बाग्लुङ- बाग्लुङको तमानखोला गाउँपालिका वडा नम्बर ६ नर्जाखानीका महिलाले तीन वर्षअघिसम्म सुरक्षित सुत्केरीको अवसर पाएका थिएनन् । केहीले समयमै बुर्तिवाङ झरेर एक सातादेखि डेरा लिएर बस्नुपथ्र्यो । अधिकांशले जोखिम मोलेर घरमै सुत्केरी हुन्थे ।
यसरी सुत्केरी हुँदा शिशुमृत्यु दर बढी थियो । अत्यधिक रक्तश्राव भएपछि कतिपय महिलाको उपचारका लागि डोकोमा बोकेर लैजाँदा बाटोमै मृत्यु पनि भयो । तर, पछिल्लो समय यो क्रम फेरिएको छ । अब यहाँका कुनै पनि वडामा घरमा सुत्केरी हुनै नदिने अभियान सुरु भएको छ ।
स्वास्थ्यकर्मीले आफैँ खोजेर गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षणमा ल्याउने गरेका छन् । ‘को गर्भवती छ भनेर थाहा पाएपछि नियमित परीक्षणमा ल्याउने गरेका छौँ,’ नर्जाखानी सामुदायिक स्वास्थ्य इकाइकी अनमी रन्जना घर्तीले भनिन्, ‘जटिल समस्या आउने अवस्था देखिए सुरक्षित स्थानमा रिफर गराएका छौँ ।’ समयमै सुरक्षित स्थानमा पुगेर सुत्केरी गराउन सहजीकरण गरेको उनले बताइन् ।
तमानखोलाको वडा नम्बर ६ को नर्जाखानी, ५ को खुंखानीसहित ग्रामीण बस्तीमा उपकरणको व्यवस्थापनसहितका बर्थिङ सेन्टर खुलेका छन् ।
गाउँपालिकाले करारका स्वास्थ्यकर्मी थपेर सामुदायिक स्वास्थ्य इकाइमा पनि सुत्केरी गर्न सकिने व्यवस्था गरेको हो । यो अभियानमा भीमापोखरा युवा क्लबले फेयरमेडको आर्थिक सहयोगमा सञ्चालन गरेको सामुदायिक ग्रामीण स्वास्थ्य कार्यक्रममार्फत सेवा सञ्चालनका लागि उपकरण सहयोग गरेको हो ।
‘भवन र जनशक्ति भएर पनि सुत्केरी गराउने उपकरण, सुरक्षित शय्या, सरसफाइ सामग्रीजस्ता समस्या थिए । त्यसमा हामीले साथ दिएका छौँ,’ परियोजनाकी कार्यक्रम अधिकृत जानकी पाठकले भनिन्, ‘यसले सुरक्षित सुत्केरी अभियानमा साथ दिएको छ ।’
परियोजनाले स्वास्थ्यकर्मीलाई सुरक्षित प्रसूति सेवा र उपकरणको प्रयोग गर्ने तरिकाबारे तालिमसमेत दिएको छ । तमानखोलामा कुनै पनि वडा र ठूलो बस्तीमा सहजै बर्थिङ सेन्टर पुग्न सकिने व्यवस्था मिलाइएपछि उपकरण र व्यवस्थापनमा परियोजनाको साथ भएको हो ।
परियोजनाले एउटै स्वास्थ्य संस्थामा ६५ प्रकारका उपकरण सहयोग गरेको छ । ‘सानो उपकरण अभावले पनि सुरक्षित सुत्केरी गराउने काममा असर पर्छ, त्यसैले हामीले ती उपकरण राख्न मिल्ने दराज पनि बनाएका छौँ,’ कार्यक्रम व्यवस्थापक गणेश बरुवालले भने, ‘क्रमशः जानकारी पाउने गरी राख्ने व्यवस्थापनले सुत्केरी सेवालाई प्रभावकारी बनाउने गर्छ ।’
खुंखानी स्वास्थ्य चौकीमा परियोजनाले जन्मेपछि शिशुलाई न्यानो बनाउने मेसिन पनि दिएको छ । स्वास्थ्य संस्थाभित्रै सुत्केरी भएपछि केही दिन राख्न सकिने गरी बेडको व्यवस्थापन पनि छ ।
‘सुत्केरी स्वास्थ्य संस्थामै रहन पाएपछि स्वास्थ्यकर्मीको नियमित निगरानीमा बस्न पाउँछन् । त्यसले उपचार पाउने र जोखिम भइहाले रिफर गर्न सकिन्छ,’ तमानखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख तिलक छन्त्यालले भने, ‘स्वास्थ्य क्षेत्रको सुधारले गाउँपालिकाको सामाजिक सूचकमा पनि सुधार ल्याउन थालेको छ ।’
बोङगादोभानमा नमुना बर्थिङ सेन्टर
कुनै पनि संस्था नमुना बन्न न्यूनतम आधारभूत आवश्यकता पूरा गरेर मात्र पुग्दैन । त्यसमा अन्यत्रभन्दा फरक व्यवस्थापनसमेत चाहिन्छ । तमानखोलाको केन्द्र रहेको बोङगादोभानमा यो सेवा सञ्चालनमा छ । जिल्लाकै स्वास्थ्य चौकीमध्ये यो नमूना केन्द्र हो ।
‘यहाँ अत्याधुनिक सुत्केरी बेड, सबै उपकरणको व्यवस्थापन, आमा र शिशुलाई न्यानो पार्ने उपकरण छन्,’ स्वास्थ्य चौकीकी अनमी नमी घर्ती मगरले भनिन्, ‘यहाँ भएका उपकरण र व्यवस्थापन राजधानीको केन्द्रमा पनि छैन ।’ जटिल परिस्थिति भए वा अपरेसन गर्नु परे मात्रै अन्यत्र पठाउनुपर्ने उनले बताइन् ।
यो बर्थिङ सेन्टरमा शिशु जन्मेको समय मापन गर्ने व्यवस्थादेखि पाठेघरमा कुनै घाउचोट लागे तत्काल उपचार गर्ने पद्धति छ । ‘ह्वालह्वाल रगत बगेको अवस्थामा पनि अन्यत्र नलगी यहीँ उपचार गर्न सकिन्छ,’ बरुवालले भने, ‘दुई जना दक्ष प्रसूतिकर्मी र आवश्यक सबै उपकरण यहाँ व्यवस्थित रूपमा पुगेकाले समस्या पर्दैन ।’
गाउँपालिकाले स्वास्थ्य चौकीबाहेक थप तीन स्थानमा स्वास्थ्य इकाइ बनाएर प्रसूति सेवा विस्तार गरेको अध्यक्ष जोकलाल बुढाले बताए । सबै इकाइमा गरी दुई करोड रुपैयाँमा लगानी गरिसकेको बुढाले जानकारी दिए ।