close

एउटै पालिकामा साढे ५ वर्ष काम गरेर अवकास रोजेका कार्की भन्छन्, "... कारणले जनप्रतिनिधि र कर्मचारीको कुरा मिल्दैन"

एउटै पालिकामा साढे ५ वर्ष काम गरेर अवकास रोजेका कार्की भन्छन्, "... कारणले जनप्रतिनिधि र कर्मचारीको कुरा मिल्दैन"

Trulli
ADVERTISEMENT

काठमाडौं- करिब ३५ वर्ष लामो निजामति सेवापछि कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले स्वेच्छिक अवकास लिएका छन् । एउटै गाउँपालिका(बर्दगोरिया)मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ५ वर्ष ७ महिना काम गरेर उनले अवकास लिएका हुन् । 

बैतडीको दशरथचन्द नगरपालिका-७ सुकुटीमा जन्मिएर कञ्चनपुरको भिमदत्त नगरपालिका-३ का स्थायी बासिन्दा कार्कीले २०४५ साल जेठ २१ गतेबाट खरिदारको रुपमा निजामति सेवामा प्रवेश गरेका हुन् । 

क्षेत्रीय अदालत दिपायलमा नियुक्ति लिएर निजामती सेवा सुरु गरेका कार्कीसँग स्थानीय तहमै पनि विभिन्न पालिकामा हाकिम भएर उनले काम गरेको अनुभव छ । उनले वेदकोट गाविस हुँदै दशरथचन्द नगरपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, भजनी नगरपालिकामा काम गरेको उनको करिब साढे ३ दशक लामो अनुभव छ । २०७० सालदेखि हालसम्म उनले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरे । 

स्थानीय तहमध्ये बर्दगोरिया गाउँपालिकामा उनले सबैभन्दा लामो समय काम गरे । २०७५ सालको बैसाख १३ गतेदेखि बर्दगोरियामा हाजिर भएर भूतपूर्व र वर्तमान जनप्रतिनिधिसँग मिलेर विकास निर्माण र अन्य क्षेत्रमा राम्रो काम गर्न सकेको उनी बताउँछन् । 

उनले भने, ‘उहाँहरू मिल्छ भने अझै बस्नुस् भन्दै हुनुहुन्थ्यो । सबैले शुभकामना व्यक्त गरेको र सद्भावना राखेर बिदा गर्नुभयो ।’

स्थानीय तहमा जनप्रतिनिधिको अभावमा पनि नगरप्रमुखको भूमिका निर्वाह गरेर काम गरेको अनुभव छ उनीसँग । ‘सर्वदलीय संयन्त्रसँग काम गर्दा पनि सबैको विश्वास र मन जित्न सफल भएको छु,’ उनले भने । 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि काम गर्न सहज भएको उनले बताए । जनप्रतिनिधि हुँदा पालिकामा विकास र बजेट पनि बढेको उनले सुनाए । आ-आफ्नो क्षेत्रको विकासको लागि निरन्तर रुपमा खटिएर जनप्रतिनिधिले काम गरेको उनको भनाइ छ । 

स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले आफ्नो कामलाई मात्र प्राथमिकतामा राख्दा विकासका कामलाई वास्तविक र सम्बन्धित ठाउँमा विकास गर्न नसकेको उनको अनुभव छ । ‘सर्वदलीयको खिचातानी र सोचेजस्तो विकास निर्माणका काम नुहुने अवस्था थियो । जनप्रतिनिधिले गाउँ टोलमा आवश्यक योजनाको छनौट गरेर कार्यान्वयन गरेका छन् । कर्मचारीलाई पनि काम गन सहज र काम पनि नियमसंगत तरिकाबाट भएका छन्,’ उनले भने । 

तर जनप्रतिनिधि आएपछि कर्मचारी र जनप्रतिनिधिबीच कुरा नमिल्दा समस्या भएको उनले सुनाए ।  उनले भने ‘जनप्रतिनिधि जनतामुखि हुने भएकाले जनताका आवश्यकतालाई बढी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव उहाँहरूको हुन्छ । कर्मचारीको काम भनेको यी काम कानुनको दायराभन्दा बाहिर छन् । यी काम गर्दा भविष्यमा झमेला आइलाग्छ र कामलाई यसरी गर्ने भनेर मार्गनिर्देशन गर्नु हो ।’ प्रमुख प्रशासकीय अधिकृतले कानुनलाई प्राथमितामा राख्नुपर्ने भएकाले जनप्रतिनिधिसँग छलफल गर्न केही गाह्रो भए पनि असहज वातावरण भने भोग्नु नपरेको उनले सुनाए । 

जनप्रतिनिधिलाई कानुन बुझाउनु अलि गाह्रो काम रहेको उनको अनुभव छ । ‘तालिम, अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दा अहिले त जनप्रतिनिधिहरू पनि धेरै कुरा बुझ्न थाल्नुभएको छ ।’ उनले भने । 

गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण गर्ने अधिराज्यकै पहिलो गाउँपालिका बर्दगोरिया गाउँपालिकालाई बनाउन सकेको अनुभव सुनाउँदै सो काम प्रमुख प्रशासकीय अधिकृतको आफूले गरेको एक महत्त्वपूर्ण काम रहेको उनले बताए । पालिकामा आधारभूत स्वास्थ्य संस्था निर्माण, कक्षा १ देखि १० सम्म निशुल्क शिक्षा लागु, गाउँपालिका शिक्षक नियुक्त, प्रत्येक वडामा अनलाइनमार्फत सम्पत्ति कर तिर्न सक्ने व्यवस्था आदि काम बर्दगोरियाका लागि उनले गरेका मुख्य काम हुन् । 

आफू अब पालिकाको हाकिम नभए पनि बर्दगोरियाको प्रत्येक घरमा खानेपानी पुर्‍याउन योजना सुरु भएको र सो पूरा भएको हेर्ने चाहना उनको छ । ‘वातावरणमैत्री र अपांगमैत्री गाउँपालिकाका साथै नमुना गाउँपालिका बनाउने सोच थियो । त्यसलाई अबका दिनमा जनप्रतिनिधि र पछि आउने कर्मचारी मिलेर पूरा गर्नुहुन्छ भन्ने आशा छ,’ उनले पालिकाखबरसँग भने, ‘यो कुरा मेरो बिदाइको क्रममा अन्तिम मन्तव्यमा पनि व्यक्त गरेँ ।’

प्रमुख प्रशासकीय अधिकृतमा हुनैपर्ने महत्त्वपूर्ण गुण भनेको कुशल प्रशासक रहेको उनले सुनाए । स्थानीय स्तरको कुरा राम्रोसँग बुझेको, कानुनको विषयमा जानकार र कन्भिन्स गर्न सक्ने क्षमता एउटा कुशल प्रमुख प्रशासकीय अधिकृतमा आवश्यक रहेको उनले बताए ।

‘अर्थसँग जोडिएका र विकाससँग जोडिएका सबै काम प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने भएकाले चौतर्फी ज्ञान भएको प्रमुख प्रशासकीय अधिकृत र दक्ष कर्मचारी भए स्थानीय तहको विकास तीब्र हुनसक्छ,’ सोको लागि जनप्रतिनिधिहरूको साथ र सहयोग अत्यन्त आवश्यक रहने उनले बताए । कर्मचारी र जनप्रतिनिधि मिलेर काम गर्दा जुनसुकै स्थानीय तहले विकासमा फड्को मार्न सक्ने विश्वास उनको छ । 

हाकिमको काम प्रशासन हेर्नेमात्र नभई जनप्रतिनिधिलाई सहयोग गर्ने पनि रहेको उनी बताउँछन् । ‘जनप्रतिनिधिहरू भर्खरै निर्वाचित भएर आएको बेलामा उनीहरूलाई नियम, कानुन, मापदण्ड, सिलिङका विषयमा थाहा हुँदैन । उनीहरूलाई बुझाउनुपर्ने हुन्छ । पटकपटक कार्यपालिकाको बैठक बस्नुपर्ने गाउँसभामा विभिन्न किसिमका छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने । यस्तो बेलामा बिहानदेखि बेलुकासम्म बस्नुपर्ने भएकाले आफ्नो  अधिकतम समय कार्यालयमा नै बित्ने गरेको उनले सुनाए । 

अधिकतम समय कार्यालयमा बित्दा परिवारलाई समय दिन नसकेको उनी बताउँछन् । घरबाट पालिका टाढा रहेकाले घरका परिवारसँग समय बिताउन अवकासको समयभन्दा अघि नै स्वच्छिक अवकास लिएको उनले बताए । ‘कार्यालयमा जिम्मेवार भएपछि अफिसमै समय दिन सक्नुपर्‍यो । घरमा बसियो भने स्थानीय नागरिकको काम रोकिनसक्छ ।’ 

स्थानीयले केही काम रोकिएमा गाउँगाउँमा आएको सिंहदरबारको महशुस गर्न नसकिएको भनेर खबरदारी गरिराख्ने भएकाले कामप्रति जिम्मेवार थप महसुस भएको उनले सुनाए । ‘शनिबारको दिन पनि आकस्मिक सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । बिरामी परेर इमर्जेन्सी अवस्था आएको छ भने उनीहरूलाई स्थानीय सरकारबाट सिफारिस उपलब्ध गराउनुपर्यो । आनन्दको छुट्टी लिन मिल्दैन,’ उनले भने । परिवार टाढा भएकाले घर र जागिरको व्यवस्थापन गर्न गाह्रो भएकाले अवकाशको समयभन्दा केही अघि नै अवकाश लिएको उनको भनाइ छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराउँछ । कर्मचारी र जनप्रतिनिधिको मेल नहुँदा पनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा छोटो समयमा नै धेरै हुने गरेको उनले बताए । 

आफूले जनप्रतिनिधिलाई प्रत्येक काममा सक्रिय सहभागी गराएको उनले बताए । कार्यपालिका बैठकका निर्णयहरू, बजेटका कुरा, विकासका कुराहरू, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षणजस्ता कुराहरूमा पारदर्शी रुपले सार्वजनिक गर्दा जनप्रतिनिधिले पनि विरोध गर्ने ठाउँ नपाएको उनले सुनाए । 

आफ्ना कमी कमजोरीलाई स्वीकार गरेर सुधार गर्दै जाँदा कानुनलाई बुझेको र कानुनको पालना गर्ने प्रमुख प्रशासकीय अधिकृतको रुपमा सबै जनप्रतिनिधिले विश्वास गरेको उनले बताए । फरक राजनीतिक दलका दुई कार्यकालका जनप्रतिनिधिसँग काम गर्न सहज भएको उनले बताए । पारदर्शीता र कन्भिन्स गर्नसक्ने क्षमताका कारण नै बर्दगोरिया गाउँपालिकामा लामो समय काम गर्न सकेको उनी बताउँछन् । 

जागिरे जीवनबाट अवकास भएर जाँदै गर्दा आफूले लामो समय काम गरेको बर्दगोरिया गाउँपालिकाको थप प्रगति हेर्ने रहर उनको छ । पूर्वपश्चिम राजमार्गको बीचमा पर्ने, भौगोलिक स्थिति र अन्य सबै कुराले मिलेको स्थान भएकाले नमुना गाउँपालिका बनाउन सजिलो रहेको उनले बताए । बर्दगोरियालाई नमुना गाउँपालिकाको रुपमा देख्न सबै बर्दगोरिया बासीलाई उनको अनुरोध छ । जनप्रतिनिधिले अहिलेसम्म गरिरहेको कामलाई अझै सुधार गरेर थप राम्रो काम गर्ने विश्वास उनले राखेका छन् ।