close

बादी र राजीको गुनासो : चुनावताका गरिएका वाचा कहिल्यै पुरा भएनन्

बादी र राजीको गुनासो : चुनावताका गरिएका वाचा कहिल्यै पुरा भएनन्

Trulli
ADVERTISEMENT

टीकापुर । नेपालभरी अहिले निर्वाचनको उत्साह छ। देश निर्वाचनमय हुँदा कैलालीका राजी र बादी समुदायमा भने खासै उत्साह देखिँदैन। सदियौँदेखि अवसर र सुविधाबाट वञ्चित भएको गुनासो गरिरहने यी समुदायलाई राज्यले सेवा सुविधा दिने विषयमा खासै नसम्झेको गुनासो छ।

कैलालीका बादी र राजी समुदायले निर्वाचनमा नेताहरूले गरेका वाचा पूरा नगर्दा आफूहरू शिक्षा र रोजगारी पाउनबाट वञ्चित भइरहेको बताउँछन्। उनीहरू अहिले पनि शिक्षा र रोजगारीभन्दा केही माग्दैनन्। तर, राज्य यसमा पनि मूकदर्शक मात्रै बनिरहेको छ।

जति निर्वाचन र नेतृत्व चयन भए पनि आफ्ना समस्या समाधान नभएको गुनासो उनीहरूको छ। कैलालीको टीकापुर नगरपालिका–८ मा बादी समुदायको बस्ती छ। यहाँ बादी समुदायका ५५ परिवार बस्छन्। बादी समुदायका अधिकांश परिवारका सदस्य रोजगारीका लागि भारत गएका छन्। जीविका चलाउन कठिन भएपछि रोजगारीका लागि बादी समुदायका महिला तथा पुरुष काम गर्ने उमेर भएपछि भारत जान्छन्।

स्थानीय रेखा बादी आफ्नो समुदायका थुप्रै समस्या रहेको बताउँछिन्। बाख्रा र बङ्गुर उपलब्ध गराएर मात्रै आफ्ना समस्या समाधान नहुने उनको भनाइ छ। “दीर्घकालीन सीप र व्यवसायको खाँचो छ”, रेखाले भनिन्। बादी समुदायका नागरिकलाई सीप र रोजगारीसँग नजोडेसम्म आर्थिकरूपमा बलिया हुन नसक्ने उनको धारणा छ।

“यहाँ गुजारा नचलेपछि कमाउन भारत जानुपर्छ, भारतमा निकै पीडादायी काम गर्नुपर्छ”, उनी भन्छिन्, “घरमात्र बनेका छन्, घरले पेट भरिँदैन। रोजगारी दिनुपर्छ। हामीले हाम्रा लागि गरिदिने नेता पाएनौँ।”

बादी महिलाले यौन व्यवसाय लगभग बन्द गरिसकेका छन्। तर अन्य व्यवसाय नहुँदा रोजीरोटीमा समस्या आएको छ। प्यारी नेपाली महिलालाई नै बढी समस्या रहेको बताउँछिन्। “प्रदेश सरकारले बङ्गुर र बाख्रा वितरण गर्‍यो, पाल्यौँ तर रोग लागेर सबै मरे”, उनको गुनासो छ, “हामीसित व्यावसायिकरूपमा पशुपालन गर्न जग्गा पनि कम छ। तालिम लिएका छैनौँ।”

कैलालीमा सयौँ परिवार बादी समुदायको बसोबास छ। समुदायमा अचेल भोट माग्न आउने नेतासँग बादी समुदायले रोजगारी र बालबालिकालाई उच्च शिक्षाकै माग गर्न थालेका छन्। “हाम्रा बालबालिकालाई उच्च शिक्षा पढाइदिने, रोजगारी लगाइदिने गर्नुपर्‍यो। हामीलाई पनि पैसा कमाउन सक्ने सीप सिकाइदिनुस्”, उनको माग छ।

सरकारले बादी समुदायका लागि जनता आवास कार्यक्रमअन्तर्गत दुईकोठे जस्तापाताको छानासहितको घर निर्माण गरिदिएको छ। घर बनेपछि बासस्थान भए पनि जीविका चलाउन रोजगारीका अवसर नभएको उनीहरूको गुनासो छ। गाउँमा नियमित ज्यालादारी कामसमेत नपाउने, पाए पनि उमेर भएकाले गर्न सक्ने उमेर ढल्केकालाई जीविका चलाउन कठिन भएको छ।

सोनिया बादीको परिवार पनि ज्यालादारी कामको भरमा बाँचेको छ। सोनियाले ज्यालादारी काम गरेर सन्तान पालिरहेकी छन्। आम्दानी नहुँदा सन्तानलाई ८ कक्षाभन्दा बढी पढाउन नसकेको उनी बताउँछिन्। “आठ कक्षासम्म निःशुल्क शिक्षा छ। त्यसमाथि पढ्न बादी बालबालिकालाई अझै समस्या छ”, सोनियाले भनिन्, “हाम्रा बालबालिकालाई माथिल्ला कक्षामा पढाएन आर्थिक समस्या छ। ठुला भएपछि कमाउन पठाउँछौँ। सामान्य लेखपढ गर्न जानेकाले सानो तिनो काम पाउँछन्।”

बादी समुदायकै कृष्ण नेपाली आफूजस्तै धेरै युवा बेरोजगार रहेका बताउँछन्। “माछा मारेर जीविका चलाउँथ्यौँ, अहिले नदीमा पनि पानी छैन, ज्यालादारी काम पनि पाइँदैन, नेताहरू भोट माग्न आउँदा बादीलाई रोजगारी दिउँला, कार्यालय सहयोगीमा जागिर दिउँला भन्छन्”, उनले भने, “तर अहिलेसम्म बादी युवालाई रोजगारी दिन कोही नेता आएनन्। जितेर गएकाहरू पनि दल हेरेर सहयोग गर्छन्।”

त्यस्तै, कैलालीको राजी समुदायका मतदाताले उम्मेदवारले चुनावका बेला गरेका प्रतिबद्धता भुल्ने गरेको गुनासो गरेका छन् । उम्मेदवारले चुनावका समयमा गरेका वाचा तथा प्रतिबद्धता कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ।

चुनाव आएपछि मात्र उम्मेदवार समुदायमा आउने र विभिन्न किसिमका प्रतिबद्धता जनाउने, आश्वासन बाँड्ने तर चुनाव जितिसकेपछि प्रतिबद्धता तथा आश्वासन भुल्ने गरेको टीकापुर नगरपालिका–१ ज्योतिनगरकी कल्पना राजीको गुनासो छ। कल्पना राजीजस्तै ज्योतिनगरकै डम्बर राजीको पनि गुनासो उस्तै छ । “निर्वाचनमा मात्रै हामीमाझ नेताहरू प्रतिबद्धता लिएर आउँछन्”, डम्बर भन्छन्, “तर हाम्रा लागि केही गरेनन्, हामी भोट दिने मेसिनमात्र बनेका छौँ।”

अहिले विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार राजी समुदायमा भोट माग्न गइरहेका छन् । राजी समुदायले आजभोलि भोट माग्न आउने नेता तथा कार्यकर्तालाई तपाईँलाई भोट केका लागि भनी सजगसमेत गराउन थालेका राजी समुदायका अगुवा चित्रबहादुर राजीले बताए।

राजी समुदाय नेपाल सरकारको अल्पसङ्ख्यक लोपोन्मुख जातिको सूचीमा रहेको छ। राजी समुदायलाई राज्यको मूलधारमा पुर्‍याउने विषयमा पनि राजनीतिक दलहरू चुकेको उनीहरूको बुझाइ छ। गरीखाने जग्गा–जमिन नभएका राजी समुदायका लागि सरकारले दिने गरेको मासिक रु चार हजार सामाजिक सुरक्षा भत्ता र मजदुरी जीविकोपार्जनका मुख्य माध्यम हुन्। टीकापुरको ज्योतिनगरमा २२ घरधुरीमा ८७ जना राजी समुदायका नागरिकको बसोबास छ।