close

पूर्ण खोप सुनिश्चित पालिका बन्यो सिस्ने

पूर्ण खोप सुनिश्चित पालिका बन्यो सिस्ने

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व)– सिस्ने गाउँपालिकालाई आज (बिहीबार) पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाभित्रका सबै वडाका सबै वस्तीका बालबालिकाले नियमित खोप पाएपछि सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय रुकुमपूर्व र सिस्ने गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभाका सदस्य कमला रोकाले ब्यानरको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरे ।

गाउँपालिकाअन्तर्गतको स्वास्थ्य संस्था र स्वास्थ्य कार्यालय रुकुमपूर्वको सक्रियता, सरकारको लक्ष्य र लगानीमा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको प्रतिनिधिसभा सदस्य रोकाले बताइन् ।

अहिले सबै बालबालिकाले नियमित खोप पाएकाले अबका दिनमा पनि सबै वस्तीका अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउने स्वास्थ्य संथ्थामा नियमित खोप लगाउनुपर्ने चेतनाको विकास भएको रोकाको भनाइ छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेन्द्रप्रसाद यादवले गाउँपालिकामा रहेका शून्यदेखि १५ महिनासम्मका बालबालिका ५२१ जना र १६ देखि २३ महिनासम्मका २९२ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको बताए ।

गाउँपालिकामा पाँच स्वास्थ्य चौकी छ सामुदायिक स्वास्थ्य इकाई गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप लगाइरहिएको यादवले जानकारी दिए ।