close

रोकिएन बालविवाह

Trulli
ADVERTISEMENT

चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गरिन् । पन्ध्र वर्षका उमेरमा विवाह गरेकी उनी एक सन्तानको आमा हुन् । पिपला अहिले १९ वर्षको भइन् । तीन वर्षको छोराको स्याहारसुसार र घरायसी काममा नै उनको अहिले दैनिकी बित्ने गरेको छ । आर्थिक अभावका कारण खान लाउन धौधौ भएपछि उनका श्रीमान् रोजगारीका लागि कुवेत छन् ।  

“सानोमा बिहे गर्नु हुँदैन भन्ने थाहा त थियो तर गरियो, अहिले आएर पछुतो लाग्छ”, चेपाङले भने । उनीसँगै जौगैराकै सुनिता, गीता र लालमाया चेपाङको पनि १४/१५ वर्षका उमेरमा नै विवाह भएको छ । उनीहरु सबैको बालबच्चा भइसक्यो । बालविवाह कानुनतः बर्जित छ तर चेपाङ समुदायमा चेतना अभाव, गरिबीलगायतका कारण बालविवाह हुँदै आएको छ । 

सत्र वर्षकी सुनिता चेपाङको पहिलो सन्तान जन्मिसकेको छ भने पुनःगर्भवती छिन् । उनले कक्षा ५ पढ्दै गर्दा बिहे गरेपछि विद्यालय जान बन्द भयो । चौध वर्षमा नै बिहे गरेकी उनलाई ख्यालख्यालमै बिहे गरेको जस्तो लाग्छ अचेल । “पल्लो गाउँमा लागेको मेला हेर्न जाँदा मन परेर भागियो ” उनी भन्छिन्, “पहिलो भेटमा नै बिहे गरेको हुँ ।” १७ वर्षकी गीता चेपाङको बिहे गरेको तीन वर्ष भयो । उनका दुई सन्तान छन् । उनको पनि १५ वर्षको उमेरमा बिहे भएको थियो । 

जौगैराकी लालमाया चेपाङका एक छोरा र छोरी छन् । उनले १४ वर्षको उमेरमा बिहे भएको बताइन् । जौगैराकै माया चेपाङले ४० वर्षको उमेरमा आठ सन्तानलाई जन्माइन्। जन्मेका मध्ये छ सन्तान मात्र उनको साथमा छन् । दुई सन्तानको जन्मेको चार/पाँच महिनामै मृत्यु भयो । १४ वर्षको उमेरमा बिहे गर्नुभएकी उनको ठूलो छोरा २० वर्षका छन् भने सानो साढे चार वर्षकी छोरी । उनी अब सन्तान नजन्माउने सोचमा छिन् ।

तर श्रीमानले कर गरेका कारण धेरै सन्तान जन्माएको उनी बताउँछिन् । “अहिले आएर सानो उमेरमा बिहे गर्ने र धेरै सन्तान जन्माउने ठीक होइन भन्ने लाग्छ”, उनले भने, “दुःख पाइँदोरहेछ ।” उनीले गाउँमा आउने स्वास्थ्य स्वयंसेविकाले भनेपछि धेरै कुरा आफूहरुले थाहा पाएको बताउँछिन् । सानो उमेरमा बिहे र धेरै बच्चा जन्माएका कारण आफ्नो स्वास्थ्यसमेत कमजोर भएको उनको भनाइ छ । 

    पामडाँडा स्वास्थ्यचौकीका इञ्चार्ज चन्द्रबहादुर गुरुङ कम उमेरका चेपाङ किशोरी गर्भवती जाँचका लागि आउने गरेको बताउँछन्। तीमध्ये अधिकांश चेपाङ र जनजाति समुदायका छन् । विवाह गर्न कम्तीमा २० वर्ष पुग्नुपर्छ । कतिपय चेपाङ किशोरी पहिलोपटक रजस्वला हुनासाथ गर्भवती बन्नुपर्ने बाध्यता छ । “गाउँभरि आफन्त, छरछिमेक सबैको सानैमा बिहे भएको देखेका हुन्छन् अनि ख्यालख्यालमै बिहे गरिहाल्छन्”, उनी भन्छन्, “कोही चाहिँ साच्चै बाध्यतामा परेर पनि गर्छन् ।” बुबाले अर्को श्रीमती ल्याएको हुन्छ, आमा अर्कोसँग बिहे गरेर गएको हुन्छ । सौतेनी बुबाआमाले हेलाँ गर्छन् अनि केटा भए एउटी केटी खोजेर घरजम गरिहाल्छ, केटी भए एउटा केटा खोजेर गइहाल्छन् ।” चेपाङ गाउँमा बुबाले अर्की श्रीमती ल्याउने, आमा पोइल जाने परम्परा जटिल समस्याका रूपमा रहेको छ । यसले कलिला बालबालिकाको भविष्य नराम्ररी बिगार्ने गरेको उनको भनाइ छ । 

इच्छाकामना गाउँपालिका–५ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका शिक्षक यानबहादुर गुरुङ विद्यालयस्तरमा जति नै प्रयास गर्दा पनि बालविवाह कम गर्न नसकिएको बताउए । उनले भने, “मैले शिक्षण पेसा गर्न थालेको २५ वर्ष भयो, अहिले पनि यो समुदायमा बालविवाह उस्तै छ ।” उनले ५÷६ कक्षामा पढ्दापढ्दै विद्यार्थीले बिहे गर्ने गरेको बताए । 

    चेपाङ समुदायका बालबालिका भोजभतेरमा जाने, चिनजान हुने र त्यहीबाटै भाग्ने प्रचलन रहेको उनले बताए । बालविवाहसम्बन्धी चेतना अभिभावकमा पनि नहुँदा समस्या भएको उनको भनाइ छ । उनले अझै पनि चेपाङ समुदायको बस्तीमै चेतनामूलक र शिक्षामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

    इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटा बालविवाहका कारण यो समुदायका बालबालिका गम्भीर प्रकृतिको समस्याको सिकार बन्ने गरेको बताए । “सानो उमेरका महिलाको शारीरिक विकास तथा अन्य कुरामा परिपक्वाता आएको हुँदैन । कम उमेरमा विवाह गर्दा अपरिपक्वाताले समस्या निम्त्याउँछ”, उनले भने। 

आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ भने जन्मिएको बच्चा पनि लुलो लङ्गडो, अपाङ्गता भएका, सुस्तमनस्थितिको हुनसक्छ । गर्भ तुहिने सम्भावना बढी हुन्छ । शारीरिक र मानसिकरुपमा आमाको वृद्धिविकास भएको हुँदैन । उनले गाउँपालिकाले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकामार्फत गाउँगाउँमा अभियान सञ्चालन गरिरहेको बताए । 

    इच्छाकामना –६ का वडाध्यक्ष लक्ष्मण प्रजा सही उमेरमा सही शिक्षा लिन नसक्दा चेपाङ समुदायमा बालविवाह कम हुन नसकेको बताए । “चेपाङ समुदायमा सानै उमेरमा विवाह गर्नुको एउटा मुख्य कारण गरिबी पनि हो”, उनले भने, “घरको परिस्थितिका कारण पेटभरी खान पाइन्छ भनेर पनि विवाह गरेका पाइएको छ ।” “भौगोलिक विकटताका कारण पढ्ने उमेर घरमै बित्छ, जसका कारण उनीहरु बिहे गर्न हतार गर्छन्”, वडाध्यक्ष प्रजाले भने, “चेपाङ समुदायमा बालविवाहसम्बन्धी चेतानामूलक कार्यक्रम न सरकारीस्तरबाट भएको छ न गैरसरकारी संस्थाबाट बालविवाहसम्बन्धी यथार्थ तथ्याङ्कसमेत नरहेको उनले बताए । 

उनले जनप्रतिनिधिका रुपमा स्थानीयस्तरमा सचेतना फैलाए पनि पर्याप्त नभएको बताए । “स्थानीयस्तरमा सामाजिक सशक्तीकरणभन्दा पनि भौतिक विकासलाई प्राथमिकता दिइने गरेको छ”, उनले भने, “टोल बस्तीमा पनि यस्ता योजना प्राथमिकतामा पर्दैनन् ।”