close

खोटेहाङमा पिसिआर गरे पनि होम क्वारेन्टाइन अनिवार्य

खोटेहाङमा पिसिआर गरे पनि होम क्वारेन्टाइन अनिवार्य

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको खोटेहाङ गाउँपालिकाले विदेशबाट आउँदा पिसिआर परीक्षण गराएका स्थानीयलाई पनि अनिवार्य होम क्वारेन्टाइनमा राख्ने भएको छ । खोटेहाङमा एकै दिन ३ जना कोरोना संक्रमित फेला परेपछि गाउँपालिकाले विदेशबाट आउनेलाई पनि अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने नियम बनाएको हो ।

 

विदेशबाट आउनेले पिसिआर परीक्षण गरेको भए पनि तोकिएको अवधिसम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । ‘विदेशबाट घर फर्किंदा गाउँपालिका प्रवेश गर्ने व्यक्तिले अनिवार्य होम क्वारेन्टाइनमा बस्न सम्बन्धित वडा कार्यालयसँग कबुलियतनामा गर्नुपर्ने व्यवस्था गरेका छौं’, अध्यक्ष राईले भने ।

 

विदेशबाट आउने व्यक्तिले गाउँपालिका प्रवेश गर्दा पिसिआर परिक्षण नगरेको भए पालिकाले तोकेको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको उनलेब बताए ।  स्वदेशका विभिन्न स्थानबाट गाउँपालिका प्रवेश गर्ने व्यक्तिले सम्बन्धित वडासँग कबुलियतनामा गरेर तोकिएको अवधिसम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।


आइतबार बसेको गाउँपालिका अध्यक्षताको सर्वदलीय सर्वपक्षीय बैठकले सामाजिक, सांस्कृतिक पर्व, भेला, जात्रा, गोष्ठी, सेमिनार नगर्ने-नगराउने, पालिकाभित्र सञ्चालित कार्यालय स्वास्थ्य सतर्कता अपनाएर सञ्चालन गर्ने, शिक्षण सहजीकण निर्देशिकाबमोजिम सञ्चालन भइरहेको सिकाई क्रियाकलाप अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

 

यस्तै, गाउँपालिकाभित्र रहेका बजार, साप्ताहिक बजार तथा मन्दिर अनिवार्य मास्क प्रयोग गरेर सञ्चालन गर्न भनिएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जारी गरेको सूचनामा सूचनाको उल्लंघन गरेको पाइए संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने उल्लेख छ । 

 

विदेशबाट कोरोना नेगेटिभ रिपोर्ट लिएर आएका खोटेहाङ गाउँपालिका–६ इन्द्राणीपोखरीका १ जना र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका १ जना पुरुषलाई शनिबार कोरोना पोजेटिभ देखिएको थियो ।

 

संक्रमितमध्ये इन्द्राणीपोखरीका पुरुष साता दिनअघि साउदी अरब र लिच्कीराम्चेका पुरुष पनि साता दिनअघि कतारबाट आएका हुन् । विदेशमा कोरोना नेगेटिभ देखिए पनि उनीहरूलाई होम क्वारेन्टाइनमा राखिएको अवस्थामा पुनः पिसिआर परीक्षण गर्दा पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

 

खोटेहाङमा ७ जनाको पिसिआर परीक्षणमा पठाउँदा शनिबार ३ जनालाई कोरोना पोजेटिभको पुष्टि भएको थियो । अर्का संक्रमित खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका पुरुष हुन् । उनी इलाका प्रशासन कार्यालय खोटाङ बजारका प्रमुख हुन् । 

 

कोरोना गाउँघरका दैलोमै आइपुगेपछि गाउँपालिका अध्यक्ष राईले विज्ञप्तिमार्फत स्थानीयलाई स्वास्थ्यप्रति सजगता अपनाउन, अनावश्यक भीडभाड तथा भेला नगर्न, आवश्यक कार्यका लागि बाहिर निस्कँदा मास्क, पञ्जा, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री प्रयोग गर्न र गाउँपालिका भित्रिने व्यक्तिबारे जानकारी गराउन आग्रह गरेका छन् ।