राजा महेन्द्रको सालिक थियो । ठाउँ पनि ‘राजाको सालिक’ नामले परिचित थियो ।
जनयुद्धको समयमा जनता आक्रोशित भए । महेन्द्रको सालिक पनि भत्काएका थिए । २०६२/०६३ सालमा भत्किएको राजा महेन्द्रको सालिक उभिएको ठाउँमा अन्य व्यक्तिको सालिक बनाउने विषयमा विवाद देखियो । 'बाघ' बागलुङको पहिचान भएकाले त्यसकै सालिक बनाउन सहमति भएका मेयर श्रेष्ठले बताए ।
‘पहिले-पहिले यहाँ बाघको बसोबास धेरै थियो भन्ने कथन छ, नजिकै कालीको मन्दिर छ । कालीको वाहन बाघ भएकाले पनि यो ठाउँमा बाघको महत्त्व छ,’ उनले भने । उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा आफैले त्यो सालिक बनाएको नगरप्रमुख श्रेष्ठले गर्वका साथ सुनाए ।
स्थानीय तहमा जनावरको सालिक कहाँ-कहाँ बनाइएको छ भनेर खोजी गर्ने क्रममा उदयपुरको बेलका नगरपालिकामा सुँगुरको सालिक उभ्याउने क्रममा रहेको भेटियो । नगरपालिकाका अनुसार २०७५ सालदेखि निर्माण थालिएको यो सालिक अहिले पनि अधुरै छ । नगरपालिकाको ७ नम्बर वडास्थित मैनामैनीमा बन्दै गरेको सुँगुरको सालिक निर्माण सम्पन्न हुँदासम्म ६८ लाख रुपैयाँ खर्च हुने नगरप्रमुख अशोक कार्कीले पालिका खबरलाई जानकारी दिए ।
हाल सम्म १७ लाख रुपैयाँ खर्च भइसकेको तथा थप रकम नगरपालिकासँग मागिएको पनि उनले बताए ।
‘पूर्वमेयरले नै उक्त सालिक बनाउन लागेका हुन् । खास के उद्देश्यले बनाइएको हो, मलाई कुनै जानकारी छैन,’ पालिकाखबरसँग टेलिफोन संवादमा नगरप्रमुख कार्कीले बताए ।
उनका अनुसार यो सालिक सिमेन्ट र छड प्रयोग गरेर बनाइँदै छ । 'ठुला कान र घुमेको पुच्छर भएको हाइब्रिड प्रजातिको जस्तै देखिन्छ यो सुँगुरको सालिक,' उनले भने, 'राईजातिमा सुँगुरको स्थान महत्त्वपूर्ण भएकाले यो सालिक बनाइएको हुनसक्छ ।'
‘सालिक बनिरहेको वडामा पानीको समस्या छ, एक घण्टाभन्दा बढी हिँडेर स्थानीयबासीले पानी ल्याउनु पर्छ, नागरिकको आधारभूत आवश्यकता पूरा नगरी यस्ता काममा सरकारको बजेट खर्चिएको पाइयो,’ उनले आफ्नो असन्तुष्टि व्यक्त गरे ।
यो विषयमा थप जानकारीका लागि नगरपालिकाका पूर्वअध्यक्ष दुर्गाकुमार थापासँग कुरा गर्दा सुँगुरको सालिक नभई बराहको सालिक बनाइएको दाबी गरे । बराह विष्णु भगवानको तेस्रो अवतार रहेको जनविश्वास छ । बराह क्षेत्रलाई धार्मिक भक्तजनका लागि गन्तव्यस्थल बनाउन यसको सालिक निर्माण गरिएको उनको दाबी छ ।
उनका अनुसार सालिकसँगै धार्मिक पार्क, त्यहाँ पुग्ने सडक र बिजुलीको व्यवस्था गर्न पनि बजेट छुट्याएको छ । यो पार्क सहितको सालिक २.७५ किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । वडा नं ६ र ७ लाई किरात विशेष क्षेत्र छुट्याइएको छ । शतप्रतिशत राई समुदाय रहेको यस क्षेत्रमा सुँगुरको महत्त्व रहेको उनले बताए ।
बराह मन्दिरमा देवताको मूर्ति हेर्न निषेध गरिएको हुन्छ । यहाँ पार्कमा टेलिस्कोपबाट भक्तजनले भगवानको दर्शन गर्ने व्यवस्था मिलाउने योजना समेत आफ्नो रहेको पूर्वमेयर थापाले बताए । 'यो ठाउँबाट अरुण, तमोर र सुनकोसीको भेट भएको त्रिवेणी पनि देखिन्छ । धनकुटा, भोजपुर, खोटाङ, उदयपुर र सुनसरी पनि देख्न सकिन्छ ।'
किराँत राजा फुलहाङको दरबारको भग्नावशेष पनि यही रहेकाले पर्यटनको लागि समेत यो क्षेत्र महत्त्वपूर्ण रहेको उनले बताए ।
अर्को छ, स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ मा बनाइएको भालेको सालिक । यसै आर्थिक वर्षमा तयार भएको यो सालिक बनाउनै डेढ लाख बजेट छुट्याइएको थियो । निर्माण सकिन झन्डै दुई महिना लाग्यो । फोटो खिच्न आउनेका लागि सालिकसँगै सिँढी र वरिपरि अन्य संरचना बनाएको छ । खर्च कति भयो विवरण आइनसकेको पालिकाका अध्यक्ष खिमबहादुर थापाले पालिकाखबरलाई बताए ।
'भालेबासको पहिचान भाले हो । यसको पहिचानको लागि भालेको सालिक तयार गरिएको हो,' गाउँपालिकाको अध्यक्ष थापाले भने, ‘नजिकै आलम देवीको मन्दिर छ । मन्दिरको उत्पत्ति र भालेको रहस्य जोडिएका किम्बदन्ती कथाहरू छन्, भालेबासको पहिचानका लागि सालिक बनाइएको हो ।'
उता, तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा एक वर्ष अगाडि नै बिरालोको सालिक बनेर सडकमा सानसँग उभिएको छ । दोस्रो कार्यकालका लागि निर्वाचित मेयर सञ्जयकुमार तुम्वाहाङफेले वडा नं १ को म्याङ्लुङ बजारमा यो सालिक बनाइएको बताए । म्याङ्लुङ देवीको नाममा नगरपालिकाको नाम राखिएको हो । लिम्बु भाषामा बिरालोले निकाल्ने आवाज ‘म्याउँ’लाई म्याङ र ‘लुङ’ को अर्थ ढुङ्गा हुन्छ । म्याङ्लुङदेवी बिरालोको ढुङ्गाको स्वरूप रहेको किम्बदन्ती रहेको नगरप्रमुख तुम्वाहाङफेले सुनाए ।
मोरङको कानेपोखरी गाउँपालिकामा कानको प्रतीक ठड्याइएको छ । गाउँपालिकाको वडा नं ७ मा कानको प्रतिमा बनाइएको छ । जहाँ सिमसार छ । ‘कानेपोखरी सिमसारलाई पर्यटकीयस्थल बनाउन कानको प्रतीकसहित अरू घुम्न योग्य पूर्वाधार बनाइएका छन्,’ गाउँपालिकाका अध्यक्ष राजमती इङ्गनामले पालिकाखबरसँग भनिन् ।
एक वर्षअघि तयार पारिएको हो सालिक बनाउन ठ्याक्कै कति खर्च भएको आफूलाई थाहा नभएको अध्यक्ष इङ्गनामले बताइन् । सिमसार निर्माणको लागि ५० लाख बजेट आएको थियो । त्यही बजेटबाटै कान बनाइएको उनले बताइन् ।
काठमाडौँको कागेश्वरी मनोहरा गाउँपालिकामा कागको सालिक बनाइएको छ । नगरपालिका-१ को गागलफेदीमा पुग्नेले यो सालिक हेर्न सक्छन् । एक वर्ष अघि नै यो तयार बनेको थियो । कागेश्वरी धामको आधारमा नै नगरपालिकाको नाम समेत बनेको छ । त्यसैको प्रतीकको रूपमा यो सालिक बनाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताए ।
इलामको माइजोगमाइ गाउँपालिकामा हाब्रे अर्थात् रेड पान्डाको सालिक बनिरहेको छ । पालिकाको सदरमुकाम नयाँ बजारमा हाब्रेको सालिक बनिरहेको प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीले बताए । नेपालको लोपोन्मुख प्रजाति मध्ये हाब्रे पनि एक हो । रेग्मीका अनुसार भारतको सिमानामा रहेको कारण भारतबाट रेड पान्डा पालिकामा पाइएका हुन् । यो सालिक बनाउन थालिएको ६ महिना भएको छ भने ५ लाख बजेट छुट्याइएको छ ।
भोजपुरको अरुण गाउँपालिका –६ जरायोटारमा जरायोको सालिक निर्माण गरिएको छ । जसलाई जरायो स्तम्भ भनेर चिनिन्छ । दुई वर्ष अघि १३ लाखमा निर्माण गरिएको नगरपालिकाले जनाएको छ । यता अर्जुनधारा नगरपालिका झापामा गोरुगाडाको सालिक निर्माण गरिएको छ । वडा नम्बर ८ शनिश्चरे बजारमा यसको निर्माण गरिएको हो ।
त्यस्तै इलाम र कास्कीमा हातको प्रतिमा पनि बनेका छन् । पर्यटकको आगमन हुने दुवै जिल्लामा हातको आकृति बनाएर त्यहाँ चढ्ने लिस्नो पनि बनाइएको छ । यता कास्कीमा पोखरा महानगरपालिका–१८ मा बनेको एक रिसोर्टले बनाएको हो भने इलाम बजारमा इलाम नगरपालिकाले निर्माण गरेको हो ।
यी सबै सालिक मोह नेपालका पश्चिमी भेगका भन्दा पूर्वका बासिन्दामा बढी देखिएको छ ।