close

कोरोना जितेका नगरप्रमुख चिरीबाबु भन्छन्: चानचुने भाइरस होइन, कम नआँकौँ

कोरोना जितेका नगरप्रमुख चिरीबाबु भन्छन्: चानचुने भाइरस होइन, कम नआँकौँ

Trulli
ADVERTISEMENT

ललितपर- ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोना भाइरस अन्य भाइरस जस्तो नभएको बताउँदै यसलाई कम नआँक्न आग्रह गरेका छन् ।
 


केही दिनअघि मात्र कोरोना संक्ररमण जितेका महर्जनले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना भाइरस अन्य भाइरस जस्तो चानचुने भाइरस होइन रहेछ ।’ उनले घरभित्रै बास्दा वा घरबाहिर निस्किँदा लापरबाही नगर्नसमेत सम्पूर्णमा अनुरोध गर्दै चिकित्सकहरूले भनेबमोजिम भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले हात धुन र स्यानिटाइजर प्रयोग गर्न सबैलाई सुझाव दिएका छन् ।

 

स्वास्थ्य सतर्कता अपनाउँदैे हाम्रा संस्कृति, चाडपर्व, जात्रालगायत विभिन्न परम्परालाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको उनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको दशैँ जो जहाँ हुनुहुन्छ, त्यहीँ बसी आफ्नो परिवारमा मात्र सीमित भएर मनाउन अनुरोध गर्दछु ।'

 

उनले दशैँको किनमेलका नाममा अनावश्यक भीडभाड नगर्नसमेत नगरवासीमा अनुरोध गरेका छन् । दशैँका बेला मनाइने जात्राहरू धार्मिक विधि पूरा गरी जमघट नभई सम्पन्न गर्नसमेत ध्यानाकर्षण गराएका छन् । कोरोनालाई परास्त गर्ने शक्ति मिलोस् भन्दै नगरप्रमुख महर्जनले दशैँको शुभकामना दिएका छन् ।

 

 

महर्जनलाई गत ९ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि बखुन्डोलस्थित  होम आइसोलेसनमा बसेका थिए।  यसैगरी कोरोना संक्रमण भएका गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ पनि संक्रमणमुक्त भइसकेका छन् । गजेन्द्र ठेचोस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका थिए भने श्रेष्ठ किष्ट मेडिकल कलेज ग्वार्कोमा आइसोलेसनमा बसेका थिए ।