close

नगर अस्पताल बनाउदै वीरेन्द्रनगर

नगर अस्पताल बनाउदै वीरेन्द्रनगर

Trulli
ADVERTISEMENT

सुर्खेत - कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल बनाउन लागेको छ । वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीलाई नगर अस्पताल सञ्चालनका लागि तयारी गरिएको छ । 


नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार कटकुवा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको हो । लामो समयदेखि सुर्खेत जिल्ला अस्पताल सञ्चालन गरिएकामा पछिल्लो समय स्वास्थ्य चौकीका रुपमा सञ्चालन हुँदै आएको थियो । 


सुर्खेत जिल्ला अस्पतालको स्तरवृद्धि भएर तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्तरवृद्धि भएपछि उक्त स्थानमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रदेश सरकार स्थापना भएपछि प्रदेश अस्पतालका रुपमा संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । 


प्रदेश राजधानी भएको नगरपालिकामा हाल कोरोनाका बिरामीहरु बढ्न थालेपछि तत्काल कोरोनाका बिरामीहरुको व्यवस्थापन गर्न आइसोलेसनका रुपमा प्रयोग गर्ने र दीर्घकालीन रुपमा पाँचदेखि १५ शय्याको नगर अस्पताल बनाएर सञ्चालन गरिने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । 


वीरेन्द्रनगरको सिटी बसपार्कमा सञ्चालित आइसोलेसनलाई सारेर कटकुवा स्वास्थ्य चौकीमा आइसोलेसन राख्ने तयारी भएको उपप्रमुख ढकालले बताइन्  । उनका अनुसार नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई कोभिड केन्द्रित गरेर तत्काल ४० शय्याको आइसोलेसन अस्पताल बनाउनेछ । 


कटकुवा स्वास्थ्य चौकीको भवन निर्माणको काम सकिएकाले बसपार्कमा बनाएको आइसोलेसनलाई सारेर कटकुवामै आइसोलेसन अस्पताल सञ्चालन गरिने छ । बिरामीको चाप बढेपछि नगरपालिकाले वीरेन्द्रनगरको सिटी बसपार्कमा अस्थायी आइसोलेसन बनाएको थियो । 


नयाँ बसपार्कमा चलिरहेको कोरोना संक्रमित राख्ने आइसोलेसन अस्पताललाई कटकुवा सारेर तत्काल कोरोना अस्पताल बनाउने र कोरोना नियन्त्रणपछि नगर अस्पतालका रुपमा पूर्वाधार विकास गरिने नगरपालिकाले जनाएको छ । सिटी बसपार्कको आइसोलेसनलाई कटकुवा सारेपछि मंगलगढीमा रहेको अस्थायी बसपार्कलाई सिटी बसपार्कमा सारेर सञ्चालन गर्ने नगरपालिकाले तयारी गरेको छ ।