close

अछामका ६ स्थानीय तहमा ठडिँदै कोभिड अस्पताल

अछामका ६ स्थानीय तहमा ठडिँदै कोभिड अस्पताल

Trulli
ADVERTISEMENT

अछाम - अछामका स्थानीय तहहरूमा थप ६ वटा अस्पताल बन्ने भएका छन् । अब बन्ने अस्पतालको आउँदो १५ मंसिरमा एकै दिन शिलान्यास हुने कार्यक्रम तय भएको छ ।


जिल्लाको कमलबजार नगरपालिका, चौरपाटी गाउँपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने निर्णय यसअघि नै भइसकेको थियो । हाल स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचीमा समेत समावेश गरिएपछि ती स्थानमा समेत अस्पताल निर्माण गरिने भएको छ । 


बान्नीगढी जैयगढ गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकामा भने १० शय्याको अस्पताल निर्माण हुनेछन् ।


आउँदो १५ मंसिरमा बिहान ढकारी गाउँपालिका, दिउँसो तुर्माखाँद गाउँपालिका र कमलबजार नगरपालिकामा अस्पताल शिलान्यास कार्यक्रम तय भएको तुर्माखाँदका अध्यक्ष पुष्पराज शर्माले बताए । 


बान्नीगढी जयगढ गाउँपालिकामा समेत १५ मंसिरमै १५ शय्याको अस्पताल शिलान्यास गर्ने तयारी भइरहेको अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार १० मंसिरमा कार्यपालिकाको बैठक बसेर घोषणालाई अन्तिम रुप दिइनेछ ।

 

‘चौरपाटी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी बनाइन लागेको १५ शय्याको अस्पतालको शिलान्यास राष्ट्रिय सभाका सदस्य  शेरबहादुर कँुवरले उद्घाटन गर्ने तय भएको छ’, पालिका अध्यक्ष हर्कबहादुर साउदले भने ।


अछामका विभिन्न तीन पालिकामा निर्माण हुने १५ शय्याको अस्पतालका लागि १८ लाख ६ सय ८२ रुपैयाँ छुट्याइएको छ भने १० शय्याका लागि १० लाख आठ हजार तीन सय ३६ रुपैयाँ बजेट विनियोजन भएको छ ।


जिल्लाका दुई गाउँपालिका रामारोशन र मेल्लेखमा भने संघीय स्वास्थ्य मन्त्रालयले जारी गरेको सूची समावेश भएको छैन । यद्यपि ती दुई पालिकामा ५ शय्याका कोभिड विशेष अस्पताल सञ्चालनमा आइसकेका छन् ।

 

संघीय तथा प्रदेश सरकारको आर्थिक सहयोगमा मेल्लेखमा निर्माण गरिएको ५ शय्याको कोभिड अस्पतालको मंगलबार उद्घाटन गरिएको छ भने रामारोशनमा कोभिड विशेष अस्पताल यसअघि नै सञ्चालनमा ल्याइएको पालिका अध्यक्ष झंकर साउदले जानकारी दिए ।


अछामका दुई नगरपालिकामा भने यसअघि नै अस्पताल सञ्चालनमा छन् । मंगलसेनमा जिल्ला अस्पताल सञ्चालनमा छ भने साँफेबगर नगरपालिकामा ५० शय्याको बयलपाटा अस्पतालले सेवा दिइरहेको छ ।


१५ शय्याको जिल्ला अस्पताललाई पनि १५ मंसिरमै ५० शय्याको बनाउने घोषणा गरिने भएको छ ।