close

बाजुराका कोरोनापीडितको बिजोक, गैरजिम्मेवार बन्दै सरकार

बाजुराका कोरोनापीडितको बिजोक, गैरजिम्मेवार बन्दै सरकार

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरामा कोरोना बिरामीको उपचार गर्ने ठाउँको अभाव भएको छ । सामान्य लक्षण देखापरेर अस्पतालमा उपचारमा गएपछि कोरोनाका बिरामी राख्ने ठाउँ नहुँदा समस्या भएको छ । बिहीबार बाजुरामा १४ जनालाई कोरोना पुष्टि भयो । सबै बडिमालिका नगरपालिकाअन्तर्गत सदरमुकाम मार्तडीमा बसोवास गर्ने रहेका छन् । 


बिहीबार पोजिटिभ देखिएका एक जनालाई लक्षण पनि देखापरेको थियो । भाडामा बस्ने गरेका उनले उपचारका लागि र आइसोलेसन बस्नका लागि सदरमुकाम धेरै ठाउँमा खबर गरे ।
 
राती १० बजेसम्म कतै बस्ने ठाउँ नपाएपछि कोठामा बन्धक जसरी बसिरहेका छन् । उनले जिल्ला अस्पताल बाजुरा, जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय र निजी होटलमा हारगुहार गरे पनि कतै बस्न नपाएको बताए छन् ।

 

जिल्ला अस्पताल बाजुरालाई कोरोना उपचार अस्पतालका रूपमा सरकाले निर्णय गरेको छ तर अस्पतालमा कोरोनाका बिरामी राख्ने ठाउँ नभएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले बताए । जिल्ला अस्पताल बाजुराले जिल्ला समन्वय समितिको समीक्षालय र भवनमा आइसोलेसन बनाएको थियो ।


त्यही ठाउँमा कोरोनाको उपचार गरिरहेका थिए । जिल्ला समन्वय समितिले कर्मचारी बस्ने ठाउँ नभएको भन्दै कोरोना बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी बस्ने भवनमा कर्मचारी बस्ने क्वार्टर बनाएका छन् । जिल्ला अस्पतालले कोरोनाका बिरामी उपचारका रूपमा बनाएको ठाउँमा जिल्ला समन्वय समितिका कर्मचारीले क्वार्टर बनाएपछि कोरोनाको उपचार गर्ने ठाउँ नभएको अस्पताल बाजुराले जनाएको छ । 


कुनै कोरोनाका सिकिस्त बिरामी भएपछि बाजुरामा कतै राख्ने ठाउँ नभएको डा. विश्वकर्माले बताए । जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्रकुमार रोकायाले भने, ‘कोरोनाका बिरामीको व्यवस्थापन गर्ने अस्पतालको हो । हाम्रो भवनमा कर्मचारी बस्नुपर्ने भएकाले कर्मचारी राखिएको हो ।’


केही समयका लागि कर्मचारीलाई दिइएको र अस्पताल तथा कोभिड संकट व्यवस्थापन समितिले व्यवस्थापन गर्नुपर्ने उनले बताए । ‘हामीलाई आवश्यक भयो र प्रयोग गरेका हौँ’, रोकायाले भने । अस्पतालका नयाँ भवन केही निर्माण भइसकेका र त्यसैमा बनाए पनि हुने रोकायाको भनाइ छ । 


प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने जिल्ला समन्वय समितिलाई आइसोलेसन अहिले त्यही ठाउँमा संचालनका लागि भने पनि नमानेका कारण बाजुरामा कोरोनाका बिरामी राख्ने ठाउँ नभएको बताए । ‘कर्मचारीको क्वार्टर त अन्य ठाउँमा पनि बनाउन सकिन्थ्यो । यो संकटका बेला आइसोलेसन तथा कोरोना उपचारका लागि बनाएको ठाउँमा मानवताका हिसाबले कर्मचारी बस्न नहुने हो । धेरै प्रयास ग¥यौँ तर जिल्ला समन्वय समितिले मानेन’, उनले भने ।


बडिमालिका नगरपालिकाले अस्पताल नजिकै आइसोलेसनका लागि भाडामा लिएको घर पनि आइसोलेसन तथा उपचारमा उपभोग्य गर्ने उपयुक्त नभएको भन्दै पुसदेखि नलिने बताएको छ । 


जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने कोरोनाका बिरामी राख्ने ठाउँ र उपचार गर्ने व्यवस्था नहुँदा समस्या भएको छ । हिजो त एक जनाले आइसोलसेनमा बसेर उपचार गर्ने खोजेको थियो, उसको व्यवस्थापन गर्न सकेन । 


अलिक सिकिस्त र धेरै कोभिडको बिरामी कता राख्ने चिन्ताको विषय बनेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । बनाएको आइसोलेसनमा कर्मचारी बस्नुले अस्पताल बाजुरा, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र नगरपालिकाबीचको द्वन्द्वका कारण भएको स्थानीयले बताएका छन् ।