close

सार्वजनिक सुनुवाई होस् त रामप्रसाद राईको जस्तो- शुक्रबार सुनुवाई, आइतबारै कार्यान्वयन

स्थानीयको सुझाव आउने बित्तिकै खुल्याे शिक्षक सेवा आयाेगकाे तयारी कक्षा

सार्वजनिक सुनुवाई होस् त रामप्रसाद राईको जस्तो- शुक्रबार सुनुवाई, आइतबारै कार्यान्वयन

स्थानीयको सुझाव आउने बित्तिकै खुल्याे शिक्षक सेवा आयाेगकाे तयारी कक्षा

Trulli
ADVERTISEMENT

भोजपुर - रामप्रसादराई गाउँपालिकाले गत शुक्रबार गरेको सार्वजनिक सुनुवाईमा केही स्थानीय बासिन्दाले लोक सेवा तथा शिक्षक सेवाको कक्षा सञ्चालन गर्न सुझाव दिएका थिए । सुझावको प्रतिक्रियासहित गाउँपालिका अध्यक्ष थामबहादुर राईले लोक सेवा र शिक्षक सेवाको लागि केही दिनमै सूचना जारी गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । 

सोही प्रतिबद्धता स्वरुप गाउँपालिकाले आइतबार लोक सेवा र शिक्षक सेवा आयोगका लागि सूचना जारी गरेको छ । कक्षा १२ उत्तीर्ण गरेका स्थानीय बासिन्दालाई लक्षित गरी करिब १५ दिन तयारी कक्षा सञ्चालन गरिने सो सूचनामा उल्लेख गरेको छ । 

सार्वजनिक सुनुवाई पछि सूचना जारी गरे पनि गाउँपालिकाले सोका लागि आवश्यक तयारी गरिरहेको पालिकाका अध्यक्ष राईले पालिकाखबरलाई सुनाए । गाउँपालिकाले नीति तथा कार्यक्रममा लोक सेवा तथा शिक्षक सेवा आयोगको कक्षाको लागि बजेट विनियोजन गरे पनि कार्य व्यस्तताले ढिलो सूचना प्रकासन भएको उनको भनाइ छ । 

सार्वजनिक सुनुवाईमा आएको गुनासो तथा सुझावलाई मार्ग निर्देशनको रुपमा कार्यान्वयनमा लैजाने उनको भनाइ छ । तर सार्वजनिक सुनुवाईमा करिब तीन सय पचास जना स्थानीय बासिन्दाको सहभागिता रहे पनि खासै गुनासो र सुझाव नरहेको उनको भनाइ छ । 

'निर्वाचनको समयमा जारी गरेको घोषणापत्र अनुरुप हामीले काम गर्दै आएका छौँ । सोही घोषणापत्र भएकाले पनि खासै प्रश्न र सुझाव नआएको होला,' उनले पालिकाखबरसँग भने । 

सार्वजनिक सुनुवाई करिब ४/५ जना सहभागीले मात्रै गुनासो गरेको उनको भनाइ छ । सहभागीले पालिकाको शैक्षिक गुणस्तरीयता बढाउन, यातायातको सुविधा, भौतिक पूर्वाधारको निर्माणलगायत विभिन्न विषयमा गुनासो गरेको उनले सुनाए । साथै सार्वजनिक सुनुवाईमा ३ जना वडाध्यक्षको अनुपस्थित भएकाले सोबारे पनि स्थानीयले प्रश्न सोधेको उनले सुनाए । 

स्थानीय बासिन्दाले सोधेको प्रश्नमा आफूले उत्तर दिएको उनले बताए । गाउँपालिकाले चालु आवमा शिक्षा, स्वास्थ्य, सुशासन, कृषि तथा पालिकाले जारी गर्दै सेवाबारे स्वेतपत्र कार्यक्रममा सहभागी भएका स्थानीयलाई वितरण गरेको उनको भनाइ छ । 

सार्वजनिक सुनुवाइमा धेरै प्रश्न र गुनासो नआएकोले आफूहरुले गरेको कामप्रति स्थानीय बासिन्दा सन्तुष्ट नै भएको महसुस आफूले गरेको उनले बताए । तर हालसम्म आफूहरुले गरेको कामको मूल्यांकन नगरेको उनले सुनाए । 

उनका अनुसार गाउँपालिकाले चालु आवमा विनियोजित कार्यक्रममध्ये भौतिक पूर्वाधारमा करिब २७ प्रतिशत योजना सम्पन्न भइसकेको छ । कतिपय योजना सञ्चालनमा रहेको उनले सुनाए । 

चालु आवमा तीन पटक सार्वजनिक सुनुवाई गर्ने योजना बनाएको उनको भनाइ छ । 'पहिलो सार्वजनिक सुनुवाई वडा नम्बर ३ भुल्केमा सम्पन्न भयो । दोस्रो सार्वजनिक सुनुवाई आगामी चैतमा वडा नम्बर ७ बासीखोलामा गरिने छ,' उनले भने, 'तेस्रो सार्वजनिक सुनुवाई गाउँपालिकाको कार्यपालिका भवनबाट असारमा गर्ने छौँ ।' 

शुक्रबार वडा नम्बर १, २, ३ र ४ का स्थानीय बासिन्दाको बढी सहभागिता रहेको उनले बताए । अन्य वडालाई लक्षित गरी थप दुई सार्वजनिक सुनुवाई गरिने उनको भनाइ छ ।