close

चौरजहारी नगरपालिकामा बन्यो अस्पताल

चौरजहारी नगरपालिकामा बन्यो अस्पताल

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– जिल्लाको चौरजहारी नगरपालिकाले ५ सैयाको अस्पताल सञ्चालन गरेको छ । नगरपालिकाको चिन्नेबगरमा शहीद स्मृति नगर अस्पताल सञ्चालन  गरी नगरवासीलाई सेवा दिन सुरु गरिएको हो ।

 

अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुति सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु सञ्चालन हुने नगर प्रमुख विशाल शर्माले जानकारी दिए । सरकारवाट प्रदान हुने निःशुल्क तथा सशुल्क औषधि तथा सेवा सुविधा अस्पतालवाट प्राप्त गर्न सकिने उनको भनाइ छ ।

 

अस्पताल निर्माणका लागी नगरपालिकाको ११ लाख ५० हजार र कर्णाली प्रदेश सरकारको पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तरगत ६९ लाख ५० हजार गरी कुल ८१ लाख खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए ।


अस्पतालमा आवश्यक सामग्री खरिद, औषधी व्यवस्थापन लगायत गरी अहिले सम्म कुल १ करोड ४५ लाख खर्च भएको उनले जानकारी दिए   ।

 

अस्पताल सञ्चालन पछि नगरपालिकाको माथिल्लो भेग वडा नम्बर १० देखि १४ र सल्यानको दार्मागाँउपालिकाका सर्बसाधारणले स्वास्थ्य पाउने छन् । नगरपालिकाले नगरमा सञ्चालित विभिन्न अबैध नीजि मेडिकल बन्द गरे पछि सर्वसाधरणलाई पर्न गएको असुबिधालाई ध्यानमा राख्दै चिन्ने बगरमा नगर अस्पताल सञ्चालन गरेको हो ।

 

जिल्लाको आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिकाले पहिले नै नगर अस्पताल संचालन गरिसकेका छन् । त्रिबेणी गाउँपालिकाले पनि गाउँपालिकामा अस्पताल सञ्चालनको लागि भवन निर्माण गरेको छ । बाँफिकोट गाउँपालिकामा पनि अस्पताल सञ्चालनको तयारी गरिरहेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए ।