close

हलेसी तुवाचुङले कोरोना अस्पताल बनाउने 

हलेसी तुवाचुङले कोरोना अस्पताल बनाउने 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोभिड–१९ सम्वन्धी अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । 

 

कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा संक्रमितलाई अलग्गै राखेर उपचार गर्ने व्यवस्थाका लागि नगरपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको हो । 

 

अस्थायी कोभिड–१९ अस्पतालका लागि आवश्यक जनशक्तिका लागि बुधबार १५ दिने विज्ञापन आव्हान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । यातायात सेवा सुचारु भएको तथा दशैंतिहार जस्ता चाडवाड नजिकिदै गर्दा गाउँघरमा हुने बाक्लो आउजाउले समुदायस्तरमा कोरोना संक्रमण दर फैलने खतरा बढिरहेका बेला नगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । 

 

अस्थायी कोभिड अस्पताल स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नगरपालिकालाई १० लाख उपलव्ध गराएको छ । अपुग रकम नगरपालिकाले बेहोर्ने जनाइएको छ । 

 

तर अस्थायी कोभिड अस्पताललाई दुर्छिम वा हलेसीमा राख्ने भन्ने विषय टुंगो लाग्न बाँकी छ । अस्थायी अस्पताल राख्ने स्थानको निर्णय नगरकार्यपालिकाको बैठकले गर्ने नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । 

 

कोरोनाबाट संक्रमितलाई आफ्नै पालिकाका उपचार गर्ने व्यवस्थाका लागि नगरपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको हो । अस्थायी अस्पतालमा एक जना एमबिबिएस डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्तिका लागि विज्ञापन आव्हान गरिएको नगरपालिकाले जनाएको छ । 

 

कोभिड–१९ को महामारीलाई लक्ष्यीत गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी थालिसकेको छ ।