close

खिजिदेम्बामा कोभिड अस्पताल र आँखा उपचार केन्द्र

खिजिदेम्बामा कोभिड अस्पताल र आँखा उपचार केन्द्र

Trulli
ADVERTISEMENT

ओखलढुंगा- खिजिदेम्बा गाउँपालिकाले कोभिड अस्पताल र आँखा उपचार केन्द्र संचालनमा ल्याएको छ । कोभिड अस्पताल संघीय सरकारको अनदान तथा आँखा केन्द्र तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा संचालनमा ल्याइएको हो ।

 
डाक्टरसहितको पाँच शय्याको अस्पताल संचालनमा आएपछि स्थानीयलाई स्वास्थ्योपचारमा सहज भएको छ । स्वास्थ्य चौकी मात्र भएको यस गाउँपालिकामा एमबीबीएस डाक्टरको नियुक्तिसमेत भइसकेको छ । अस्पताल मंगलबारबाट संचालनमा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिए ।


गाउँपालिकाले तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा आँखा उपचार केन्द्र पनि संचालनमा ल्याएको छ । आँखाको जाँच तथा प्रारम्भिक उपचार हुने गरी जनशक्ति व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । ओखलढुंगाको सबैभन्दा दुर्गम भनेर चिनिएको खिजिदेम्बाले स्वास्थ्योपचारको क्षेत्रमा अन्य तहको भन्दा बढी काम गर्न सफल भएको छ ।


गत वर्ष नै गाउँपालिकाले ल्याब टेक्निसियनसमेत नियुक्ति गरेको थियो । दुर्गममा पाँच शय्याको अस्पताल, आँखा उपचार केन्द्र तथा अस्पतालमा ल्याब टेक्निसियन संघीयताको उपलब्धि भएको स्थानीय लीलाबहादुर सुनुवार बताउँछन् । उनले भने, ‘संघीयताले नराम्रा काम भए भन्नेहरूलाई खिजिदेम्बाको यो कदमले जवाफ दिएको छ ।’


खिजिदेम्बा गाउँपालिका कोरोना अस्पताल र आँखा उपचार केन्द्र एकसाथ सुरु गर्ने ओखलढुंगाको पहिलो गाउँपालिका हो । अन्य तहमा कोरोना अस्पतालको व्यवस्थापनको काम पूरा भएको छैन । कतै स्वास्थ्यकर्मी अभाव भएको छ भने कतै व्यवस्थापनकै काम बाँकी छ । स्वास्थ्य सेवाप्रति गाउँपालिका निकै संवेदनशील बनेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताए ।