close

रैथाने नेतृत्वमा नपुग्नु नै काँठकाे दुर्भाग्य

रैथाने नेतृत्वमा नपुग्नु नै काँठकाे दुर्भाग्य

Trulli
ADVERTISEMENT

काठमाडौँ । राणा शासनको समयमा काँठ क्षेत्रबाट घाँस र पानी ढुवानीका लागि राणाहरुले बालाजु हुँदै शिवपुरी पहाडको फेदीसम्म बाटो बनाएका थिए । त्यस बाटो संरक्षणको अभावमा अहिले मासिएको गुनासो काँठवासीको जनता गुनासो गर्छन् ।

पञ्चायत ढाली ल्याइएको बहुदलीय व्यवस्था र गणतन्त्रमा आफू अपहेलनामा रहेको काँठवासीले महसुस गरेका छन् । राणाकालिन समयमा नै विकासको लहर चलेका यस क्षेत्र काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ६ अन्तर्गत उत्तरतर्फको झोर र साङ्ला र आसपासको क्षेत्र हो ।

तर विगतका जनप्रतिनिधिले काँठ क्षेत्रलाई उपेक्षा गरेको उनीहरुको आरोप छ । त्यसैले यसपटकको संसदीय निर्वाचनमा काँठ क्षेत्रलाई साँच्चिकै माया गर्ने जनप्रतिनिधि छनोट गर्नुपर्ने पक्षमा स्थानिय छन् ।  उत्सुकताका साथ मङ्सिर ४ गतेको निर्वाचनको पर्खाइमा छन् ।

विकास निर्माणका दृष्टिले पछाडी परेको यो क्षेत्र रत्नपार्कबाट करिब १५ किलोमिटर उत्तरतर्फ पर्छ ।  राजनीतिक पार्टीका नेताबाट हरेक निर्वाचनअघि विकास निमाणसहित काँठ क्षेत्रका जनताको जीवनस्तर सुधार गर्ने आश्वासन दिन्छन् । अहिलेसम्म मिठा आश्वासनमा ठगिएपनि सचेत काँठका जनता अब कोही कसैको भुलभुलैयामा नपर्ने बताउँछन् ।

यसअछिका निर्वाचनमा जस्तै मङ्सिर ४ गतेसम्म आश्वासन बाँड्नेक्रम सुरु भएको छ । तर काँठक्षेत्रका जनता भने यसपटक व्यक्ति, पार्टी एवं विचारभन्दा पनि माथि उठाएर काँठ क्षेत्रलाई माया गर्ने उम्मेदवारका पक्षमा मतदान गर्ने योजनामा छन् ।

काँठ क्षेत्रमा जन्मे हुर्केका व्यक्ति अहिलेसम्म पार्टी नेतृत्व र संसद्मा पुग्न नसक्नु नै यस भेगको दुर्भाग्य भएको टोखा नगरपालिका वडा नं १ झोरका वृद्ध सुशील अधिकारी बताउँछन्, ‘जहिले पनि सहरका टाठाबाठाले टिकट पाउँछन्, चुनाव तिनैले जित्छन्, आफू अनुकूल बजेट खेलाउँछन् र काँठ क्षेत्रलाई बिर्सन्छन् । भोट हाल्दाहाल्दै हामी नै लौरो टेक्ने अवस्थामा आइपुग्यौंँ, अब त अति भयो, यसपटकको निर्वाचनमा काँठ क्षेत्रलाई माया गर्ने उम्मेदवारलाई भोट हाल्ने गरी सल्लाह गरिरहेका छौंँ ।’

देश र जनताको भाग्यको फैसला गर्ने ऐतिहासिक संसदीय निर्वाचनमा काँठबासीले यसअघिजस्तै उत्साहका साथ भाग लिने झोरकै अर्का अवकाशप्राप्त राष्ट्रसेवक कर्मचारी नारायणबहादुर खत्री बताउँछन् । उनी भन्छन्, ‘गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, ठुला उद्योग–कलकारखाना र कालोपत्रसहितको चौडा सडक नभएसम्म काँठ क्षेत्रको वास्तविक विकास असम्भव छ । सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले करिब उस्तै परिस्थिति रहेको समग्र काँठ क्षेत्रको विकास र समृद्धिका पक्षमा मतदान गर्न काँठासी सबैमा अनुरोध गर्दछु ।’

भोट हालेका पार्टीका नेताहरू पटक–पटक मन्त्री भए पनि काँठ क्षेत्रले कहिल्यै केही नपाएको गुनासो अर्का बृद्ध मोहन लामिछानेको छ ।  यसपटकको संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका पक्षमा मतदान विषयमा टोल, छिमेकमा सरसल्लाह भइरहेको उनी बताउँछन् ।

झोर निवासी भूतपूर्व सैनिक गोविन्द अधिकारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिए जनताको घरदैलोमा उम्मेदवार अझैसम्म नआएकोे बताउँछन् ।सडकमा माइकिङ गरी हिँड्नेबाहेक घरदैलोमा उम्मेदवार नगएको, चोक तथा दोबाटोमा भेला भई झैझगडा एवं भनाभन गर्नेक्रम पहिलेभन्दा न्यून रहेको, निर्वाचन प्रचारप्रसारमा तडकभडक नदेखिएकामा आचम्मित छन् ।

काठमाडौं क्षेत्र नं ६ कै  तारकेश्वर नगरपालिका–१ साङ्ला निवासी श्यामकृष्ण कुँवर राजनीतिक पार्टी र नेताहरूलाई साथ दिँदो काँठक्षेत्र सँधै उपेक्षित हुनुपरेकामा दुःखीत छन् । अब आवेगमा नभइ विवेकका आधारमा मतदान गरी काँठप्रेमी जनप्रतिनिधि छान्ने तयारी भइरहेको बताउँछन् ।

साङ्लाकी विष्णुमाया तामाङ भन्छिन्, “गाउँटोलमा निर्वाचनको हल्लीखल्ली भए पनि त्यसतर्फ लाग्ने  फूर्सद छैन, काम नगरे खान पाइदैन, तर मङ्सिर ४ गतेका दिन भने सबैथोक छोडी मन परेको उम्मेदवारलाई भोट हाल्ने नै हो ।’

पीछडिएका झोर तथा साङ्ला र आसपासका क्षेत्रमा रहेका अव्यवस्थित सडक तथा बाटोघाटोे व्यवस्थित गर्न र शुद्ध पानी ल्याउन सक्ने उम्मेदवारलाई मतदान गर्नेे त्यहाँका बासिन्दा बताउँछन् । कृषि, रोजगारी, व्यवसाय र शिक्षा क्षेत्रको विकास गर्ने क्षमता भएको  उम्मेदवारलाई  मतदान गर्ने पक्षमा काँठबासी रहेको देखिन्छ ।

उक्त निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट पूर्वमन्त्री भीमसेनदास श्रेष्ठ,  नेकपा एमालेको तर्फबाट पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालसहित २४ जना उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।