close

कान्ति बाल अस्पताललाई महानगरले दियो एक थान पीसीआर मेसिन

कान्ति बाल अस्पताललाई महानगरले दियो एक थान पीसीआर मेसिन

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरिएको चीनको नानजिङ शहरले दिएका दुईमध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरिएको हो ।


काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डा. कृष्ण पौडेलले  सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त मेसिन हस्तान्तरण गरिएको हो । करिब १६ लाख रुपैयाँ पर्ने उक्त मेसिन हस्तान्तरणपछि नगरप्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरेका थिए । 


‘भगिनी सम्बन्ध स्थापित भएका विभिन्न नगरहरूले काठमाडौं महानगरपालिकालाई कोभिड- १९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामग्री चरणबद्ध रूपमा हामीले सरकारी अस्पतालहरूलाई हस्तान्तरण गर्दै आएका छौँ’, शाक्यले भने, ‘सेवा कसले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री बिरामीको बढी चाप रहेका अस्पतालहरूलाई हस्तान्तरण गर्दै आएका छौँ । यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम हो ।’


शाक्यले यसअघि पनि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोनाको परीक्षणका लागि पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिए । 


अहिले उक्त अस्पतालले त्यहाँ उपचाररत बिरामीलाई त्यही मेसिनबाट सेवा दिइरहेको छ । ‘कान्ति बाल अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेको यो प्रारम्भिक चरण हो’, उनले भने, ‘तपाईंहरूले त्यहाँ उपचाररत बालबालिकालाई राम्रो सेवा दिनुहोस् । काठमाडौं महानगरपालिका थप सहयोग गर्न तयार छ ।’ 


शाक्यले काठमाडौं महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा यसअघि पनि धेरै काम गर्दै आएको जानकारी दिए । उनले भने, ‘यसअघि पनि हामीले कान्ति बाल अस्पताललाई अक्सिजन प्लान्ट राख्न आर्थिक सहयोग गरेका छौँ ।’ 


कान्ति बाल अस्पतालका निर्देशक डा. पौडेलले महामारीविरुद्धको लडाइँ लडिरहेका बेला काठमाडौं महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताए ।   ‘हामी अहिले कोभिडविरुद्धको लडाइँमा छौँ’, उनले भने, ‘यस्तो बेलामा काठमाडौं महानगरपालिकाले निकै ठूलो सहयोग गरेको छ । अब एक हप्ताभित्रमा हामी सेवा सुरु गर्नेछौँ ।’ 


पौडेलले अहिले पनि दैनिक २० देखि ३० जनासम्मको परिक्षणका लागि नमुना अन्य ल्याबमा पठाउनुपर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने बताए ।