close

जडीबुटीको व्यापारबाट चलेको जीविका

जडीबुटीको व्यापारबाट चलेको जीविका

Trulli
ADVERTISEMENT

कालीकोटको थिप्पु गाउँपालिका–१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन्।
 
पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उनले जडीबुटी बेच्ने काम गरिरहेका छन्। ‘हिमाली जिल्लाबाट जडीबुटी खरिद गरेर ल्याएर पहिला भारतमा बेच्थेँ । कोरोना महामारी फैलिएपछि दुई वर्ष जति भयो, भारतमा जस्तै यहाँ जडीबुटीको व्यापारमा लागेको छु।’ उनले सुनाए । 

भारतमा हुँदा उनको दैनिक दुई हजार भारतीय रुपैयाँ जतिको कमाइ गर्थे। नेपाल फर्केपछि उनको कमाइ घटेको छ । दैनिक उनले हाल पाँच सयदेखि रु एक हजार रुपैयाँसम्म एक दिनमा कमाउँछन् । 

‘व्यापारमा कमाइको कुनै ग्यारेण्टी हुँदैन । व्यापार भनेको जुवाजस्तै हो, भाग्य भए कमाइ हुन्छ, नभए हुँदैन। ’ उनी थप्छन् ‘आज कमाइ भएन भनेर मन मार्नु हुँदैन, ग्राहकलाई आफूले ल्याएको जडीबुटीबारे जानकारी दिन सके, मन जित्न सके व्यापार नहुने कुरै छैन। तर धैर्य चाँही चाहिन्छ ।’

जुम्लाबाट उनले तितो, कटुको, गदानो, पदमचाल, हिंग, सिलाजित, कालो नुन, सतुवा र जडीबुटी तेल ल्याएर बेच्छन्। ‘जडीबुटीकै व्यापारबाट बच्चालाई पढाएँ । दुई जना प्रहरीमा भर्ती भएर जागीरमा लागेका छन्, एक जनाले कपडाको व्यापार गर्छन् । छोरीको पढाइ खर्च जडीबुटीकै कमाइबाट चलाइरहेको छु ।’ उनले भने। 

उनको कैलाली र कञ्चनपुरका गाउँ र सहरमा डुलेर जडीबुटी बेच्ने दैनिकी बनेको छ । ‘पहाडमा रहेको घर, जमिन भल पहिराले लियो, भारतमा कमाएको केही पैसा जोडेको थिए, त्यसबाट कैलालीको घोडाघोडी नगरपालिकाको गाउँमा घरबासका लागि जग्गा किनेर परिवार राख्नेसम्मको व्यवस्था मिलाएको छु।’, उनले सुनाए । 

भारतमा डराएर व्यापार गर्नुपरेका अनुभव गरेका उनी नेपालमा भने त्यस्तो नपरेको हुँदा थोरै व्यापारबाट पनि सन्तुष्ट सुनिन्छन् र्। यहाँ व्यापार गर्न डराउनु पर्दैन, भाषाको समस्या छैन। सबैले भनेको कुरा बुझ्छन्।  केहीले जडीबुटी किन्छन् पनि।’ उनी सुनाउँछन्। 
 
राजबहादुर जस्तै बाजुरा स्वामिकार्ति गाउँका मनविरे लुहार पनि जडीबुटीको व्यापार गर्छन्। मनविरे पनि भारतमा व्यापार गर्थे तर कोरोनाको सङ्क्रमणका कारण लकडाउन भएपछि स्वदेश फर्के । त्यसपछि भारततर्फ जान सकेका छैनन् । उनी केही जडीबुटी हिमाली जिल्लामा आफैँ गएर खोजेर ल्याउँछन्। केही जडीबुटी घरेलु उद्योगबाट खरिद गरेर उनी व्यापार गर्छन् । 

भारतमा तीस हजार रुपैयाँ जति उनको महिनाको कमाइ हुन्थ्यो । अहिले उनको कमाइ २५ हजार रुपैयाँ जति कमाइ हुन्छ । दुई छोरा–बुहारी, तीन नातिनातिना, तीन छोरी र श्रीमतीको लत्ताकपडा, खाना खर्च उनकै व्यापारको भरमा चल्दै आएको छ। 
‘दुवै छोरालाई १२ कक्षासम्म पढाउँदा पनि जागिर पाएनन् । उनीहरूले न्यानो कपडा बजार बजार घुमेर बेच्छन्।’ जडीबुटीकै व्यापारबाट लुहारले कैलालीको बर्दगोरिया गाउँपालिकामा डेढ कट्टा जग्गा जोडेका छन् । 

उनी भन्छन्, ‘पहाडमा जीवन चलाउन निकै कठिन छ, सहज जीवनयापनको खोजीमा व्यापारमा संलग्न भएका छौँ, घडेरी जोडेर झोपडी बनाई परिवार यहाँ ल्याएर राखेका छौँ ।’

तीन दशकदेखि जडीबुटीकै अर्का व्यापारि कालीकोटको पलाँटा गाउँपालिका–३ लार्पाका हरिबहादुर रोकायाले महिनाको रु २५ हजार कमाइ गर्छन् । यसबाटै उनको परिवारको खर्च चलेको छ । ‘उमेर ढल्किएपनि व्यापार छोड्न सकेको छैन। व्यापार नगरे के खानु?’, उनले भने । पहाडी जिल्लाबाट जडीबुटी बोकेर तराईमा व्यापार गर्नेको व्यापारिको सङ्ख्या धेरै छ । हिउँदका बेला पहाडी क्षेत्रबाट आउने व्यापारीमध्ये केहीले जडीबुटी र केहीले कम्बल, राडी, पाखी, स्वेटरलगायतका न्यानो कपडाको व्यापार गर्छन् ।

हिउँदको कात्तिक महिना तराई पुग्ने व्यापारीले वैशाख महिना सुरु हुनै लाग्दा आम्दानी गरेको पैसा बोकेर पहाडतर्फ फर्कने गरेका छन् । गतिलो कमाइ गर्नेले तराईमै घरघडेरी जोडेर तराईमै बस्नसमेत थालेका छन् । पहाडबाट तराई झरेर व्यापार गर्ने कार्य दशकौँदेखि चल्दै आएको छ । बूढापाकाले परम्परागतरुपमा गर्दै आएको व्यापारको कार्यलाई थाति राखे पनि युवाले भने पिठ्युमा भारी बोकेर गाउँ सहर चहार्दै व्यापार गर्न रुचाउँदैनन्। युवा अरु व्यापार र सरकारी जागिरमा आकर्षित छन् ।