close

दार्चुलामा बन्यो भेन्टिलेटरसहितको आईसीयू कक्ष (भिडियो खबर)

दार्चुलामा बन्यो भेन्टिलेटरसहितको आईसीयू कक्ष (भिडियो खबर)

ADVERTISEMENT

दार्चुला- जिल्ला अस्पताल दार्चुलामा भेन्टिलेटरसहितको आईसीयू कक्ष निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले प्रदेश सरकारबाट प्राप्त भेन्टिलेर शय्यासहित आइसीयू कक्षको उद्घाटन गरिन् ।

 

प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आईसीयू कक्ष स्थापना गर्ने क्रममा दार्चुलामा पनि यो सुविधा थपिएको हो । कोरोना संक्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू शय्या स्थापना गरिएको हो ।  

 

कार्यक्रममा उपसभामुख बडाल जोशीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताइन् । 

 

‘कोरोनाको समय दार्चुलाबासीलाई स्वास्थ्योपचारमा सहयोग पुर्‍याउन जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहितको आईसीयू कक्ष स्थापना गरेका हौँ’, उनले भनिन्, ‘प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिका लागि सहयोग गर्छ । तर, यस क्षेत्रमा कार्यरत दक्ष जनशक्तिका लागि स्थानीय सरकारले नै समन्वय गर्नुपर्छ ।’


कोरोनाका कारण दार्चुलामा उपचार हुन नसकेर दुई जनाले अकालमा ज्यान गुमाउनुपरेको स्मरण गर्दै प्रदेश उपसभामुख जोशीले भेन्टिलेटरसहिको शय्या स्थापनापछि नागरिकलाई थोरै भए पनि राहत पुग्ने विश्वास व्यक्त गरिन् ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले तीन तहकै समन्वयमा जिल्ला अस्पतालको सुदृढीकरण सम्भव हुने बताए । ‘समन्वयकारी भूमिकामा रहेको हुँदा सबै स्थानीय तह, संघ र प्रदेशसँग पनि यसको विकासका लागि भूमिका खेल्छु’, उनले भने ।

 

महाकाली नगरपालिका प्रमुख हंशराज भट्टले नगरभित्र रहेको अस्पतालको विकासका लागि सहयोग गरिँदै आएको जानकारी दिए । ‘जिल्लामा भेन्टिलेटरसहितको आईसीयू शय्या कक्ष बनाएपछि स्थानीयलाई सहज हुनेछ । दिगो संचालनका लागि जोड दिनुपर्छ’, भट्टले भने ।

 

दार्चुला जिल्ला अस्पतालमा भौतिक पूर्वाधार अभावकै कारण कतिपय अल्ट्रासाउन्ड उपकरण प्रयोगमा नआएर बिग्रिएको उनले बताए । ती सामग्रीलाई नियमित प्रयोगमा ल्याउन दक्ष जनशक्तिको खोजीमा सहकार्य गर्न नगरपालिका तयार रहेको उनले प्रतिबद्धता जनाए । 

 

जिल्ला अस्पताल दार्चुलाका डा. गजेन्द्र दुवालले विकट जिल्लामा भेन्टिलेटरसहितको आईसीयू शय्याको कल्पनै नगरेको बताए ।

 

‘अढाई वर्षअघि आउँदा यहाँको अस्पतालमा यस्तो सुविधा पुग्ला भनेर सोचेकै थिइनँ’, उनले भने, ‘अहिले प्रदेश सरकारले दुर्गम जिल्लामा समेत भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना भएपछि नागरिकलाई सुविधा पुग्नेछ ।’

 

भेन्टिलेटरसहितको आईसीयू कक्ष निर्माण भएपछि जटिल रोगको समस्यामा रहेका बाजुराबासीलाई धनगढी पठाउनुपर्ने अवस्था अन्त्य भएको उनले सुनाए । आईसीयू कक्ष नियमित सञ्चालनका लागि ग्यास प्लान्ट, दक्ष जनशक्तिमा ध्यान दिन उनले प्रदेश सरकारसँग आग्रह गरे ।

 

दार्चुला जिल्ला अस्पताललाई बजेट अभाव भएपछि तलब खुवाउनै समस्या

 

सदरमुकाम खलंगाको जिल्ला अस्पताल एक मेडिकल अधिकृतसहित सात स्वास्थ्यकर्मीको भरमा चलेको छ । 


गत आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयको अस्पताल सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत एकमुष्ट अनुदानको रूपमा आउने बजेट कटौती हुँदा दुई मेडिकल अधिकृतसहित २८ जना स्वास्थ्यकर्मीलाई मंसिर मसान्तसम्म तलब खुवाउन नसकिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजीतसिंह धामीले बताए । 

 

अस्पतालका मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारीलाई तलब खुवाउन नसकिएपछि सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीमार्फत प्रदेशका मुख्यमन्त्रीलाई अस्पताल व्यवस्थापन समितिले ज्ञापनपत्र बुझाएको छ ।

 

२०४२ सालमा स्थापना भएको जिल्ला अस्पतालमा स्थापना कालदेखि नै नवौँ र दशौँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रिक्त छ । ‘मेडिकल अधिकृतमार्फत संचालन भएको अस्पतालमा जनशक्ति अभाव भएपछि आउँदो पुसदेखि २८ जनालाई एकमुष्ट बिदाइ गर्नुपर्ने अवस्था छ’, अध्यक्ष धामीले भने ।

 

कोरोना महामारीमा काम गरिरहेका स्वास्थ्यकर्मीका लागि झन्डै ४५ लाख रुपैयाँ मंसिरसम्मको तलब खुवाउन बाँकी रहेको उनले जानकारी दिएछ । 

 

अस्पताल व्यवस्थापन समितिले मुख्यमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कर्मचारीका लागि बजेट व्यवस्थापन, भेन्टिलेटरसहितको आईसीयू कक्ष निर्माणपछि आवश्यक थप अक्सिजन सिलिन्डरको तत्काल व्यस्थापन गर्न माग गरिएको छ । 

 

यस्तै, ५० शय्याको अस्पताल निर्माणका लागि चाहिने जग्गा खरिदमा सहयोग, भेन्टिलेटर, थाइराइडलगायत सेवा संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, हाडर्जोनी विशेषज्ञ, तालिमप्राप्त मेडिकल अधिकृत तथा कम्प्युटर अपरेटर र लेखा अधिकृतको दरबन्दी थप गर्न अस्पताल व्यवस्थापन समितिले माग गरेको छ । 

 

सुरुमा १५ शय्या रहेको जिल्ला अस्पताललाई स्तरोन्नति गरेर अहिले ४५ शय्या पुर्‍याइएको छ । तर, जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।

 

अस्पतालका डा. गजेन्द्र दुवालका अनुसार तत्काल कर्मचारीका लागि आवश्यक तलबभत्ता, दक्ष जनशक्ति व्यवस्थापन गर्न नसकिए सेवा प्रवाहमा कठिनाइ हुने स्थिति आएको छ ।