close

बाइसे चौबिसेदेखि स्थानीय तहसम्म जोडिएको ‘बारेकोट’

बाइसे चौबिसेदेखि स्थानीय तहसम्म जोडिएको ‘बारेकोट’

Trulli
ADVERTISEMENT

नेपालको एकीकरणअघि बाइसे-चौबिसे राज्यबेला जाजरकोटमा शासन गर्ने ठकुरीहरूले आज पनि राम नवमीको दिन मौला पूजा गर्छन् । कोट अर्थात डाँडा ती शासकमा प्रतिनिधि बस्ने ठाउँ हो । सबै डाँडालाई कोट भनिँदैनथ्यो । जुन डाँडामा हातहतियार राखिन्थ्यो । त्यसलाई कोट नामकरण गरियो । कोटमा राखिएका हतियारलाई बली दिइन्थ्यो । त्यो हतियारलाई बली दिइने पूजालाई मौला पूजा भनिन्छ ।  

संघीय संरचनाअनुसार स्थानीय तह लागू हुँदा पनि ती कोटको पहिचान अझै कायम राखिएको छ । १२ वटा कोटलाई समेटेर बारेकोट गाउँपालिका नामकरण गरिएको छ । राणा र पञ्चायती व्यवस्थामा कोटहरूको नामबाट स्थानीय निकायको नाम थिएन । तर संघीय संरचनापछि बनेको स्थानीय तहमा बाइसे चौबिसेकै नाम फर्काइएको बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरी पालिकाखबरसँग बताउँछन् । 

उपाध्यक्ष गिरीका अनुसार स्थानीय निकाय हुँदा रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गरी ४ वटा गाविस थियो । तर स्थानीय तह हुँदा बारेकोट नामकरण गरियो । बारेकोटले १२ वटा डाँडालाई समेटेको छ । 

अहिलेको बारेकोट गाउँपालिभित्र सुवाकोट धौलाकोट रतनकोट रानाकोट तलकोट चिमकोट¸ बदालकोट झाक्रीकोट सुथीकोट नयरकोट पाखाकोट रानीकोट गरी १२ वटा कोट छन् । यस गाउँपालिकालाई ९ वटा वडाहरूमा विभाजन गरिएको छ ।

उच्च पहाडी विशेषता बोकेको र डाँडानै डाँडाको गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिकाले जनाएको छ । 

मौला पर्व र एकीकरण

मौला पूजाको सुरुवात नेपालको एकीकरणअघि भएको मानिन्छ । अर्थात विसं १४५५ मा जाजरकोटका जगतिस सिंहले मौला पर्व सुरु गरेका हुन् । जुम्लेली राजा जम्पनलाई पराजित गरेदेखि सुरु भएको इतिहासमा उल्लेख छ । जितपछि हतियारलाई बली दिनुपर्ने भएकोले मौला पूजा सुरु भएको हो । प्रत्येक कोट कोटमा मौला खडा गरी बली दिइएको थियो । त्यसैले अहिले पनि ९ कोटमा ९ मौला पूजा गर्ने चलन छ । 

जाजरकोटे जगतिससिंहका सन्तान राजा हरि शाह र पृथ्वीनारायण शाह मनीकर्णीघाटमा भेट भई धर्मसन्धी भएको थियो । धर्मसन्धी भई पृथ्वीनारायण शाहलाई पश्चिम राज्य एकीकरण सहयोगका लागि विसं १८११ मा उनीहरूबीच सम्झौता भएको थियो । चाक्लाकोट विद्रोह गर्न राजा हरि शाहका छोरा गजेन्द्र नारायण स्वयम् लडाइमा गई चाक्लाकोटमाथि विजयी सुरुवात गरेका थिए । त्यतिबेला पनि जितपछि मौला पूजा गरी विजयोत्सव मनाइएको थियो । 

जाजरकोटे राजालाई मनमहाराजाको पदवी दिई तत्कालीन राजा रणबहादुर शाहले रुक्का पत्र पठाएका थिए । एकीकरण सकिए पनि २०१७ सालसम्म प्रधान, मुस्ताङ, जाजरकोट र सल्यानका ४ राजालाई विशेष सम्मानसहित शासन अधिकार राजाले दिएका थिए ।