close

महिला उद्यमशीलता : तालिम धेरै, उद्यमी न्यून, उद्यमीको बजार पनि छैन

महिला उद्यमशीलता : तालिम धेरै, उद्यमी न्यून, उद्यमीको बजार पनि छैन

Trulli
ADVERTISEMENT

काठमाडौं । सरस्वती श्रेष्ठ दुई वर्ष अगाडि तीनमहिने ब्युटिसियन तालिममा सहभागी भइन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो  कार्यक्रममा उनले ब्यूटिपार्लरसम्बन्धी आधारभूत तालिम लिइन् । तर, ब्यूटिसियनसम्बन्धी तालिमको प्रमाणपत्र  लिएकी उनी घरगृहस्थीको रुपमा घरमै छिन् । 

‘नगरपालिकाबाट तालिम त लिएँ । तर, काम गर्न सकिन्न’, उनले भनिन्, ‘काम गर्नका लागि आफ्नो पसल चाहिन्छ । त्यो मसँग छैन । आफ्नै श्रृंगार गर्नमात्र काम लागिरहेको छ,’ उनले पालिका खबरसँग भनिन्, ‘दुई छोरी छन् । उनीहरूको हेरचाह र घरायसी काममा गर्दै आएकी छु । अब जागिरको खोजीमा छु । कहीँ काम पाएँ भने उतै जाने सोच छ।’

तर,  दुई वर्षअघि ब्यूटिसियनसम्बन्धी तालिम लिएका अधिकांशले  धेरै कुरा बिर्सिसकेको बताए । 

भक्तपुरकी मीना भट्टुले नगरपाालिकाद्वारा आयोजित चिनियाँ भाषा प्रशिक्षणमा सहभागी भइन् । उनीसँगै ४० जना स्थानीय सो प्रशिक्षणमा सहभागी थिए । प्रशिक्षणको क्रममा कोरोना महामारी  फैलिएकोले प्रमाणपत्र पाएनन् । ‘पहिलो लहरको कोरोना भाइरस सकेपछि हामीले नगरपालिकाबाट प्रमाणपत्र पायौँ । तर अहिले प्रमाणपत्र कोठामा सजिएको छ’, उनले भनिन्, ‘केही साथीभाइसँग कहिलेकहीँ चिनियाँ भाषामा हाइ-हेलो हुन्छ ।’ 

तर, व्यावहारिक रुपमा सोचेजस्तो प्रयोगमा ल्याउन नसकेको उनले दुखेसो पोखिन् । भक्तपुर नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले सो कार्यक्रम गरेको अनुभव उनको छ । उत्कृष्टलाई रोजगारीको सृजन गर्ने बताइए पनि  पालिकाले के गर्‍यो त्यसबारे जानकार नभएको उनले बताइन् । उनले भनिन्, ‘अहिले कामको खोजीमा छु ।’ 

भक्तपुरकै रजनी कपालीले नगरपालिकाद्वारा सञ्चालित चार महिने सिलाइ तालिममा सहभागी भइन् । तालिममा सिकेका कुरालाई घरमा पनि प्रयोग गर्न थालिन् । 

‘नगरपालिकाले तालिम दिने थाहा पाएपछि फाराम भर्न गयौँ । त्यसको केही महिनापछि  ताालिममा सहभागी पनि भयौँ’, उनले भनिन्, ‘दिउँसो दुई घण्टा सिक्थ्यौँ । घर गएपछि फुर्सदको समयमा पनि लुगा सिलाउन थालेँ ।’ 
उनले सिलाइसम्बन्धी दुई पटक तालिम लिएको बताइन् । उनले भनिन्, ‘पहिलो पटक सिक्दा बच्चा सानो थियो । राम्रोसँग ध्यान दिन पाएकी थिएनन ।’ तर छोरी हुर्केपछि फेरि तालिममा सहभागी भएको उनले बताइन् । 
‘अहिले आफ्नो लागि चाहिने लुगाफाटो आफैँ सिलाउँछु । कहिलेकहीँ अरुको लागि पनि सिलाउँछु’, उनले भनिन्, ‘लुगा सिलाउन त जान्ने भएँ ।’ तर आवश्यक लगानीको अभावले पसल सञ्चालन गर्न नसकेको उनले बताइन् । अहिले घरमै सिलाएर सामान्य आम्दानी भइरहेको छ ।

नेपालको संविधान, २०७२ आएसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागू भएको छ । सो संविधानलाई आधार मानेर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ निर्माण भयो । जसले स्थानीय सरकारको क्षेत्राधिकार निर्धारण गरेको छ । सो ऐनलाई आधार मानेर जनशक्ति उत्पादन तथा वृत्तिका लागि स्थानीय तहहरूले बर्षेनी बजेट निकासा गर्दै आएको छ । तर पनि स्थानीय तहले प्रतिफल पाउन सकेका छैनन् । 

उद्यमशीलताको लागि तालिम अपुग हुने 

महिला उद्यमशील बनाउनका लागि तालिममा मात्रै नपुग्ने महिला उद्यमीहरू बताउँछन् । त्यसका लागि सीपसँगै लगानीको पनि स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने उनीहरू बताउँछन् । महिला उद्यमी अमूल्यदेवी शाक्यका अनुसार स्थानीय तहले तालिमसँगै लगानीको पनि व्यवस्थापन गर्नुपर्छ । 

उनी लामो समयदेखि महिलाहरूलाई हस्तकला सम्बन्धी तालिम दिँदै आएकी छन् । ‘बर्षेनि स्थानीय तहको आयोजनामा महिलालाई तालिम दिन जान्छु । तर केहीलाई मात्रै उद्यमी बनेको देख्छु’, उनले भनिन्, ‘कहिलेकहीँ एकै जनालाई दुई/तीन पटक सोही तालिममा देखेँ ।’ 

स्थानीय तहले तालिमसँगै भत्ताको व्यवस्था गरिदिने गरेको अनुभव उनको छ । त्यसैले तालिममा महिलाको सहभागी धेरै हुने गरे पनि केही मात्रै व्यवसायी वा उद्यमी बन्ने गरेको उनको अनुभव छ । 

स्थानीय तहले तालिमसँगै केही आर्थिक सहयोगको पनि व्यवस्था हुनु पर्ने उनी बताउँछन् । ‘सबै महिलाको अवस्था एउटै हुँदैन । सम्पन्न परिवारको महिला आफैं तालिम लिएर उद्यमी बन्छन्’, उनले थपिन्, ‘स्थानीय तहबाट तालिम लिने सामान्य महिलाहरू हुन् । उनीहरूसँग सीप र लगानी दुवै हुँदैन ।’ 

ती महिलाले पालिकाहरूले तालिमसँगै आर्थिक स्रोत पनि जुटाउनु पर्ने उनले पालिका खबरलाई बताइन् । साथै पालिकाका सहकारी संस्था वा सामाजिक संस्थासँग सहकार्य गर्न उनी सुल्झाउँछन् । 

न्यून उद्यमी बने तर, बजार पाएन

ललितपुर महानगरपालिकाको आयोजनामा केही महिलाहरूले अचार बनाउने तालिम लिए । तालिम लिएसँगै अचार बनाउन पनि सुरु गरियो । तर अचारले बजार नपााएको गुनासो स्थानीय नीशा श्रेष्ठले बताइन् । 

‘हामीले महानगरको आयोजना भएको तालिमबाट अचार बनाउन सिक्यौँ’,उनले भनिन्, ‘सिकेपछि लगानी भएन । एउटा सहकारी संस्थाको सहयोगमा अचार बनाएर विक्रि गर्न थाल्यौँ ।’

लगानी जुटाएर अचार उत्पादन गरेपनि बजार पाउन नसकेको उनले बताइन् । ‘हामी मेथी, कागतीलगायत विभिन्न सामग्रीको अचार बनाउँछौँ । तर अचारले बजार पाउँदैन’, उनले भनिन्, ‘अहिले सहकारी संस्थासँग समन्वय गरेर अचार विक्री गर्दै आएका छौँ ।’ उनले स्थानीय तहले तालिमसँगै बजार र लगानीको व्यवस्थ गर्नु पर्ने बताइन् । 

महिलालाई उद्यमशील तथा सशक्तीकरणका लागि तालिम मात्रै नपुग्ने महिला उद्यमी शान्ता खड्गी बताउँछिन् । महिला समूह, सहकारी संस्था, आमा समूहसँगको सहकार्यमा काम गर्दा पनि उद्यमशीलताको लागि सहज हुने उनी बताउँछिन् । स्थानीय तहले बजारको माग थाहा पाएर मात्रै तालिम दिनु पर्ने उनले बताइन् । ‘बजारको माग एउटा हुन्छ । तालिम अरू नै दिन्छ’, उनले भनिन्, ‘बजारको माग थाहा पाएर तालिम दिँदा महिला उद्यमशील बन्न सक्छिन् ।’

उनका अनुसार महिलाले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता राख्नुपर्छ । ‘स्थानीय तहले तालिम दिन्छ । केही महिला सुामान पनि उत्पादन गर्छ । तर बजार मुस्किलैले पाउँछ’, उनले थपिन् । स्थानीय तहले विभिन्न संस्थासँग सहकार्य गरेर स्थानीय उत्पादनलाई प्रमोट गर्नुपर्ने उनी बताउँछन् । 

केही महिलाहरू आफू घाटा खाएर भए पनि सामान उत्पादन गर्दै आएका छन् । ‘हामी आफैँले केही महिलालाई उद्यमी बनाउन खोजेका छौँ । उहाँले सामान उत्पादन गर्नुहुन्छ । तर बजार पाउनु हुन्न’, उनले भनिन्, ‘पाए पनि सस्तोमा बिक्री हुन्छ । ज्याला हिसाब गर्दा नाफा नै हुँदैन ।’ 

घरमा खाली बस्नु सट्टामा केही आम्दानी हुने भएकोले महिलाहरू काम गर्दै आएको उनले बताइन् । स्थानीय तहले बजार व्यवस्थापन गर्न सकेमा महिलाहरू उद्यमशील बन्न सक्ने उनको अनुभव छ । 

ललितपुर महानगरपालिकाले महिला उद्यमशीलताको लागि ऋणको व्यवस्था गरेको छ । विगतका वर्षमा महिलालाई विभिन्न तालिम दिँदै आएको महानगरले जनाएको छ । तर तालिम व्यवहारिक रुपमा लागू नभए पनि चालु आर्थिक वर्षदेखि १ प्रतिशत ब्याजमा ऋणको व्यवस्था गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । 

उनका अनुसार उद्यमशील बन्न चाहने महिलालाई पाँच लाख रुपैयाँसम्म ऋणको व्यवस्था गरेको छ । ‘उद्यम बन्न चाहने महिलाको सूचीकरण गर्ने छौँ,’ उनले भने, ‘उहाँहरूले माग गर्नु भएमा ऋणको व्यवस्था गरेका छौँ ।’ 

सोका लागि पालिकाले प्रत्येक वडालाई एकदेखि डेढ करोडको बजेट विनियोजन गरेको उनले बताए । महिलालाई सीप मूलक तालिमभन्दा पनि सो कार्यक्रम प्रभावकारी हुने विश्वास उनको छ । 

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिला उद्यमशीलताको लागि उपमेयरसँग कार्यक्रम सञ्चालन गरेको बताइन् । ‘हामीले उपमेयरसँग महिला कार्यक्रम सञ्चालन गरेका छौँ । सोबाट महिलाको माग अनुसार कार्यक्रम ल्याएका छौँ’, उनले भनिन्,  ‘सामुहिक वा एकल रुपमा महिलाहरूले महानगरमा निवेदन दिनुहुन्छ ।’ 

उनले महिला उद्यमशीलताको लागि एक देखि पन्ध्र लाखसम्म ऋणको व्यवस्था गरेको बताइन् । उनका अनुसार ऋण दिने महिलाले एक लाखको ३ प्रतिशत र १५ लाखको बढी ब्याज तिर्नुपर्छ । 

महिलालाई दिइने सीप मूलक तालिम व्यवहारिक रुपमा लागू नभएपछि महानगरले सो कार्यक्रम ल्याएको उनले बताइन् ।  सो कार्यक्रमबाट ४०० भन्दा बढी महिलाहरू लाभान्वित भएको उनले सुनाइन् । ‘०७४ सालबाट हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ । हालसम्म ८ करोड रुपैयाँ बजेट निकासा भइसकेको छ’, उनले भनिन्, ‘यो वर्ष थप  दुई करोड बजेट निकासा हुने देखिन्छ ।’ सो रकमबाट महिलाहरूले विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको उनले पालिका खबरलाई बताइन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले विगतका वर्षमा महिला उद्यमशीलताको लागि बेदवास तालिम, सिलाइ तालिम, ब्यूटिपार्लरलगाय विभिन्न ताालिम सञ्चालन गरेको जनाएको छ । तालिम दिए पनि अधिकांश बाहेक केही महिला मात्रै व्यवसायी भएका छन् । तालिम व्यावहारिक रुपमा लागू नभएपछि यस वर्ष तालिम लिएका महिलालाई सूचीकरण गर्न अनुरोध गरेको छ । 

उद्यमी बन्न चाहने महिलाहरूलाई नगरपालिकाले ऋणको व्यवस्था गरेको पालिकाले जनाएको छ । धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले महिला उद्यमशीलताको तालिम सञ्चालन गर्ने बताए ।