close

स्वास्थ्य चौकीलाई कोरोना अस्पताल बनाउँदै मानेभञ्ज्याङ

स्वास्थ्य चौकीलाई कोरोना अस्पताल बनाउँदै मानेभञ्ज्याङ

Trulli
ADVERTISEMENT

ओखलढुंगा– मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना अस्पताल स्थापनाको तयारी थालेको छ । संघीय सरकारले प्रत्येक पालिकामा अस्पताल निर्माण गर्न बजेट र कार्यविधि पठाएपछि अस्पताल स्थापनाको तयारी थालिएको हो । 

गाउँपालिकाले साविकको मानेभञ्ज्याङ गाउँपालिकाको केन्द्रमा रहेको स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले जानकारी दिए । स्वास्थ्य चौकीको भवन व्यवस्थित र सुविधा सम्पन्न भएकाले त्यही व्यवस्थापन गर्ने तयारी गरिएको उनको भनाइ छ । 

प्रत्येक स्थानीय तहलाई संघीय सरकारले पाँच बेडको कोभिड अस्पताल स्थापनाका लागि १० लाखका दरले बजेट र निर्देशिका समेत पठाएको छ । नपुग रकम भने तत्कालका लागि स्थानीय तहले व्यवस्थापन गर्ने निर्देशिकामा उल्लेख छ । 

‘अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीका लागि विज्ञापन गरिसकिएको छ’ प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले भने, ‘अन्य व्यवस्थापनको काम समेत सकेर चाँडै अस्पताल सञ्चालनमा आउने अपेक्षा छ ।’ कोरोना अस्पताल स्थापनाका लागि काम अघि बढाउनेमा जिल्लाका ८ तहमध्ये मानेभञ्ज्याङ पहिलो तह हो । 

तत्कालका लागि अस्पताल व्यवस्थापन गरिए पनि बजेट अति न्यून रहेकाले सञ्चालनका लागि समस्या रहेको उनले बताए र संघीय सरकारले बजेट बढाएर पठाए मात्रै स्थानीय तहले प्रभावकारी काम गर्न सक्ने भनाइ छ ।

ओखलढुंगा सदरमुकामका अतिरिक्त सोलु र खोटाङ जाने प्रवेशद्वार र मानेभञ्ज्याङमै तीन जिल्लाको होल्डिङ सेन्टर समेत रहेकाले अस्पताल अत्यावश्यक रहेको गाउँपालिका अध्यक्ष मोतिराज राई बताउँछन् । संघीय सरकारले अस्पतालका लागि पुग्ने बजेट पठाउनु पर्ने उनको माग छ ।