close

बर्दघाटका सबै वडामा स्वास्थ्य सेवाको पहुँच 

बर्दघाटका सबै वडामा स्वास्थ्य सेवाको पहुँच 

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरबासीमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन १६ वटा वडामै स्वास्थ्य संस्थाकाे निर्माण सुरु गरेकाे छ । आधारभूत स्वास्थ्य सेवा घरघरमा पुर्‍याउने अभियानअन्तर्गत १६ वटै वडामा स्वास्थ्य पहुँच वृद्धि गर्न ९ वडामा स्वास्थ्य चौकी भवन निर्माण गरिने भएको हो ।


बाँकी ७ वडामा यसअघि नै स्वास्थ्य सेवाका लागि अस्पताल तथा स्वास्थ्य चौकी रहेका छन् । ती ९ स्वास्थ्य चौकीको कुल बजेट २  करोड ८४ लाख ३० हजार २ सय ४१ रुपैयाँ छ । प्रत्येक वडाका जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकी निर्माण अभियान सुरु गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताए ।


‘चालू वर्षमै सबै वडामा स्वास्थ्य सेवाको पहुँच वृद्धि हुनेछ’, बस्यालले भने, ‘सोअनुरुप धमाधम प्रक्रिया सुरु गरिएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा यस वर्ष धेरै काम गर्दै छौं’, नगरप्रमुख बस्यालले भने  ।


बर्दघाटको वडा-१, ३, ४, ६, ७, ८, १०, १२ र १६ गरी ९ वडामा स्वास्थ्य चौकी निर्माण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिए ।


बर्दघाट  वडा-२ मा १५ शय्याको सरकारी स्वामित्वको चिसापानी अस्पताल छ । सोही वडामा कोभिड लक्षित सुविधासम्पन्न आइसोलेसन भवनसमेत निर्माणाधीन छ । गत आर्थिक वर्षमा ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको आइसोलेसन भवनका लागि चालू वर्ष २० लाख रुपैयाँ बजेट विनियोजित छ ।

 

नगरको वडा-१४ स्थित चौपत्तामा सहिद स्मृति सामुदायिक अस्पतालले समेत स्वास्थ्य सेवा दिइरहेको छ । नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेका अनुसार वडा ५, ९, ११, १३, १४ र १५ मा यसअघि नै स्वास्थ्य चौकी सञ्चालनमा छन् । 


चालू वर्ष बन्ने स्वास्थ्य चौकीको बजेट व्यवस्थापन स्वास्थ्य मन्त्रालयबाटैै भएको उनले बताए । ‘वडा-११ र १५ को स्वास्थ्य चौकी निर्माण गत वर्ष सम्पन्न भयो’, काफ्लेले भने, ‘अस्पताल तथा स्वास्थ्य संस्था नभएको वडालाई प्राथमिकतामा राखेर स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो । १६ वडाको स्वास्थ्य चौकी धमाधम बनिरहेको छ ।’


यस्तै, वडा-१२ मा प्रदेश सांसद दीपेन्द्रकुमार अधिकारीले स्वास्थ्य चौकी शिलान्यास गरेको वडाध्यक्ष मानबहादुर मल्लले बताए । उक्त स्वास्थ्य चौकीबाट १ हजार १ सय घरधुरी लाभान्वित हुनेछन् ।

 

आधारभूत स्वास्थ्य चौकी निर्माणले वडाबासीमा खुसीयाली छाएको छ । वडा-१२ का स्थानीय देवेन्द्र पोखरेलले वडाध्यक्षको प्रयासबाट स्वास्थ्य चौकी निर्माणमा सघाउ पुगेको बताए ।