दुर्गम मानिने बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय विकासको मूल प्रवाहमा आउन सकेका छैनन् । सडक पूर्वाधार विकास भए पनि यहाँ साक्षरताको अभावले परम्परागत मान्यता र विश्वासमा नै जीवन चलाइरहेका छन् । कृषि र पशुपालनलाई प्रमुख पेशा बनाएका उनीहरूको आम्दानीको कुनै दरिलो स्रोत छैन ।
खरले निर्माण भएका फुसका घर र बालबालिका धुलाम्मे भएर खेलिरहेको दृश्यले यो स्थानमा सरकार भएको वा नभएको कुनै अनूभुति हुँदैन । स्थानीय सरकार विगतको तुलनामा अहिले विकासले गति लिएको जिकिर गरिरहेको छ ।
नरैनापुर–५ मटहैयाका विनय दीक्षितले अहिले नरैनापुर आउन भारतीय सडकको प्रयोग गर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्दै साक्षरताको अभावले यहाँको विकासले गति लिन नसकेको बताउँछन्।
स्थानीय सरकार निर्माण भए पनि प्रभावकारीरूपमा काम गर्न नसेकेको गुनासो गर्दै उहाँले अनुत्पादक ठाउँमा स्थानीय सरकारले बजेट खर्च गरेको आरोप उनको छ । उनी भन्छन्, ‘धार्मिकस्थलमा बढी बजेट खर्च भएको छ, त्यसले परिणाम दिएको छैन ।’ नगदे बालीका रूपमा उखुखेती र फलफूल खेती गरेर पनि स्थानीयवासीले आम्दानीको स्रोत बढाउन सक्ने बताइएको छ ।
उनले औद्योगिक ग्राम निर्माण गर्ने ठाउँमा रङ्गशाला निर्माण भएको जानकारी दिँदै लगानीअनुसारको प्रतिफल पाउन नसकेको र कृषिमा भएको लगानी खेर गएको बताए। सिँचाइको अभाव हटाउन स्थानीय नहरलाई प्रयोगमा ल्याउन सकिने र त्यसबाट उत्पादनमा वृद्धि गर्न सकिने बताइन्छ । विद्युतीकरण भएपछि मोटर चलाएर गहुँलगायतका खेतीमा सिँचाइ गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।
गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले पाँच वर्षअघिको गाउँपालिका र अहिलेको गाउँपालिकामा भिन्नता आएको उल्लेख गर्दै सडक पूर्वाधारको विकास भएको बताए। उनले भने, ‘विद्युतीकरण भएको थिएन, त्यसको व्यवस्थापन गरिएको छ र शिक्षाको विषयलाई प्राथमिकता दिइएको छ ।’
अध्यक्ष साहले बालबालिकाको सङ्ख्या बढ्दै गएकाले विद्यालय वा मदरसामा बसेर पढ्ने स्थानको अभाव भएको उल्लेख गर्दै सरकारसँग शिक्षाको विषेश प्याकेज माग गरेको बताए। सो गाउँपालिकामा मदरसासहित ४४ विद्यालय छन् ।
अहिले पनि यहाँको आधारभूत आवश्यकताका लागि भारतीय बजारमा निर्भरता रहेको र कृषिमा समेत परनिर्भरता नघटेको बताइएको छ । स्थानीयको आम्दानी स्रोत बढाउन पर्यटन प्रवद्धनका कार्यक्रम सञ्चालनका लागि पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष साहले उद्योग स्थापनाका लागि पनि छलफल भइरहेको बताए।
उनले नरैनापुरलाई अगैया बजारसँग जोडेपछि गाउँपालिकाको विकास तीव्र हुने जनाउँदै शिक्षा, स्वास्थ्य र सडक निर्माणपछि नरैनापुरका स्थानीय विकासको लयमा फर्कने विश्वास जनाए । नरैनापुर–६ कुदरवेटवाका त्रिभुवनप्रसाद यादवले नरैनापुरको विकास सुस्तगतिमा भइरहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यमा पहुँच बढेको महशुस गरेका छन् ।
तराईमा भएका स्थानीयवासीको अर्थावस्था कमजोर भएकाले खरले छाएका फुसका घर रहेको औँल्याउँदै उनले सरकारले पनि फुसका घर हटाउने नीतिअनुसार ती घरलाई विस्थापन गरेर टिनले छाएको घर निर्माणमा जोड दिएको बताए । यादव भन्छन्, ‘अब सहरी विकासको योजना अघि सारेर मात्रै सहरीकरणलाई बढवा दिन सकिन्छ ।’
यस गाउँपालिकामा मुस्लिम समुदायको बाहुल्यता छ । नेपालगञ्ज बजारबाट करिब ४६ किलोमिटर पूर्व दक्षिणमा पर्ने गाउँपालिका साविकका छ गाविस मिलेर गाउँपालिका बनेको हो। नरैनापुरको उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ बाँकेको डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सिमाना पर्छ।