close

मुसीकोटको कोटचौतरामा बन्याे स्वास्थ्य सेवा केन्द्र

मुसीकोटको कोटचौतरामा बन्याे स्वास्थ्य सेवा केन्द्र

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - जिल्लाको मुसीकोट नगरपालिकाले नगरबासीलाई आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच पुर्‍याउने उद्देश्यले नगरमा ७ आधारभुत सेवा स्थापना गर्न नयाँ भवन निर्माण गरेको छ । भवन निर्माणका क्रममा वडा नम्बर ४ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा दिन सुरु गरिएको हो । 

 

वडाको कोटचौतरामा सेवा केन्द्र भवन निर्माण भएसँगै स्थानीयलाई स्वास्थ्य सेवा दिन थालिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनबहादुर खत्रीले जानकारी दिए । ‘केन्द्रबाट वडाका शितलपोखरी, चापा, कोटचौतारा, बारागाउँलगायतका नागरिकले स्वास्थ्य सेवा पाउनेछन्’, स्वास्थ्य अधिकृत खत्रीले भने ।


 संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३८ लाखमा ३ कोठे भवन निर्माण गरिएपछि नयाँ भवनबाट स्वास्थ्य सेवा दिन सुरु गरिएको वडाध्यक्ष निर्मलकुमार पुनले बताए । ‘स्वास्थ्य सेवा केन्द्रबाट ओपिडी, प्राथमिक उपचार, गर्भवती चेकजाँच तथा अन्य उपचार सेवा प्रदान गरिनेछ’, उनले भने । केन्द्रमा १ एचए अथवा अहेब, अनमी र कार्यालय सहयोगीसहित ३ कर्मचारी रहनेछन् ।

 

यस्तै, नगरपालिकाका अन्य ६ स्थानमा पनि स्वास्थ्य सेवा कार्यालय स्थापनाको अन्तिम तयारी भइरहेको नगरपालिकाले बताएको छ । नगरपालिकाको वडा- १, २, ४, ५, ६, ७, ८ र १२ मा केन्द्र सञ्चालन हुनेछन् । अन्य वडाहरूमा पनि कात्तिकसम्म केन्द्र सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिए । 

 

खड्काका अनुसार सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि भवन निर्माण गर्न संघीय सरकाबाट ३८ लाखका दरले रकम आएको छ । गत आर्थिक वर्षबाट भवन निर्माण सुरु गरेको नगरपालिकाले भवन निर्माण गरिसकेकाले सबै वडाबासीले स्वास्थ्य सेवा पाउन सक्नेछन् ।

 

१० र १३ नम्बर वडामा भने भवन निर्माण हुन सकेको छैन । भवन निर्माणका लागि जग्गा विवाद हुँदा निर्माण गर्न नसकिएको नगरपालिकाले बताएको छ ।