close

स्थानीय मिडियालाई बाहेक समाचार नदिने गाउँपालिकाको निर्णय

स्थानीय मिडियालाई बाहेक समाचार नदिने गाउँपालिकाको निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं– भनिन्छ, अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ । हो, ठ्याक्कै त्यस्तै भएको छ केही स्थानीय तहलाई ।

समाचार सङ्कलनको लागि मिडिया पालिकामा पुग्छन् । तपाईंसँगै कुराकानी गरेर समाचार लेखेको हुँ भन्दै बील पेस गर्छन् । भुक्तानी गरौँ त सीमित स्रोत भएका स्थानीय सरकारलाई समस्या । नगरौँ त फोन गरेर हैरान बनाउँछन् । 

यस्तै समस्याबाट खोटाङको जन्तेढुङ्गा गाउँपालिकाकी अध्यक्ष अरुणा देवी राई पीडित छिन् । उनलाई मिडियाले समाचार केही गडबड गर्छन् कि भन्दा पनि समाचार लेखेबापत कति रुपैयाँको बील आउँछ भन्ने डर छ । शुक्रबार पालिकाखबरले उनलाई पालिकाभित्रका गर्भवती र सुत्केरीहरूको बारेमा जानकारी लिन टेलिफोन सम्पर्क गर्दा उनले प्रश्न गरिन्, ‘कहाँ बसेर यो समाचार लेख्ने हो ?’

काठमाडौंमा रहेको पालिकाखबरबाट समाचारको लागि सम्पर्क गरिएको जानकारी गराइयो । उनले थपिन्, ‘ए लौ हाम्रो समाचार यहीँ लेख्छन् हौ, तपाईले त्यहाँ बसेर समाचार बनाउनुहुन्छ । अनि हामीलाई भुक्तानीमा समस्या हुन्छ । मैले त यहाँका भन्दा अन्तको स्थानीयलाई समाचार दिने गरेको पनि छैन ।’

पालिकाखबरले समाचारबापत पैसा लिँदैन भनेर प्रस्ट पार्दा उनले भनिन्, ‘तपाईहरूले बिल त पठाउनु हुन्छ नि त । हाम्रो गाउँपालिकाले निर्णय नै गरेको छ की अरूलाई समाचार पनि लेख्न नलगाउने । बील भुक्तानी पनि नगर्ने । स्थानीयहरूलाई मात्र दिने ।’

स्थानीयलाई मात्र दिने भनेर निर्णय गरेको र समाचारको लागि जानकारी दिएमा आफैलाई समस्या पर्न सक्ने भन्दै पालिकाखबरलाई केही जानकारी दिन नसक्ने उनले जिद्दी गरिन् ।  उनले भनिन्, ‘तपाईँसँगै सोधेर लेखेको थिएँ, भन्दै मिडियाहरू आफ्नो टेबलमा बिल भुक्तानीको लागि आएर हैरान बनाउँछन् । पछिल्लो एक वर्षमा यस्तो व्यवहारले आजित भएको छु ।’ 

उनले पालिकाखबरलाई अरू नै स्थानीय तहको समाचार लेख्न सुझाउँदै भनिन्, ‘हो तपाई पत्रकार हो । तपाईँको काम नै समाचार लेख्ने हो । तपाईहरू बाँच्नु नि पर्छ । बरु तपाईहरूले नजिकैको पालिकाको समाचार लेख्नुभयो भने राम्रो हुन्छ, होइन ?’

पालिकाखबरले स्थानीय तहको मात्र समाचार लेख्छ र समाचारबापतको भुक्तानी लिँदैन भनेर स्पष्ट पारेपछि उनी बल्ल समाचारका लागि सूचना दिन तयार भइन् ।