close

कोरोनामा १० करोड २२ लाख सके रुकुम पश्चिमका ६ पालिकाले

कोरोनामा १० करोड २२ लाख सके रुकुम पश्चिमका ६ पालिकाले

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– रुकुम पश्चिममा आर्थिक वर्ष २०७६/२०७७ मा मात्र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा १० करोड २२ लाखभन्दा बढी रुपैयाँ खर्च भएको छ ।


जिल्लाका ६ ओटा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमार्फत चार महिनाको अवधिमा १० करोड २२ लाख ६८ हजार तीन सय ३४ रुपैयाँ खर्च भएको हो ।

 

खर्च भएको कुल रकम मध्ये जिल्ला प्रशासन कार्यालयको १९ लाख ९९ हजार दुई सय एक रुपैयाँ खर्च भएको छ भने १० करोड दुई लाख ६९ हजार एक सय ३३ रुपैयाँ पालिकामार्फत खर्च भएको छ ।


जिल्ला प्रशासनको खर्चवाट जिल्लाका सबै पालिकामा स्वास्थ्य सामग्री उपलव्ध गराइएको प्रशासनको भनाइ छ । सुरक्षाकर्मी र कर्मचारीको लागि पनि आवश्यक स्वास्थ्य सामग्री खरिद गरिएको प्रशासनले बताएको छ ।  

 

गत आर्थिक वर्षमा सबैभन्दा बढी खर्च चौरजहारी नगरपालिकाले गरेको छ । विभिन्न शीर्षकमा तीन करोड ८९ लाख २० हजार ६ सय ५१ रुपैयाँ खर्च गरेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । उनका अनुसार पीसीआर ल्याब सञ्चालन तथा स्वयंसेवकको पारिश्रमिक गरी ७४ लाख ९३ हजार ७ सय ८८ रुपैयाँ खर्च भएको छ ।


त्यस्तै आइसोलेशन अस्पताल तथा क्वारेन्टिन निर्माणसँग सम्वन्धित कार्यमा  १ करोड ९९ लाख ६१ हजार ९ सय सात रुपैयाँ खर्च भएको छ ।


नगरपालिकाले दैनिक छाक टार्न मुस्किल भएका ६ सय २८ घर परिवारलाई २० लाख रुपैयाँको राहत वितरण गरेको छ । अधिकृत केसीले प्राकृतिक प्रकोप रोकथाम, तयारी, उद्धार, राहत तथा पुनस्र्थापना शीर्षक अन्तर्गत स्वास्थ्य सामग्री खरिद तथा जोखिम भत्तालगायतमा ९४ लाख ६४ हजार ९ सय ५६ रुपैयाँ खर्च गरिएको बताए ।


आठबीसकोट नगरपालिकाले कोरोना नियन्त्रणमा एक करोड ९६ लाख ६३ हजार ६ सय १२ रुपैयाँ खर्च गरेको जनाएको छ । अस्पताल निर्माण तथा व्यवस्थापनमा एक करोड १७ लाख ८१ हजार चार सय ७५ र क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापनमा ३१ लाख १४ हजार एक सय २४ रुपैयाँ खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद लम्सालले बताए ।


उनका अनुसार औषधि तथा स्वास्थ्य उपकरण खरिदमा ११ लाख ३३ हजार तीन रुपैयाँ र विपद्को समयमा खटिएका कर्मचारीहरुलाई कार्यपालिकाको निर्णयअनुसार जोखिम भत्ता, खाजा तथा यातायात खर्चमा तीन लाख ३६ हजार पाँच सय ३५ रुपैयाँ खर्च भएको छ ।


विपन्न तथा मजदुरी गरेर परिवार पाल्नेहरुलाई १८ लाख ६३ हजार पाँच सय ४० रुपैयाँ बराबरको राहत वितरण गरिएको छ भने देशका विभिन्न स्थानमा रहेकालाई उद्धार गरेर नगरपालिका ल्याउँदा १४ लाख ३४ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ ।


गत आर्थिक वर्षको असार मसान्त सम्म नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १७ लाख २० हजार सात सय ४० रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ ।


मुसिकोट नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नरवीर खड्काले एक करोड ४६ लाख ९९ हजार सात सय ३२ रुपैयाँ कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको बताए ।

नगरपालिकाले विभिन्न वडामा ज्याला मजदुरी गरेर जीविकोर्पान गर्दै आएका व्यक्तिहरुको लागि २७ लाख ४२ हजार तीय सय रुपैयाँ बराबरको राहत समाग्री वितरण गरेको छ भने ३८ लाख ४२ हजार चार सय ३२ रुपैयाँ स्वास्थ्य सुरक्षा सामग्री खरिदमा खर्च गरेको छ ।


निमित्त प्रशासकीय अधिकृत खड्काका अनुसार नगरपालिकाले आइसोलेशन भवन निर्माणको लागि ३० लाख र क्वारेन्टिन व्यवस्थापन र सञ्चालनमा ४१ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।


नगरपालिकाले विभिन्न स्थानबाट मजदुर र विद्यार्थीलाई उद्धार गर्दा ३ लाख ५० हजार र कोरोनाका शङ्कास्पद बिरामीहरुलाई अस्पताल लैजाँदा एम्बुलेन्स भाडा शीर्षकमा एक लाख ४५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको छ ।


त्यसैगरी कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा सूचना प्रकाशन, प्रसारणमा चार लाख ७० हजार रुपैयाँ खर्च भएको खड्काको भनाई छ ।


मुसिकोट नगरपालिकाले यो खर्च सङ्घीय तथा कर्णाली प्रदेश सरकार, आन्तरिक र नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमबाट व्यवस्थापन गरेको जनाएको छ ।


नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकबाट ८५ लाख ६८ हजार आठ सय ७७ रुपैयाँ प्राप्त भएको थियो भने विभिन्न व्यक्ति र संस्थाबाट चार लाख ५५ हजार एक सय पाँच रुपैयाँ सहयोग प्राप्त भएको थियो ।


जिल्लाका तीन गाउँपालिकामध्ये त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी बजेट खर्च गरेको जनाएको छ । गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रणका लागि एक करोड २२ लाख १६ हजार ९२ रुपैयाँ खर्च गरेको स्वास्थ्य शाखा संयोजक वीरबहादुर डाँगीले बताए ।


उनका अनुसार गाउँपालिकाले सबैभन्दा बढी ५३ लाख ८८ हजार चार सय ७२ रुपैयाँ क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनमा र ३४ लाख ७ हजार पाँच रुपैयाँ स्वास्थ्य सामग्री खरिदमा खर्च गरेको छ ।


स्वयंसेवक परिचालनमा १५ लाख ८१ हजार, आइसोलेसन वार्ड निर्माणमा आठ लाख २८ हजार, नागरिक उद्धारमा ५ लाख २९ हजार ९ सय, सूचना तथा सञ्चारमा ९९ हजार २ सय र विविध शीर्षकमा तीन लाख ८२ हजार पाँच सय १५ रुपैयाँ खर्च भएको स्वास्थ्य संयोजक डाँगीको भनाइ छ । नगरलाई कर्णाली प्रदेश सरकारले १५ लाख र पालिकाले स्थापना गरेको कोषमा १० लाख रुपैयाँ जम्मा भएको र बाँकी खर्च गाउँपालिकाले बताइएको छ ।


बाँफिकोट गाउँपालिकाले असार मसान्तसम्म विभिन्न शीर्षकमा ९५ लाख ३२ हजार तीन सय ८३ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार गुरुङले कोरोना रोकथाम तथा उपचारको लागि निर्माण गरिएका क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनमा १६ लाख ६० हजार दुई सय २८ र स्वास्थ्य उपकरण तथा औषधिजन्य सामग्री खरिदमा २१ लाख रुपैयाँ खर्च भएको बताए ।

 

अधिकृत गुरुङका अनुसार गाउँपालिकामा ३७ लाख ५० हजार रुपैयाँको राहत वितरण गरिएको छ भने २० लाख २२ हजार एक सय ५५ रुपैयाँ जोखिम भत्ता शीर्षकमा खर्च गरिएको छ ।


सानीभेरी गाउँपालिकाले भने गएको असार मसान्तसम्म सबैभन्दा कम खर्च भएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपाल सिंह विष्टले गएको आर्थिक वर्षको चार महिनामा ५२ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ खर्च गरेको बताए ।

 

गाउँपालिकाले औषधिजन्य सामग्री खरिदमा नौ लाख ३६ हजार ३८ र क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनमा २५ लाख ४४ हजार तीन सय ४२ रुपैयाँ खर्च गरेको छ । उनका अनुसार खाद्यान्न तथा राहत वितरणको लागि १० लाख १ हजार ७ सय ८८ र पीसीआर परीक्षण तथा ढुवानीमा ३० हजार रुपैयाँ खर्च भएको छ ।

 

चालु आर्थिक वर्ष २०७७/७८ मा पनि स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणको लागि रकम खर्च गरेको भए पनि विवरण सार्वजनिक गरेका छैनन् ।


गत आर्थिक वर्षमा भारत तथा तस्रो मुलुक र देशका विभिन्न ठाउँबाट आएकाहरुलाई स्थानीय सरकारले आफ्नै खर्चमा क्वारेन्टाइनमा राख्ने गरेकोमा यो आर्थिक वर्षमा भने बाहिरबाट आएकाहरु होम क्वारेन्टाइनमा बस्ने भएकाले स्थानीय तहको खर्च कम भएको बताएका छन् ।