close

हरिपुरको स्वास्थ्य केन्द्र ९ वर्षदेखि अलपत्र

न भेटिन्छन् व्यवसायी, न पाए जनताले सेवा

हरिपुरको स्वास्थ्य केन्द्र ९ वर्षदेखि अलपत्र

न भेटिन्छन् व्यवसायी, न पाए जनताले सेवा

Trulli
ADVERTISEMENT

सर्लाही- सर्लाहीको हरिपुरमा निर्माण थालिएको प्राथमिक स्वास्थ्य केन्द्रको भवन ९ वर्षसम्म पनि अधुरै छ । आर्थिक वर्ष २०६७÷०७८ मा ठेक्का लागेर निर्माण सुरु भएको उक्त प्राथमिक स्वास्थ्य केन्द्र अझै निर्माण सम्पन्न हुन नसकेको हो ।

 

भवन निर्माण सुरु भएलगत्तै ठेकेदार कम्पनी जय ओम÷कमल जेभीका साझेदारबीचको आपसी झैझगडाले भवन निर्माण अलपत्र बनेको स्वास्थ्य केन्द्र रेखदेख समितिका तत्कालीन अध्यक्ष रामचन्द्र चौधरीले जानकारी दिए ।  पहिलो संविधानसभाका सांसदसमेत रहेका
चौधरी समितिमा तीन वर्षसम्म अध्यक्ष थिए ।

 

प्राथमिक उपचार र बर्थिङ सेन्टरको समेत सुविधा प्रदान गर्ने गरी चार करोड १९ लाखको लागतमा उक्त भवन निर्माण सुरु भएको थियो । ‘तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीले पटक–पटक गरेर तीनचोटि म्याद थपिसकेको छ । काम भने सिन्कोसम्म भाँचेन’, रेखदेख समितिका पूर्वअध्यक्ष चौधरीले भने ।

 

ठेक्का लिएर समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई कारबाहीको सट्टा राज्यले म्याद थप गरेर सम्मान गरेको उनको बुझाइ छ । नागरिकको स्वास्थ्य सेवामा हानि पु¥याउने ठेकेदारलाई कारबाही गर्नुपर्ने माग स्थानीयबाट आएको चौधरीले बताए ।

 

पछिल्लो पटक ठेकेदारले गत जेठ मसान्तसम्म म्याद पाएको स्वास्थ्य केन्द्र संरक्षण समितिका उपाध्यक्ष माधव सरकारले जानकारी दिए । ‘तोकिएको समयमा पनि निर्माण नसकिने भएपछि पुनः म्याद थप्ने तयारी भएको जानकारी पाएको छु’, उनले दाबी गरे ।

 

प्रदेश सरकार नजिकका मानिने जनकपुरका ठेकेदार नन्दकिशोर साहको लापरबाहीले स्वास्थ्य केन्द्र निर्माण लथालिंग भएको तत्कालीन हरिपुर गाविसका सचिव जनार्जन चालिसले बताए ।

 

घर भाडा तिर्न नसकेपछि अधुरै भवनबाट सेवा


स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न नभएसम्मका लागि ठेकेदार कम्पनीले घर भाडामा लिएर प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गर्ने सम्झौता भएको थियो । सोहीअनुसार आर्थिक वर्ष २०७५÷०७६ सम्म ठेकेदारले घर भाडा तिरे पनि त्यसपछि छाडिदिएका छन् ।

 

पछिल्ला वर्षमा ठेकेदार गायब भएपछि नगरपालिकाले भाडा तिर्नु परेको नगरप्रमुख जमरुद्दीन मन्सुरले जानकारी दिए । ‘समयमा ठेकेदारले घर भाडा नतिरेको भनेर घरबेटीले पटक–पटक स्वास्थ्य केन्द्रमा ताला लगाए । नगरपालिकासँग भाडा तिर्ने रकम नभएपछि निर्माणाधीन भवनमा सरेका हौं,’ मन्सुरले भने ।

 

नगरपालिकाले २३ हजारका दरले दुई वर्षको ५ लाख ५२ हजार घर भाडासमेत तिरेको उनले बताए । ठेकेदार कम्पनीले समयमै काम नगर्दा कार्यालय र सेवाग्राही दुवैलाई सास्ती भइरहेको हरिपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिकाउ महतोे बताउँछन् ।

 

‘भवन नबनेपछि स्वास्थ्य सेवा संवेदनशील भएकाले चार कोठा सफा गरेरै सेवा सञ्चालन गरेका छौं । भ्mयाल–ढोकासमेत नभएको साँघुरो कोठामा बसेर सेवा प्रवाह गर्न समस्या हुने गरेको छ’, स्वास्थ्य केन्द्रका डा. राकेश ठाकुरको गुनासो छ  ।


ठेकेदार नन्दकिशोर साह भने विभिन्न कारणले समयमै ठेक्का सम्पन्न नभएको दाबी गर्छन् । आपसी विवाद, मधेस आन्दोलन र कोरोना महामारीले भवन निर्माणमा ढिलाइ भएको उनको तर्क छ ।

 

ठेक्का लगाएको संघीय सरकारअन्तर्गतको सहरी विकास तथा भवन निर्माण डिभिजन धनुषाका ओभरसियर राजेश कुशवाहले यसबारे जानकारी नभएको बताए । उनले भने, ‘पुरानो ठेक्का भएकाले सफ्टकपी कागजात नभएको र हार्डकपी हेर्न समय लाग्छ । सबै विवरण दिन सकिँदैन’, उनले भने ।