close

ओखलढुंगाका पाँच विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

ओखलढुंगाका पाँच विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाका पाँच विद्यालय ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा छनोट भएका छन् । विद्यालयमा स्वास्थ्य परामर्श तथा सामान्य उपचारको व्यवस्थाका लागि प्रदेश सरकारले 'एक विद्यालय, एक नर्स' कार्यक्रम सुरु गरेको थियो ।


कार्यक्रमअन्तर्गत ओखलढुंगाका पाँच विद्यालय छनोट भएका हुन् । छनोट हुने विद्यालयमा मोलुङ गाउँपालिका वडा नम्बर- १ को सरस्वती मावि बुङ्नाम, चिशंखुगढीको सरस्वती मावि खानीभञ्ज्याङ छन् ।

 

यस्तै, सुनकोसी गाउँपालिकाको कटुञ्जे मावि, मानेभञ्ज्याङ गाउँपालिकाको हर्कपुर मावि, टोक्सेल र खिजीदेम्वा गाउँपालिकाको कुण्डली मावि खिजीकाती छनोट भएका छन् । 


प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रत्येक विद्यालयलाई स्टाफ नर्स उपलब्ध गराउने कार्यक्रमअनुसार दोस्रो चरणमा पाँच विद्यालय छनोटमा परेका हुन् ।

 

विद्यालयमा स्वास्थ्यसम्बन्धी परामर्श तथा प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी राख्न सुरु भएको प्रदेशसभा सदस्य एवं अर्थ समिति सभापति मोहनकुमार खड्काले बताए । 


यसअघि लिखु गाउँपालिकाको सिंहदेवी र सिद्धिचरणको रुम्जाटारमा यो कार्यक्रम सुरु गरिएको छ । ‘विद्यालयमा स्वास्थ्यकर्मी हुँदा विद्यार्थीका स्वास्थ्य समस्या समाधान र परामर्शका लागि सहज हुनेछ’, सगरमाथा जनता माविका प्रधानाध्यापक डिल्लीराम कार्कीले भने । सदरमुकामका विद्यालय पनि यो कार्यक्रममा समेटिनुपर्ने उनको भनाइ छ । 


जिल्लाका अन्य विद्यालयले पनि यो कार्यक्राम सुरु गर्न माग गरेका छन् । सदरमुकाममा रहेका र यसअघि नमुना घोषणा गरिएका विद्यालयमा भने यो कार्यक्रम लागू भएको छैन ।