close

गफ मात्र कि काम पनि गर्ने मेयरसा’ब !

गफ मात्र कि काम पनि गर्ने मेयरसा’ब !

Trulli
ADVERTISEMENT

मकवानपुर– कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको परिवारलाई स्थानीय तहले दिने घोषणा गरेको राहत उपलब्ध गराउन ढिलाइ भएको छ ।


मकवानपुरका दुईवटा स्थानीय तहले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा कोरोना भाइरसबाट मृत्यु भएकाहरूका परिवारलाई राहत स्वरूप नगद उपलब्ध गराउने घोषणा गरेका थिए । हेटौँडा उपमहानगरपालिकाले कोरोनाबाट मृत्यु भएका प्रतिपरिवार तीन लाख रुपैयाँ र थाहा नगरपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा बजेट वक्तव्यमा गरेका थिए ।


थाहा नगरपालिकाले मृतकको परिवारलाई उपलब्ध गराउने घोषणा गरेको राहत वितरण प्रक्रिया अगाडि बढाइसकेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिएका छन् । हेटौँडा उपमहानगरपालिकाले भने आफ्नो घोषणालाई घोषणामै सीमित राख्ने देखिएको छ ।


‘कोरोनाबाट मृतक परिवारलाई हामीले दिने भनेको राहत रकम उपलब्ध गराउन प्रक्रिया थालिसकेका छौँ । केही प्राविधिक समस्याले रोकिए पनि प्रक्रिया अगाडि बढिसकेको छ’, थाहा नगरपालिकालका प्रमुख लवशेर विष्टले भने, ‘कोरोना संक्रमितको उपचार गरिरहेका छौँ । सोही क्रममा पनि नगरको धेरै बजेट खर्च भएको छ । तर, हामी मृतकको परिवारका लागि घोषणा गरेको राहत रकम उपलब्ध गराउँछौँ ।’


नगरप्रमुख विष्टले कोरोना भाइरसका कारण लामो समय लकडाउन हुँदा नगरपालिकाको आन्तरिक आय कमजोर देखिएको बताए । ‘यस वर्ष नगरको आन्तरिक आय कमजोर छ । संसार नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको अवस्थामा हामी पनि लड्नुको विकल्प छैन’, उनले भने ।


थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामीका अनुसार हालसम्म थाहा नगरमा पाँच जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।


हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले तत्काललाई आफूहरूले घोषणा गरेको रकम उपलब्ध नगराइने बताए । ‘कोरोनाबाट यति धेरै मानवीय क्षति हुन्छ भनेर हामीले अनुमान नै गर्न सकेनौँ, जसका कारण हामीले घोषणा गरेको राहत रकम तत्काल उपलब्ध गराउँदैनौँ ।’


उनका अनुसार मृतकको परिवारलाई दिने भनेको रकमको विषय नीति तथा कार्यक्रममा समेटिएको भए पनि कार्यान्वयन हुने सम्भावना न्यून छ ।


हालसम्म हेटौँडा उपमहानगरभित्र मात्र २६ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । ‘कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री र आइसोलेसनलगायत अन्य काममा एक करोड रुपैयाँभन्दा बढी खर्च हामीले गरिसकेका छौँ । अझै खर्च भइरहेको छ, जसका कारण हामीले घोषणा गरेको राहत रकम उपलब्ध गराउने अवस्था छैन’, नगरप्रमुख महतले भने ।


महतले सरकारले घोषणा गरेको लकडाउन र आर्थिक क्षेत्रमा परेको असरका कारण उपमहानगरको आन्तरिक आय पनि घटेको बताए । ‘तोकिएको विकास निर्माणको काम पनि गर्नुपर्ने अवस्था छ । आन्तरिक आय पनि घटेको छ । त्यस कारण यस वर्ष हामी विकास निर्माण र कार्यालय संचालनलाई बढी प्राथमिकता दिनेछौँ’, महतले भने ।


उनले लकडाउनको समयमा विभिन्न क्षेत्रमा रोजगारी गुमेकाको परिवारलाई खाद्यान्न तथा अन्य सामग्रीहरू सहयोग गरेको स्मरण गराए । ‘हामीले हात–मुख जोड्न समस्या भएकाहरूलाई खाद्यान्न वितरण ग¥यौँ । अझै पनि भाइरस संक्रमणको अन्त्य भइसकेको छैन, जसका कारण हामीले घोषणा गरेको राहत तत्काल कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छैनौँ’, उनले थपे ।


हेटौँडा उपमहानगरपालिकाभित्र हालसम्म तीन हजार १६४ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी राम केसीले जानकारी दिए । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै मकवानपुर जिल्लामा विशेषगरी हेटौँडा उपमहानगरसहित अन्य स्थानीय तहमा पनि कोरोना संक्रमण ह्वात्तै बढेको छ । सरकारले तोकेअनुसारको स्वास्थ्य मापदण्ड पालना गर्ने सर्वसाधारणको संख्या पछिल्लो समय घटेसँगै संक्रमित संख्या बढेको हो ।


विभिन्न चाडपर्वका कारण पनि हेटौँडा बजार क्षेत्रमा भीड बढेसँगै कोरोना संक्रमित संख्या बढेको हो । अहिले कोरोना भाइरसको परीक्षण दायरा पनि साँघुरो बनाइएका कारण समुदायस्तरमा फैलिएको कोरोना संक्रमण घट्ने सम्भावना न्यून छ । मकवानपुरमा हालसम्म तीन हजार ७०० भन्दा बढीलाई संक्रमण देखिएको छ ।