close

चिकित्सक नै पाएनन् बाजुराका स्थानीय तहले

चिकित्सक नै पाएनन् बाजुराका स्थानीय तहले

Trulli
ADVERTISEMENT

बाजुरा– सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित निर्देशन गरेको छ । तत्काल तिन महिनाका लागि बजेट व्यवस्थापनसहित बाजुराका सात स्थानीय तहमा संघीय सरकारले १० लाखका दरले वजेट पनि पठाएको छ ।


तर, बाजुराका नौमध्ये सातमा अस्थायी कोभिड अस्पताल स्थापना गर्न बजेट पठाए पनि सात वटै स्थानीय तहले एक जना चिकित्सक पनि पूर्ति गर्न सकेका छैनन् ।

 
सरकारले कोभिड अस्पतालका लागि एक  मेडिकल अधिकृत, दुई स्टाफ नर्स, एक  ल्याब टेक्निसियन र एक कार्यालय सहयोगी राख्न बजेटसहितको व्यवस्थापन गरेको थियो । तर, बाजुराका सात वटै स्थानीय तहले एक महिना अवधि राखेर विज्ञापन आह्वान गरे पनि एक जना चिकित्सकले विज्ञापनमा दरखास्त नदिएको स्थानीय तहले बताए ।


सात वटै स्थानीय तहले पहिलो पटक एक महिने सूचना प्रकाशित गरेर विज्ञापन आह्वान गरेको समयसमेत सकिइसकेको छ ।
 

‘एक महिने सूचना निकाल्दासमेत अहिलेसम्म १ जना पनि सम्पर्कमा आएका छैनन् । सरकारी तलब स्केलमा बजेट पठाइएको छ तर मेडिकल अधिकृतले न्यूनतम १ लाखभन्दा बढी माग्ने गरेका छन्’, बूढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले भने ।


बडिमालिका नगरमा जिल्ला अस्पताल छ भने बूढीनन्दामा प्राथमिक स्वास्थ्य केन्द्र छ । यी दुवै ठाउँमा मेडिकल अधिकृत रहेका छन् । गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया भन्छन्, ‘पत्रिकामार्फत विज्ञापन पनि गरायौं । व्यक्तिगत रुपमा खोजी भए पनि मेडिकल अधिकृत पाउन सकिएन । गाउँपालिकाले थप बजेट व्यवस्थापन गर्ने भनिए पनि चिकित्सक पाउन सकिएन ।’

 
स्वामिकार्तिक खापरले दोस्रो पटक सूचना निकाले पनि एक जनाको दरखास्त नपरेको गाउँपालिकाले जनाएको छ । ‘पहिलो पटक गाउँपालिकाले प्रकाशित गरेको सूचनामा दरखास्तै परेन । दोस्रो पटक विज्ञापन गर्दा एक जनाको पनि दरखास्त परेको छैन’, गाउँपालिकाका सूचना अधिकारी कुमेरबहादुर शाहीले भने ।


स्टाफ नर्स र अन्य कर्मचारी भर्ना गरिसके  पनि मेडिकल अधिकृत अहिलेसम्म पाउन नसकिएको उनले बताए ।
 

संघीय सरकारले पहिलो पटक तीन महिनाका लागि १० लाख पठाएको छ । चार लाख ५० हजार तलब खर्च र पाँच लाख ५० हजार अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाएको छ ।


बाजुरामा कोरोना चेकजाँच नभए पनि स्वाब संकलन गरेर जिल्ला बाहिर पठाउने गरिएको छ । जिल्लामा अहिलेसम्म संक्रमितको संख्या पाँच सय ९२ पुगेको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।