ललितपुर– ललितपुरको दक्षिण पहाडी क्षेत्रमा रहेको बाग्मती गाउँपालिका स्तरीय अस्पताल भवन निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । बाग्मती गाउँपालिकाको वडा नम्बर ४ प्युटारस्थित थान्सिङ्गटारमा भवन निर्माण भएको हो ।
आर्थिक वर्ष २०७५÷०७६ मा बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत गाउँपालिका भवन निर्माणको लागि ३ करोड ६० लाख बजेट विनियोजन भएको थियो ।
ज्ञानज्योति बिल्डर्सले कुल २ करोड ३ लाख रुपैयाँको लागतमा अस्पताल भवन सम्पन्न गरेको गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले बताए । अब छिटै नै सेवा सुरु गर्ने बताईएको उक्त अस्पतालबाट सिंगो गाउँपालिकासहित महांकाल गाउँपालिकाको ठुलादुर्लुङ्ग, मकवानपुरको बाग्मती र बकैया गाउँपालिका, काभ्रे जिल्लाको खानीखोला गाउँपालिकालगायतका वासिन्दा लाभान्वित हुन सक्नेछन् ।
बाग्मती प्रदेश सभा सांसद चेतनाथ संजेलले आफूले चुनावी घोषणापत्रमै उल्लेख गरेको गाउँपालिका स्तरीय अस्पताल निर्माणको काम पुरा हुँदै गरेको बताए । उक्त अस्पतालमा सेवा सुरु भएपछि आकस्मिक, ओपिडी सेवालगायत ल्याब, एक्स रे, भिडियो एक्स रे लगायतका सेवा उपलब्ध हुने छ भने १ जना एमडी, २ जना एमबीबीएस डाक्टर रहने सञ्जेलको भनाई छ ।
विगतमा सामान्य बिरामी हुँदासमेत उपचारका लागि पाटन नै धाउनुपर्ने वाध्यताका कारण उपचार नपाएर ज्यानै गुमाउनुपर्ने अवस्थाबाट पिल्सिएका दक्षिण ललितपुरबासी प्युटारमा अस्पताल बन्दा खुसी देखिएका छन् ।