close

उपत्यकामा मात्रै ६ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित 

उपत्यकामा मात्रै ६ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित 

Trulli
ADVERTISEMENT

काठमाडौँ -  कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । देशभर कोभिड–१९ को संक्रमित बढिरहेको बेला उपत्यकामा अग्रपंतिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको छ ।

 

संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिन थालेको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

 

स्वास्थ्यकर्मी संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६ सयभन्दा बढीमा संक्रमण देखिएको छ । उनले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्र्याट ट्रेसिङमा अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी बढी संक्रमित भएको बताए । 

 

उपत्यकामा अहिलेसम्म १५ हजार १ सय ३८ जना संक्रमित भइसकेका छन् । शुक्रबार मात्रै ८ सय ५९ जना संक्रमित थपिएका थिए । सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासका अनुसार शिक्षण अस्पताला १ सय ५० भन्दा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

 

तीमध्ये २१ चिकित्सक, अधिकांश नर्स र वार्ड सहयोग रहेका छन् । उनले संक्रमितमध्ये धेरै निको भएर घर फर्किसकेको जानकारी दिए  । अहिले उक्त अस्पतालमा २७ जनामात्र स्वास्थ्यकर्मी सक्रिय संक्रमित छन् ।

 

यसै वीर अस्पतालमा १ सय १५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । वीरका कार्यकारी निर्देशक डा केदार सेञ्चुरीका अनुसार तीमध्ये २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेका छन् । संक्रमितमध्ये २५ प्रतिशत निको भएर काम गर्न आइसकेको उनले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा संक्रमण देखिएको छ । तीमध्ये दुई चिकित्सक र अन्य नर्स रहेका छन् ।

 

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले दुई चिकित्सक र एकजना नर्सको निको भइसकेको र अन्य पाँचजना होम आइसोलेसनमा रहेको जानकारी दिए । अहिले मुलुकभरि ६१ हजार ५ सय ९३ जनामा संक्रमण देखिएको छ भने ४३ हजार ८२० जना संक्रमण निको भएर घर फर्किसकेका र ३ सय ९० जनाको संक्रमणबाट निधन भएको छ ।