close

आफैँ विरामी छन् ओखलढुंगाका स्वास्थ्य संस्था

आफैँ विरामी छन् ओखलढुंगाका स्वास्थ्य संस्था

Trulli
ADVERTISEMENT

ओखलढुंगा– चिशंखुगढी गाउँपालिका १ कुइभीरस्थित स्वास्थ्य चौकी भवन आधा निर्माण गरेर ठेकेदारले अलपत्र छाडेका छन् । ठेक्का लागेका पाँच बर्ष विते पनि पुरा भएको छैन । स्वास्थ्य चौकी भाडामा सञ्चालन गर्नुपरेको छ ।

 

त्यस्तै सिद्धिचरण नगरपालिका–७ स्थित विगुटारमा लामो समय स्वास्थ्य चौकी टेण्टमा सञ्चालन भयो । अहिले प्रिफ्याबको अस्थायी संरचना बनाएर सञ्चालन भइरहेको छ । भूकम्पले भत्काएपछि पुनर्निर्माणका लागि लागेको ठेक्कामा काम नहुँदा समस्या छ ।


चम्पादेवी गाउँपालिकाको फुलबारी स्वास्थ्य चौकी समेत भाडामा चलिरहेको छ । स्वास्थ्य चौकीको भवन चाँही भूकम्पले क्षतविक्षत भएको थियो । ठेकेदारले काम नगर्दा भवन निर्माण अधुरै छ ।


यी केही उदाहरण मात्रै हुन् । २०७२ सालको भूकम्प तथा त्यसपछिका पराकम्पले क्षति पुगेका ११ स्वास्थ्य चौकी भवन निर्माण शुरु भए पनि अलपत्र छन् ।

 

ती भवनको लागत २१ करोड ८५ लाख ४४ हजार बढी छ । नयाँ भवन नबन्दा अधिकांश स्वास्थ्य चौकी भूकम्पले जीर्ण बनाएका भवनमै सञ्चालन छन् । जीर्ण भवनबाट कुन बेला दुर्घटना हुन्छ भनेर सेवाग्राही र स्वास्थ्यकर्मी त्रसित भइरहन्छन् ।


स्थास्थ्योपचार जस्तो संवेदनशील संस्थाका भवन ठेकेदारले अलपत्र पारेपछि छाप्रा र टहरामा सञ्चालन गर्नुपरेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केशीले बताए । उनले भने, ‘ठेकेदार काम नगर्ने, स्थानीय तहसँग समन्वय नहुने र आफुखुसी म्याद थप हुने भएकाले पूर्वाधारका विभिन्न योजना अलपत्र छन् ।


निर्माणाधीन ११ स्वास्थ्यचौकीमध्ये जन्तरखानी, रगनी, माम्खा, नमदेश्वर र टारकेराबारी स्वास्थ्य चौकी भवन २०७५ र भूसिंगा, दियाले, हर्कपुर, टोक्सेल उबूँ र सिस्नेरी स्वास्थ्य चौकीको सम्झौता २०७६ मा गरिएको छ ।


हाल सबै भवन निर्माणाधीन अवस्थामै छाडिएका छन् । सबैको म्याद सकिएर थपिए पनि काम अघि बढेन । सबै योजनाको काम ५० देखि अधिकतम ८० प्रतिशतसम्म भएको राष्ट्रिय पुनर्निर्माण पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले जनाएको छ ।


जीर्ण र प्रयाप्त पूर्वाधार नभएका संरचनाबाट प्रवाह गरिने सेवाको गुणस्तर समेत नहुने हुँदा सेवाग्राही सन्तुष्ट हुने अवस्था छैन ।  निर्माण व्यवसायीले निर्माण थालेर अलपत्र पारेका अधुरा संरचनासमेत गुणस्तर नभएकोे सुशासनको क्षेत्रमा क्रियाशील संस्था ट्रान्परेन्सी इन्टरनेशनल नेपालका जिल्ला संयोजक भलामान विक बताउँछन् ।


कोरोनाको बहाना

 

कामदार, लकडाउन लगायतका कारण काममा ढिलाइ भएको ठेकेदारको दावी छ । जन्तरखानी, रगनी, माम्खा, नमदेश्वर र टारकेराबारी स्वास्थ्य चौकी भवनको निर्माणको जिम्मा पाएको कान्छाराम जेभी सिंहदेवी निर्माण सेवाका राजन सुवेदीले काम धमाधम भइरहेको दावी गरे । उनले, ‘हामी काम गरिरहेका छौं, ढुवानीका लागि रामेछाप तर्फको बाटो साँगुरो भएकाले समस्या छ ।’

 

स्वास्थ्य चौकीको भवन नबन्दा प्रसुति गृह सञ्चालन हुन सकेको छैन । ठेकेदारले भवन पुरा नगरेपछि समस्या आएको लिखु गाउँपालिका–१ नमर्देश्वर स्वास्थ्य चौकीका प्रमुख मिनकुमार धमलाले बताए । उनले भने, ‘जीर्ण भवनमै जोखिम मोलर बसेका छौं, भवन नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुन सकेको छैन ।’


स्वास्थ्य उपचारजस्तो सम्वेदनशील विषयमा ठेकेदारले लापरवाही गरेर जोखिम बढाएको सरोकारवालाको भनाइ छ । काम नगर्ने कुरा मात्रै गर्ने नेता ठेकेदारलाई कारवाही हुनुपर्ने लिखुका स्थानीय नेत्र भट्टराईको माग छ ।


जनप्रतिनिधिहरुले समेत ठेकेदारले ढाँटेर काम नगरी अलपत्र पारेकाले कारवाही गर्न वा काम गराउन माग गर्दै आएका छन् । ठेकेदारले समयमा काम नगर्दा भूकम्पपछिको पुनर्निर्माण तोकिएको समयमा पुरा नहुने भएको छ । गाउँपालिका अध्यक्ष र सांसदहरुले अलपत्र भवनको काम चाँडो सक्न  अन्यथा कानुनी कारवाही गर्न सरोकारवाला कार्यालयको ध्यानाकर्षण गराएका छन् ।