close

च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

Trulli
ADVERTISEMENT

रेसुङ्गा। गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन् । घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन कमाउन सुझाव दिए । अहिले २० वर्ष पुगेका निखिल डेढ वर्षअघि आफूमात्र अघि सरेर च्याउको बीउ उत्पादनमा लागे। दुई लाख रुपैया लगानीमा सुरु गरिएको बीउ उत्पादनमा पाँच लाख आम्दानी भयो । त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले पनि विश्वास गर्न थाले । 

उनले निखिल मल्टीप्रपोज एग्रो फार्म दर्ता गरेर चन्द्रकोट–५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गरेका छन्। दश रोपनी जग्गा लिजमा लिएर २० ठूला टनेलमा खेती गरेका उनले च्याउलाई ५० टनेलमा विस्तार गर्दै छन्। आगामी चैतसम्म ३० टनेल थप्ने लक्ष्य उनकाे छ । वार्षिक रु एक लाख तिरेर जग्गा लिजमा लिएका निखिलले च्याउ खेतीमा रु २५ लाख लगानी गरेका छन्। उनले बैंकबाट ऋण लिएर लगानी गरिरहेको बताए। निखिले चन्द्रकोट–४ मा रहेको उदय माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी पडे। त्यतिखेर प्रयोेगात्मक सिकाइको क्रममा उनी च्याउ खेती गर्नेमा बढी आकर्षित भए। कक्षा १२ सकेपछि थप अध्ययनभन्दा पनि आफूले सिकेअनुसार व्यवसाय गर्छु भन्नेमा निखिल प्रेरित भए। 

डेढ वर्षअघिबाट सुरु गरिएको च्याउ खेतीबाट अहिलेसम्म औसतमा मासिक रु दुई लाख आम्दानी भएको फार्म सञ्चालक निखिलको भनाइ छ । ‘च्याउ खेतीबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पुर्याउनुपर्छ। वर्षभरलाई औसतमा हेर्दा मासिक रु दुई लाख आम्दानी हुन्छ’, उनले भने। आम्दानी भएको रकम च्याउ खेतीमै लगानी भइरहेको छ । फार्मका २० टनेलमा अहिले सिताके र कन्या च्याउ छन् ।

मौसममा दैनिक आठ क्विन्टल र अघिपछि दैनिक एक क्विन्टल च्याउ बुटवल बजारमा निर्यात हुन्छ । औसतमा तीन क्विन्टल दैनिक बिक्री हुने उनी सुनाउँछन्। च्याउ प्रतिकिलोग्राम रु एक सय ५० देखि दुई सयसम्म पर्छ ।

छ जनालाई आवासीय रोजगार

प्राविधिक ज्ञानमा आफैँ पोख्त बीस वर्षका निखिलले फार्ममा छ जनालाई आवासीय सेवा सुविधासहित रोजगार दिएका छन्। ‘आफ्नै ठाउँमा कामदार पाउन गाह्रो रहेछ, टाढाबाट लिएर आवासीय सुविधासहित राखेको छु’, उनले भने। 

प्युठानदेखि आएका उनीहरुले सुविधाबाहेक मासिक रु १५ हजार पाउँछन् । फार्मको हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्नेलगायतका सबै काम गर्नुपर्छ । योबाहेक सिजनमा अन्य कामदार राख्नुपर्छ । 

सानै उमेरमा व्यवसायतर्फ प्रेरित हुनुको कारण अध्ययन नै भएको निखिलले बताए। ‘पढ्ने समयमा प्रयोगात्मक गर्दा च्याउ खेती गर्छु भन्ने अठोट गरेको थिएँ। अब च्याउ खेतीलाई व्यापकरुपमा विस्तार गर्दै लैजाने हो’, निखिलले भने। उनका बुबा धनबहादुर, आमा रोशनी र दाजु कमल निखिलको कक्षा ९ देखि १२ सम्म प्राविधिकरुपमा कृषि पढाएकाले छिट्टै व्यवसायतर्फ प्रेरित भएकोमा खुसी र सन्तुष्ट छन्। 
  
लगानीसँगै निगरानी, व्यवस्थापन, इमानदारिता र सक्रियता भएमा मात्र कृषि र पशुपालनमा सफलता प्राप्त गर्न सकिने उनको भनाइ छ । ‘मलाई सुरुमा आफ्नैले विश्वास गर्नुभएन, तर म केही गरेर देखाउँछु भनेर अघि बढेँ’, उनी थप्छन्, ‘विश्वास त कर्मसँग हुनुपर्छ।’ 

च्याउ खपतको बजारीकरणमा कुनै समस्या नरहेपनि सहजताको हिसाबले चुनौती छ । उत्पादनलाई बुटवलसम्म पु¥याउन आफ्नै सवारीसाधन नहुँदा ढुवानीमा बढी खर्च हुने गरेको उनको अनुभव छ ।  बजारीकरणलाई सहज बनाउँदै च्याउ खेतीलाई दोब्बरले बढाएर दीर्घकालीन समयसम्मै गरिरहने निखिलको अठोट छ । यसलाई अझै विस्तार गर्ने र बजारीकरणमा पनि सहज बनाउने रहेको भन्दै उहाँले स्थानीय सरकार र अन्य सम्बन्धित निकायसँग पनि सहयोग माग गरेका छन्। बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म फार्ममा रहने निखिलले आफू निरन्तर खटिएका कारण व्यवसायले सफलता पाउँदै गएको बताए। 

च्याउको बीउ उत्पादनको लागि सुरुमा गहुँ पकाउने, शुद्धीकरण गर्ने, मेसिनमा राख्ने, सेटिङ हुन्छ यसलाई १० देखि १५ दिन राखेपछि बीउ तयार हुन्छ । बीउ उत्पादनको लागि छुट्टै ल्याब हुन्छ । च्याउ उत्पादनका लागि सुरुमा पराल काट्ने, सफा गर्ने, ड्रममा पकाउने, २४ घण्टा सेलाउने, त्यसपछि पराल र बीउ मिसाउने, प्लास्टिकमा भर्ने, भरेपछि २० देखि २५ दिन राख्ने र पोका चिरेर पानी दिन थाल्ने त्यसपछि च्याउ उत्पादन सुरु हुन्छ । निखिलले फार्ममा गाउँमै पाइने बाँसको प्रयोग गरेर च्याउ उत्पादन गर्ने टनेल बनाएका छन्। 

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषि उद्यमीलाई सङ्गठित गरेर लैजाने र कृषि सहकारीमार्फत सजिलो गरिने बताएका छन्। उत्पादन तथा मागमा आधारित अनुदान दिने र कृषिमा ठोस कार्यक्रम ल्याउने उनले सुनाए। बजारीकरणको लागि ७५ वा ५० प्रतिशत अनुदानमा सवारी साधन उपलब्ध गराउने सम्बन्धमा पनि आफूहरु छलफलमा रहेको अध्यक्ष केसीको भनाइ छ ।