close

चोक–चोकमा चटपट बेचेरै मनग्य आम्दानी

चोक–चोकमा चटपट बेचेरै मनग्य आम्दानी

Trulli
ADVERTISEMENT

सिन्धुली - स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । 'दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,' उनले भनिन् । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिएकी थिइन् ।    

जिल्लाको सदरमुकाम सिन्धुलीमाडी क्षेत्रका चोक–चोकमा व्यवसायी ठेलागाडामा चटपटेका सामान राखेर बिक्रीका गर्न बस्छन् । साथीहरुसँग भेटघाट हुँदा होस् वा दिउँसोको खाजा खाने समय तन्नेरी तामाङ त्यतै पुगिहाल्छिन् । उनीजस्तै चटपटे, पानीपुरी खाने ग्राहकको रहरलाग्दो उपस्थितिले व्यवसायीलाई जाँगरिलो बनाएको छ । ठेलागाडामा चटपटे, पानीपुरी मात्रै बेच्दै आएका व्यवसायी तथा व्यापारीले खाजाका ‘आइटम’ थप्दै गएछन् ।  

चटपटे, पानीपुरीसहित समोसा, जुलेवी, चनाभुजा, आलुचप, पकौडा, कचौडी एकै ठाउँमा राख्न थालेका छन् । ठेलागाडामा व्यवसाय गर्नेहरुले बनाएका खानेकुरा स्वादिष्ट हुने उपभोक्तामा छाप बस्दै गएको छ । जति नै प्रकारका खानेकुरा बोके पनि सबैभन्दा बढी बिक्ने पिरो, अमिलो जिब्रोमा च्वास्सै लाग्ने चटपटे र ट्वाक्क परेको पानीपुरी हो । यसको व्यापार सदाबहार हुने व्यवसायी समिरा सुब्बाले बताइन् ।

'चटपटे, पानीपुरी सबैले मन पराउँछन्। विशेषगरी दिउँसो खाजा खाने समय र विद्यार्थीहरुको विद्यालय छुट्टी भएपछि बनाएर दिन भ्याइनभ्याइ नै हुन्छ । विद्यार्थी, कर्मचारी, युवायुवती बढी आउँछन्,' उनले भनिन् ।

दुधौली नगरपालिका–११ पत्रिङ्गामा उनको घर छ । पाँच वर्षदेखि छोराछोरी पढाउन जिल्ला सदरमुकामस्थित मधुटारमा कोठाभाडामा लिएर बस्दै आएकी सुब्बाले आफ्नो कोठा नजिकै चटपटे व्यापार गर्न थालेकाे दुई वर्ष पुग्नै लाग्यो ।

एक छोरा र एक छोरीकी आमा सुब्बा कोठाको कामधन्दा सकाएर दिउँसो १२ बजे मात्रै व्यापार गर्न निस्कन्छन् । साँझ ६ बजेसम्म ठेलागाडामा चटपटे, पानीपुरी बेच्न खटिन्छन् । यसको व्यापार कम लगानीमा गर्न सकिने भएकाले जो कोहीले गर्न सक्ने उनको बुझाइ छ । उनले २५ हजारबाट व्यवसाय सुरु गरेका हुन् ।

'पन्ध्र महिनाअघि २० हजार ठेलागाडा र पाँच हजार चटपटे, पानीपुरीको सामानमा लगानी गरेर यो व्यवसाय सुरु गरेको थिएँ,' उनले भने, 'व्यापार, व्यवसायले हामीलाई आत्मानिर्भर बनाउने रहेछ । दुई वर्षदेखि रोजगारी नपाएर श्रीमान् घरैमा हुनुहुन्छ । चारजना परिवारको खर्च यसैको कमाईले टारिराखेको छु ।' 

३० हजारको लगानीमा सुरु भएको चटपटे व्यवसायबाट मासिक ४० हजार बचत हुने मुकेश चौधरीले बताए । पढाइमा ५ कक्षा उत्तीर्ण नगर्नु भएका चौधरीले सिन्धुलीमाडी बजारमा चटपटे व्यापार गरेरै १५ वर्ष बिताइसकेका छन् । रु २० हजारको ठेलागाडामा चटपटे, पानीपुरीको सामान, पकौडा, आलुचप, चनासहितको खाजासेट तयार गर्न ग्यास चुलो राखिएको हुन्छ । सोही ठेलागाडा ठेल्दै उनी मधुटारदेखि लोकतान्त्रिचोक, १ नं बजार, गैरीबजार हुँदै २ नं बजारसम्म पुग्छन् । बजारमा कपडा, खाद्यान्न, तरकारी, भाँडाकुँडालगायत व्यापार गर्न बसेका अधिकांश व्यापारी उनको ठेलामा तयार भएका खानेकुरा खान रुचाउँछन् ।

दिउँसोको खाजा खाने समयमा जीवन सँगिनी रानीदेवी चौधरी र उनलाई धौधौ नै पर्छ । रानीदेवीका अनुसार उनकामा दैनिक ५० देखि एक सयजना बढी खाजा खाने ग्राहक हुन्छन् । ठेलागाडामा गरेको व्यवसाय भए पनि सफा, स्वादिष्ट र गुणस्तर हुने भएकाले सबैको रोजाइमा परेको उनको बुझाइ छ । 'चटपटे, पानीपुरी स्वादिष्ट बनाउन सबै मरमसलाको मात्रा मिलाउन सक्नुपर्छ । गेडागुडी, काँक्रो, बन्दाकोभी, आलुचप, कचेडी, टमाटर, प्याज, चाउचाउ, दालमोट लगायतका कुरा भुजामा मिसाएर हेर्दै खाउँ–खाउँ लाग्ने बनाउनुपर्छ,' व्यवसायी रानीदेवीले भने, ।

व्यापार, व्यवसाय गर्नेहरुले आफ्ना सेवाग्राहीलाई माया गर्न जरुरी रहेको व्यवसायी मुकेशको बुझाइ छ । त्यसैले आफ्नो पसलको नाम ‘लभ्ली चटपटे, पानीपुरी पसल’ राखेको उनले बताए । यस पसलले चौधरी दम्पती स्वरोजगार मात्रै भएका छैनन्, आम्दानीबाट सिन्धुलीमाडीको धुराफाँटमा सात धुर घडेरी जोडिसकेका छन् । महोत्तरीमा दुई धुर घडेरी किनेर एकतले पक्का घर बनाइसकेको चौधरी दम्पती बताउँछन् । तीन छोरा र एक छोरीको पढाइ खर्चसहितका सबै खर्च यसैबाट चलेको छ । बाहिरी जिल्लाबाट सिन्धुली आएर चटपटे, पानीपुरी मात्रै व्यापार गरेर आफ्ना सन्तानलाई बोडिङमा पढाउनेलगायतका सबै खर्च टारेर घरजग्गा जोड्ने चौधरी दम्पती त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता उदाहरण जिल्लामा अरू पनि थुप्रै छन् । 

पच्चिसवर्षे रवि शाहले चटपटे, पानीपुरी व्यापारमा आफ्नो वर्तमानमात्र नभएर भविष्य पनि देखेका छन् । बाजे र बुबाले गर्नुभएको पेसालाई उनले निरन्तरता दिएका हुन् । १० जना परिवारको जीविका यही व्यापार, व्यवसायबाट चलेको उनले बताइन् । 'जागिर गर्दा अरूको चाहनामा चल्नुपर्छ । आफ्नो व्यापार, व्यवसायको आफैँ मालिक हो । कसैको दबाबमा काम गर्नु पर्दैन । आफ्नो इच्छा, चाहना र खुसीअनुसार मन लागेको गर्न पाइन्छ । यसमा स्वतन्त्रता हुन्छ, स्वाभिमानसहितको सम्मानित जीवन बिताउन पाइन्छ,' युवा व्यवसायी शाहले सुनाइन्। 

उनका अनुसार सिन्धुलीमाडीमा चट्पटेको व्यापार सुरु गर्ने पहिलो व्यवसायी आफ्ना हजुरबा लक्ष्मण र बुबा महन्त शाह हुन् । २०३२ सालमा उनीहरुले सुरु गरेकाे व्यवसायलाई छोरा नातिले समेत पछ्याउँदै आएका छन् । व्यवसायबाट बाबु–बाजेले सबै परिवारको खर्च टारेर घरजग्गा लगायतका सम्पति जोड्न सफल भएकाले आफूहरुले पनि यसैमा भविष्य देखेको युवा व्यवसायी शाहको भनाइ छ । 

तीस वर्षदेखि सिन्धुलीमाडीमा चटपटे बेच्दै आएकी सीतादेवी ठाकुर र कमला चौधरी पछिल्लो समय चटपटे, पानीपुरी व्यापार, व्यवसायमा समस्या, चुनौती थपिएका धारणा राख्छन् । सामान महँगिएकाले व्यापारबाट पहिलाजस्तो आम्दानी लिन नसकेको, व्यापारी र व्यवसायी बढेकाले एकअर्कामा प्रतिस्पर्धा हुने गरेको, सेवाग्राहीहरु मीठो, सस्तो, गुणस्तर खोज्ने र बजारमा प्रतिस्पर्धा गरेर बेच्नु परेकाले पहिलाको भन्दा आम्दानी घटेको उनले बताइन् । 

बजार क्षेत्रमा ठेलागाडामा चटपटे, पानीपुरी व्यापार गर्ने व्यवसायीहरुलाई नगरपालिकाले विभिन्न बहानामा दुःख दिने गरेकोसमेत उनले गुनासो गरिन् । सानो लगानीमा सुरु गर्न सकिने र खाजाका रुपमा अधिकांश व्यक्तिको रोजाइमा पर्ने पिरो, अमिलो चटपटे, पानीपुरी व्यवसाय जिल्लामा फस्टाउँदै गएको छ । सिन्धुलीको सिन्धुलीमाडी, खुर्कोट, ढुङ्ग्रेवास, चियाबारी, नयाँखर्क, मूलकोट, डकाहा, दुधौली, मरिणलगायत जिल्लाभरका मुख्य–मुख्य चोकमा चटपटे, पानीपुरीको व्यापार बढेको छ । यसबाट व्यवसायीले आकर्षक आम्दानीसमेत दिँदै आएका छन् ।