close

सडकदेखि सदनसम्म भाइरल हुने भूत सवार

सडकदेखि सदनसम्म भाइरल हुने भूत सवार

Trulli
ADVERTISEMENT

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल हुनका लागि सांसददेखि सर्वसाधारणसम्म कम्ती मेहनत गरेका हुँदैनन् । सांसदहरू भाइरल हुने कन्टेन्ट तयार गरेर संसद छिर्छन् भने सर्वसाधारणहरू भाइरल बनाउनु भएकोमा धन्यवाद भन्दै हिड्छन् । माइक पायो भने बोलिहाल्नुपर्ने र के बोल्ने र के नबोल्ने भनेर हेक्कासमेत नहुँदा सदनदेखि सडकसम्म भाइरल हुने मनोवृत्ति बढ्न थालेको हो । 

अझ अरूको ध्यान तान्नकै लागि आकर्षक शब्द, वाक्य, हाउभाउ र शैली प्रयोग गर्छन् । केही फरक बोल्यो वा गर्‍यो भने सर्वसाधारण भाइरल हुन्छन् तर सांसदजस्ता जिम्मेवार पनि भाइरल हुन रहर गर्छन् भन्दा अचम्म लाग्ला तर यहाँ सबैलाई भाइरल हुनुपर्छ भन्ने मानसिकताले गिजोलेका छन् । संसदमा के बोल्दा र सामाजिक सञ्जालमा के लेख्दा चर्चामा आउन सकिन्छ भन्ने उद्देश्यबाट उनीहरू प्रभावित भएकोजस्तो देखिन्छन् । 

नेपालमा राजनीतिक दलका नेता, सांसद तथा मन्त्रीदेखि सर्वसाधारणसम्म भाइरल बनेका छन् । उनीहरूले बोलेका शब्दबाटै ट्रोल बनेका छन् । भेलु बाजे, म्यादी भाइ र  काले दाइलगायत यसका पछिल्लो उदाहरण हुन् । 

आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजनका लागि प्रतिनिधिसभामा छलफलको क्रममा तत्कालीन सतारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद रोए । अर्थमन्त्रीले सांसद कोषमा ४ करोड बजेट विनियोजन गरेको थियो । सोही क्रममा रोष्ट्रममा सांसद गजेन्द्र महतले आसु झार्दै बोलेका थिए । उनले रुदै भने, ‘चार करोडले स्थानीय तहमा वडाध्यक्ष सबैलाई राखेर हामीले बजेट विनियोजन गर्नुपर्छ । यो पनि कही मिल्ने कुरा हो ? कसले सहन्छ ? यस विषयमा अर्थमन्त्रीले सोचुन् ।’  
महतले आफूलाई चित्त नबुझेको कुरालाई यतिमै टुंगो लगाएनन् । मन्त्री भएकै आधारमा सांसदमाथि हेप्न थालेको पनि भन्न भ्याए । उनले भने, ‘मन्त्री हुँदैमा हामीलाई बाँधेर राख्न पाइन्छ ? हामीलाई हेप्न पाइन्छ ? हामीलाई अपमान गर्न पाइन्छ?’ 

अर्थमन्त्रीले सांसदहरूलाई वडाध्यक्षको रुपमा हेरेको आरोपसमेत लगाए । ‘मन्त्री हुँदै हामीलाई यस्तो गर्ने अधिकार कसले दियो । चाहिँदैन हामीलाई चार करोड । आफू जाने ठाउँमा बजेट चाहियो । सभामुख महोदय हामीलाई हेपेको छ,’ उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सूर्यध्वज साँवा लिम्बुले प्रदेश नम्बर १ को बजेट विनियोजनकै क्रममा भने, ‘च्यात् ढुङ ढुङ ढुङ ढुङ च्यात् ।’ नेपालको पर्यटन र संस्कृतीबारे जानकारी दिनको लागि उक्त उच्चारण गरेका थिए । उनले अगाडि थपे, ‘राई जातिको ढुङ्कु ढुङ्कु ढुङ्कु ढुङ्कु, सोई ढोले सोई मुख्यमन्त्री खोई ? सोई ढोले सोई अर्थमन्त्री खोई ? सोई ढोले सोई अरु मन्त्री खोई ?’

गत फागुनमा अमेरिकी सहयोगसम्बन्धी सम्झौता (एमसीसी) पारितको विरोधमा केही राजनीतिक दलसहित जनताहरू सडकमा उत्रिए । यसै विषयमा संसद‍्मा छलफलसमेत चलेको थियो । यसैक्रममा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद गगन थापाले एमसीसी पास पाए अमेरिकी सेना नेपाल आउँछ भन्ने हल्ला गलत भएको भन्दै उनले भने, ‘कहीँ कतै नेपाललाई तलमाथि केही भइहाल्यो भने यो आदेशलाई पालना गरेर हस्ताक्षर गर्ने सांसद भएकोले सरी भनेर मात्रै छुट पाउँदिन । यदि त्यस्तो भयो भने म काठमाडौंको सांसद हुँ । थानकोट कटाइयोस् । नागरिकता खोसियोस् । चारपाटा मुडियोस् । सम्पत्ति विवरण बुझाइदिएको छु, सम्पत्ति खोसियोस् । सभामुख महोदय, माननीय ज्यूहरू तयार हो ?’ 
सांसद थापाले सो बोलिरहँदा विपक्षी राजनीतिक दलले मात्रै उनको विरोध गरेनन् । सडकमामा उत्रिएका जनताले समेत उनको विरोध गरेका थिए पनि सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । 

केही महिनाअघिमात्रै सांसद गंगा चौधरी रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । १६ सेकेण्डको सो भिडियोको पृष्ठभूमिमा गिटी बालुवा खन्दै गरेका दुईजना महिला छन् । उनले एक वाक्यमै भनिन्, ‘दिदी बहिनीहरूको यस्तो अवस्था देखेर मलाई भावकु बनाउँछ ।’उनले आँशु पनि पुछिन् । सो भिडियो भाइरल भएसँगै उनी ट्रोलको शिकार बनिन् । 

प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई भागमा विभाजित भए । विभाजित भएसँगै नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच ‘नाटकै हो र नौटंकी हो’भन्ने जुहारी चल्यो । 

पुस २७ गते भारतीय टिभी च्यानल जी न्यूजले तत्कालीन प्रधानमन्त्री ओलीको अन्तर्वार्ता प्रशारण गरेको थियो । अर्को दिन सगरमाथाको विषयमा सोही च्यानलमा विवादस्पद कार्यक्रम प्रशारण भएको थियो । 

सोही विषयलाई लिएर प्रचण्डले नाटकको संज्ञा दिए । पुस २९ गते प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ताको भेलाको क्रममा प्रचण्डले शर्माको उक्त अन्तर्वार्तालाई उद्दृत गर्दै भने, ‘नाटकै हो ।’

ओलीले पनि भाषणबाटै प्रचण्डलाई जवाफ दिएका थिए । उनले माघ ८ गते आफू निकट पत्रकार भेलामार्फत प्रचण्डलाई भने, ‘नौटंकी नै हो ।’

केही समयअघि प्युठानका ६१ वर्षीय मेनबहादुर बुढा 'भेलु बाजे' एकाएक भाइरल भए । सामान्य परिवारका उनी ज्याला मजदुरीमार्फत जिविकोपार्जन गर्दै आएका थिए । सामान्य मोबाइल समेत चलाउन नजान्ने उनको हातमा एकजना युट्युबरले मोबाइल थम्याइदिएका थिए । र्‍यापर सागरको रेकर्ड गरिएको अडियो सुनाएर उनलाई बोल्न आग्रह गरिएको हुन्छ । भेलु बाजेले अडियोमा बोलेको कुरालाई आधार मानेर ती व्यक्तिलाई गाली गर्न थाल्छन् । उक्त भेलुबाजेको गाली एकाएक टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो ।

उनले बोल्दा बेल्कुल, हत्तेरिका, एकदम च्वाँक र पख्नुस त लगायतका शब्द प्रयोग गरेका थिए । ती शब्दसँगै भेलुबाजे आफैं पनि भाइरल भएका छन् । भाइरल भएकै कारण उनले सिरियलमा खेल्नसमेत पाएका छन् । 

पछिल्लो समय युटुबलगायत सामाजिक सञ्जालमा काले दाइ पनि चर्चामा छन् । उनीसँग भएका कुराकानी तथा संवादहरू एक युटुब च्यानलमा प्रशारण भएपछि उनी पनि भाइरल भए । काले दाइ र एक करोड रुपैयाँ रकम भेटिने कल्पनाले गर्दा उक्त संवाद भाइरल भएका हुन् । कुराकानीको क्रममा युटुबरले सोध्छन्, ‘तपाईले एक करोड रुपैयाँ भेटाउनु भयो भने के गर्नुहुन्छ ?’ कालेदाइले जवाफमा भन्छन्, ‘मैले एक करोड भेटाए भने आधा प्लेट चाउमिन खान्छु ।’ 

लोकप्रियताको लागि जे पनि बोलिदिने प्रवृत्ति मौलाउनु समस्या भएको राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन् ।
सदनदेखि सडकसम्म भाइरल हुनुलाई आफूले दुई तरिकाबाट हेरेको उनको भनाइ छ । रोक्काका अनुसार सर्वसाधारण भाइरल हुँदा धेरैमाझ परिचित भएका छन् । तर राजनीतिक दलका नेता तथा सांसदहरूमा यस्तो प्रवृत्ति देखिनु दुखद भएको उनको तर्क छ । 

‘सर्वसाधारणको आवाज कमैले मात्र सुन्छ । सामाजिक सञ्जालमा भाइरल भएमा उनीहरूको आवाज सबैले सुन्छ । यसलाई सकारात्मक रुपमा हेर्नुपर्छ,’ उनले भने, ‘तर, आफू कसरी भाइरल भए भन्ने कुरालाई बुझ्नुपर्छ ।’ 

गाली गरेर भाइरल हुनु र सभ्य तरिकाले भाइरल हुनुमा धेरै फरक हुने भन्दै आफूले बोलेको शब्दको आधारमा लज्जाबोध र गर्वको भागिदार हुनुपर्ने उनले बताए । तर, संसदीय मर्यादा हुँदाहुँदै पनि सांसदहरू भाइरल हुनका लागि आफू खुसी शब्द र वाक्य प्रयोग गर्दै आउनु दु:खद रहेको उनको भनाइ छ । 

सांसदले भाइरल हुनको लागि असभ्य शब्द प्रयोग गर्नु अशोभनीय रहेको उनले बताए । ‘सांसदहरूको आफ्नै प्रतिस्ठा हुन्छ । उनीहरूबाट सर्वसाधारण जनताले सिक्ने हो,’उनले थपे, ‘यदि सांसदले भाइरलको नाउँमा सभ्य र शिष्ट शब्दको प्रयोग गर्दैनन् भने जनताले के सिक्लान ?’