close

कोरोना खर्चको हिसाबकिताब नै गोलमाल

खिजीदेम्वाको कोरोना रोकथाममा करोड हाराहारी खर्च

कोरोना खर्चको हिसाबकिताब नै गोलमाल

खिजीदेम्वाको कोरोना रोकथाममा करोड हाराहारी खर्च

Trulli
ADVERTISEMENT

ओखलढुंगा–  खिजीदेम्वा गाउँपालिकाले आर्थिक वर्ष  ०७७ असार मसान्तसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा करिब ९० लाख खर्च गरेको छ ।


गाउँपालिकाले सार्वजनिक गरेकोे विवरणअनुसार गत आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा ८९ लाख ४४ हजार ९ सय ७९ रुपैयाँ खर्च भएको हो ।


खर्च विवरण सार्वजनिक गरेका स्थानीय तहमध्ये सबैभन्दा धेरै खर्च गर्ने तह खिजीदेम्वा नै हो । यसअघि मोलुङ गाउँपालिका, मानेभन्ज्याङ, चिशंखुगढी, सिद्धिचरण र लिखुले खर्च सार्वजनिक गरेका थिए । ती तहको भन्दा खिजीदेम्वाले दोब्बर बढी रकम खर्चेको छ ।


कुन शीर्षकमा कति खर्च

गाउँपालिकाका अनुसार अस्पतालमा स्तरीय बेड ३० थान, ४५ क्वारेन्टाइन बेड व्यवस्थापन, क्वारेन्टाइनका अन्य आवश्यक सामग्री खरिदमा ७ लाख ८९ हजार ९१ रुपैयाँ खर्च भएको छ ।


क्वारेन्टाइनमा व्यक्तिगत सरसफाइ सामग्री खरिदमा ३० हजार, गाउँपालिकाभित्रका सबै क्वारेन्टाइनमा बसेकाहरूको खाना–खाजा खर्च ५५ हजार ७ सय ५, क्वारेन्टाइन वा आइसोलेसनमा बस्नेहरूका लागि रोग प्रतिरोधात्मक तथा विपद्का बेला नियमित आवश्यक पर्ने औषधी खरिदमा २ लाख १५ हजार रुपैयाँ खर्च भएको छ ।


यस्तै, औषधीजन्य सामग्रीअन्तर्गत पालिकाभित्रका सबै नागरिकका लागि १ व्यक्ति १ मास्क, सेनिटाइजर, पिपिई तथा स्यानिटाइजिङ वस्तु, हेल्प डेस्क, स्वास्थ्य संस्था, सरकारी कार्यालय, गाउँपालिका, वडालगायतका स्थानमा आवश्यक थप स्वास्थ्य सामग्री खरिदमा ९ लाख २६ हजार ६ सय ३९ रुपैयाँ खर्च भएको छ ।


गाउँपालिकाकै खर्चमा ल्याब सञ्चालन गरी कर्मचारीसमेत राखेको छ । थर्मलगन, आरडिटी किट, पिसिआर परीक्षणका लागि भिटिएम किटलगायत सामग्री खरिदमा ३ लाख ७९ हजार रुपैयाँ खर्च गरेको छ ।


लकडाउनको समय रोजगारी गुमाएर खाद्यान्न अभाव झेलेका नागरिलाई १७ लाख ३४ हजार ९ सय ७ रुपैयाँको खाद्य सामग्री वितरण गरिएको नगरपालिकाको खर्च विवरणमा उल्लेख छ ।


केही संघसंस्थाको समेत सहयोगमा खिजीदेम्बामा ११ सय ५० घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको थियो । स्वास्थ्यकर्मी जोखिम भत्तामा ११ लाख ३२ हजार ३ सय ५० रुपैयाँ खर्च भएको छ । गाउँपालिकामा खटिएका सबै स्वास्थ्यकर्मीलाई ५० प्रतिशत र थप जिम्मेवारीसहित नाकामा खटिएकालाई शतप्रतिशत भत्ता दिइएको थियो ।


विदेशबाट फर्किएका नागरिकलाई होल्डिङ सेन्टरबाट क्वारेन्टाइन वा पालिकासम्म लैजाँदाको खर्च, आरडिटी परीक्षणका लागि स्वास्थ्यकर्मीसमेतको यातायात खर्च ९६ हजार, कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समन्वय समितिको विभिन्न समयमा बसेको बैठक भत्ता तथा खाजा खाना शीर्षकमा ९२ हजार ८ सय ९२ रुपैयाँ खर्च भएको छ ।


स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सम्बन्धित कर्मचारीका लागि अत्यावश्यक सूचना प्रवाहका गर्न सञ्चार खर्च ७७ हजार ५ सय, जिल्ला र आसपासका एफएम रेडियो, राष्ट्रिय स्तरका टेलिभिजन, अनलाइनसहितका सञ्चार माध्यममार्फत सन्देशमूलक सूचना प्रसारण, गाउँमा सचेतनाका लागि गरिएको माइकिङलगायतमा २ लाख ९२ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिए ।


नागरिक उद्धारमा १५ लाख


खिजीदेम्वाले अलपत्र  नागरिक उद्धारमा मात्रै १५ लाख ५३ हजार खर्च गरेको छ । काठमाडौंलगायत देशका विभिन्न ठाउँमा बन्दाबन्दीमा परेका नागरिकलाई बस तथा साना सवारी रिजर्भ गरेर गाउँपालिकासम्म ल्याउँदा उक्त रकम खर्च भएको देखिएको हो ।


उद्धार गरिएका बेला जनप्रतिनिधिले व्यक्तिगत खर्चमा अलपत्रलाई गाउँ फर्काएको भनिए पनि खोजे पनि सवारी खर्च गाउँपालिकाबाटै निकासा गरेको खुलेको छ ।

 

त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको अत्यावश्यक कार्यका लागि गाउँपालिका बाहिर र वडा टोलबस्तीमा जाँदाको सवारी भाडा तथा औषधी ढुवानीमा १ लाख ३५ हजार २ सय १० र गैरसरकारी संस्था तथा निकायबाट प्राप्त राहत सामग्री प्रत्येक टोलमा ढुवानी गर्दा १ लाख २९ हजार ९ सय रुपैयाँ खर्च भएको छ ।

 

सूचना सहजकर्ताको पारिश्रमिकमा ७ लाख ५३ हजार १ सय ३१ रुपैयाँ खर्च भएको छ । कोरोना कहरमा अलपत्र परेका नागरिकको अवस्था र तथ्यांक संकलन, वडा–वडामा रहेका दीर्घ रोगी, अशक्त र असंगठित क्षेत्रका व्यक्तिकोे तथ्यांक संकलन गर्न, राहत वितरणमा सहयोेग गर्न, विपद् तथा उद्धारलगायतका काम गर्न प्रत्येक वडामा २ जनाका दरले १८ सूचना सहजकर्ता २ महिनासम्म परिचालन भएका थिए ।

 

गाउँको सुरक्षामा खटिएका प्रहरीलाई समेत पालिकाले भत्ता दिएको छ । प्रहरी चौकी जोखिम भत्ता ६९ हजार ९६ रुपैयाँ खर्च छ । इलाका प्रहरी चौकी खिजीफलाटे र मातहतमा रहेका सुरक्षाकर्मीका लागि विपद्मा खटिएबापत उक्त रकम भुक्तानी गरिएको हो ।

 

गाउँपालिकाभित्रका प्रत्येक घरमा १ घर २ डल्ला डिटोल तथा लक्स साबुन वितरण र सरकारी कार्यालय तथा संघ–संस्थामा साबुन तथा आवश्यक सामग्रीमा २ लाख ९५ हजार ८ सय १३, ल्याब असिस्टेन्ट, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि भ्रमण भत्ता ८९ हजार ४ सय २५, गाउँपालिका, वडा, स्वास्थ्य संस्था तथा प्रहरी चौकीको संलग्नतामा बस्ती स्तरमा विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम खर्च, छपाइ र अन्य विविध खर्च ९८ हजार ३ सय २० रुपैयाँ देखाइएको छ ।

 

गाउँपालिकाको अत्यधिक खर्च गरेको भन्दै स्थानीयले आलोचना गरेका छन् । कोरोनाको नाममा भएका खर्च पारदर्शी नभएको उनीहरूको भनाइ छ । १ वडा सदस्यले भने, ‘औचित्य र आवश्यकताभन्दा बढी प्रचार गर्नमै बढी खर्च भएको देखियो । यो हिसाबकिताबको विवरणलाई अझ प्रस्ट्याइनुपर्छ ।’