close

पेट घटाउन बिहान हिडेका अनिलले भेटेको ‘देश पाल्ने’ अजोधिको कथा

पेट घटाउन बिहान हिडेका अनिलले भेटेको ‘देश पाल्ने’ अजोधिको कथा

Trulli
ADVERTISEMENT

धनुषा- उमेरले चार दशक पुगेका मिथिला बिहारी नगरपालिका-७ तारापट्टिका अजोधी साह करिब एक दशकअघि रोजगारीका लागि साउदी अरबिया पुगे । उनले साउदी अरबियाको ९ वर्षकाे बसाइमा भेडा र उँट चराउने काम गर्थे । सामान्य परिवारका उनले अरब बसाइको अन्तिम पाँच महिनामा त लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गरेको स्मरण गर्छन् । 

साहुले दिएको दूध बेच्ने उनी राम्रो आम्दानीकै लागि थप दूध बजारबाट किनेर आफैँ बेच्ने थालेका थिए । आफैँले दूध किनेर बेच्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ । तर कमाइ राम्रो हुन थालेपछि साथीहरूले साहुलाई कुरा सुनाएको उनी स्मरण गर्छन् । 'साथीले साहुलाई सुनाएछ । साहुले मलाई कामबाट निकाले,' उनले भने, 'सोही कारणले म अरब छोडेर नेपाल आउन बाध्य भएँ ।' 

अरबबाट लखेटिएका स्वदेशमै केही गर्ने अठोटसहित उनले आफ्नै गाउँमा सामान्य खाजा पसल सञ्चालनमा ल्याए । उनले खाजा पसलमा समोसा, मिठाइसँगै झिल्लीकचरी र फोफीसमेत बनाएर बेच्न थाले । सो क्षेत्रमा आइतबार र बुधवार बजार लाग्ने भएकाले कमाइ राम्रो भएको उनी बताउँछन् । 

कमाई राम्रो भए पनि साेचे अनुरूप आम्दानी नभएपछि उनीसँग विदेश जाने हुटहुटी अझै बाकी थियो । विदेश जानकै लागि परिवारलाई थाहै नदिई उनले म्यानपावरलाई पासपोर्ट बुझाए ।  'घरपरिवारसँग सल्लाह नगरी साउदी जान म्यानपावर एजेन्टलाई पासपोर्ट बुझाए,' उनले भने, 'तर, घरका सदस्यहरूले टोल छिमेकबाट थाहा पाउनु भएछ  र मलाई विदेश जानबाट रोक्नुभयो ।'

दुई छोरा र दुई छोरीसहित उनी हाल गाउँमै पसल नै चलाइरहेका छन् । पसलबाट कमाइ राम्रो भए पनि नजोगिने अनुभव उनको छ । 'यहाँ जतिसुकै कमाए नि हातमा पैसो रहँदैन । खानपिन, बालबच्चाको पढाइलेखाइ र लत्ताकपडामा सिद्धिन्छ,' उनले भने, 'विदेशबाट एकमुस्ट रकम पठाइन्थ्यो । त्यो यहाँ सम्भव नै छैन ।'

विदेशमा रहँदा पैसा जोगाउने मात्रै ध्यान हुने भए पनि नेपालमा बचत भएको पैसा समेत खर्च हुने उनको अनुभव छ । 'साउदीमा त सुपारी र खैनी पनि हिसाबले खान्थेँ,' उनले भने ।  विदेश राम्रो कमाउँदा भएकाले छ धुर जग्गा किनेर गाउँमा छ कोठाको एकतले घर बनाएको उनी बताउँछन् ।

दुई छोरा भएकाले दुई वटा भर्‍याङसहितको घर बनाएको उनी सुनाउँछन् । 'छोरा कुनै दिन छुट्टिन खोजे भने कचिङ्गल नहोस् भनेर त्यसरी घर बनाउन लगाएका हुँ,' उनले भने, 'दाजुभाइ अलग हुने बेलामा कुटाकुट नै हुन्छ । घर भत्काउनुपर्छ । त्यसैले मैले घर बनाउने बेलामै बुद्धि पुर्‍याएँ ।'

उनका जेठा छोरा सिराहाको एउटा विद्यालयमा भेटेनरी पढ्दैछन् । दुई छोरी ९ कक्षा र एक छोरा एलकेजीमा पढ्दै गरेको उनी सुनाउँछन् । बालबच्चाको शिक्षा र बिहाबारीको लागि आफू बिदेसिन बाध्य भएको उनी सुनाउँछन् । 

९ वर्षसम्म खाडीमा रगतपसिना बगाएर कुनै बेला 'देशको अर्थतन्त्र' धानेका अजोधीहरूलाई पसल ठूलो पार्न पुँजीको खाँचो छ । तर, त्यो पुँजी खोज्न उनले सक्दैनन् । सरकारले दिँदैन भन्नेमा उनको मनमा दुबिधा छैन । सरकारले दिने सुबिस्ता लिन कागजपत्र मिलाउन नआउँदा त्यस्ता खालका सरकारी सुविधाबाट वञ्चित हुनु परिरहेको उनको भनाइ छ ।

वैदेशिक रोजगारबाट फर्केकाहरूका लागि उद्यम गर्न र व्यवसाय प्रवर्द्धन गर्न बजेट तीन वटै तहका सरकारले विनियोजन गरेका हुन्छन् । तर कागज तयार पार्न नसक्दा अजोधीहरूको पहुँच हुँदैन ।