close

अछामका ३७ हजार नागरिकको स्वास्थ्य बीमा

अछामका ३७ हजार नागरिकको स्वास्थ्य बीमा

Trulli
ADVERTISEMENT

अछाम– अछाममा स्वास्थ्य बीमा गर्नेको संख्या ३७ हजार ३ सय ७५ पुगेको छ । जिल्लामा १६ हजार ५ सय ८७ पुरुष र २० हजार ७ सय ८५ महिलाले स्वास्थ्य बीमा गरेका हुन् ।

 

स्वास्थ्य बीमा बोर्ड अछामकी दर्ता अधिकारी मनकला न्यौपानेका अनुसार अछाममा बीमित हुने नागरिकको संख्या सबैभन्दा बढी साँफेबगर नगरपालिका र तुर्माखाँद गाउँपालिकामा छन् भने सबैभन्दा कम ढकारी गाउँपालिकाका रहेका छन् ।

 

३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेबापत १ घरका ५ जनाले १ वर्षको अवधिमा १ लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्योपचार पाउने राष्ट्रिय स्वास्थ्य बीमाको नीति छ ।

 

५ जनाभन्दा बढी परिवार भएका सदस्यका लागि थप १ जना बराबर ७ सय रुपैयाँ प्रिमियम तिरे २० हजार बराबरको थप सेवा लिन पाउनेछन् ।
स्वास्थ्य बीमामा सबैलाई आबद्ध गराउने प्रेरित गर्ने उद्देश्यले उपचार शुल्क ५० हजारबाट १ लाख रुपैयाँ पु¥याइएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका संयोजक जनक साउदले जानकारी दिए ।


 
स्वास्थ्य बीमा गरेकालाई पहिलो पालो

 

बयलपाटा अस्पतालले स्वास्थ्य बीमामा आबद्ध भएकालाई उपचारमा प्राथमिकता दिन सुरु गरेको छ । स्वास्थ्य बीमामा आबद्ध बिरामी अस्पतालमा आए नाम दर्तादेखि उपचारमा पनि पहिलो पालो बनाइएको अस्पतालले जनाएको छ ।

 

स्वास्थ्य बीमा गरेका बिरामी आए नाम दर्ताको लाइनलाई छुट्टै बनाएर दर्ता प्रक्रिया छिटो गरी उपचारमा व्यवस्था गरिएको बयलपाटा अस्पतालका वरिष्ठ सूचना प्रविधि अधिकृत दीपक विष्टले बताए ।

 

‘स्वास्थ्य बीमा गरेका बिरामीको नाम दर्ता, ओपिडीमा चेकजाँच, प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा एक्सरे, फार्मेसीबाट औषधी वितरणलगायत सबै प्रकारका सेवामा प्राथमिकता दिने गरेका छौँ’, उनले भने ।

 

स्वास्थ्य बीमा गरेपछि उपचार सुनिश्चित गर्न यस्तो अवधारणा ल्याइएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनले बताए । त्यसका लागि उपचार गर्न आउँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य ल्याउनुपर्ने उनले जानकारी दिए ।

 

अस्पतालमै स्वास्थ्य बीमा सुविधा

 

बयलपाटा अस्पतालबाट समेत स्वास्थ्य बीमा गर्न सकिने भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले बयालपाटा अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले स्वास्थ्य बीमामा आबद्ध हुने सकिने जनाएको हो ।

 

जिल्लाका सबै स्थानीय तहका हरेक वडामा स्वास्थ्य बीमा दर्ता सहयोगीले बीमा गराइरहेका छन् भने अब अस्पताल आउने बिरामीलाई सहज होस् भन्ने उद्देश्यले बयालपाटा अस्पतामा समेत स्वास्थ्य बीमामा आबद्ध गराउने व्यवस्था मिलाइएको हो । बयलपाटा अस्पतालले खटाएको दर्ता प्रतिनिधिले स्वास्थ्य बीमा गर्न चाहनेलाई बीमामा आबद्ध गराउनेछन् ।